रेमिट्यान्सबाट भित्रिनेभन्दा आयातमा बढी खर्च

रेमिट्यान्सबाट भित्रिनेभन्दा आयातमा बढी खर्च
फाइल तस्बिर।

काठमाडौं  : मुलुकमा भित्रिने रेमिट्यान्स (विप्रेषण)को तुलनामा आयात र वैदेशिक अध्ययनमा जानेहरूबाट विदेशी मुद्रा खर्चको आकार बढी छ। चालु आर्थिक वर्ष (आव) को ९ महिनालाई मात्रै आधार मान्ने हो भने यो अवधिसम्ममा ११ खर्ब ९१ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको छ। जुन, गत आवको भन्दा १० प्रतिशतले बढी हो। यससँगै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ। 

अर्कोतर्फ विदेशी मुद्राको मुख्य स्रोत रेमिट्यान्सको भन्दा बढी आयातको आकार हुँदा यस्तो मुद्रा अधिक बाहिरिएको छ। यस अवधिसम्ममा विभिन्न मुलुकबाट कुल वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ९ अर्ब ५३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.८ प्रतिशतले कमी आएको थियो। 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.७ प्रतिशत, १४.४ प्रतिशत र २४.९ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल÷धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ। पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाईजहाजको पार्टपुर्जा, रासायनिक मल, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ। 

यसबीच निर्यातबाट मुलुकले १ खर्ब ८८ अर्ब २० करोड रुपैयाँ बराबर आम्दानी गरेको छ। यसबीच कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भएको छ।  निर्यातमार्फत मुलुकमा वैदेशिक मुद्रा आर्जनमा पनि झिनो सुधार हुनु हो। तर, आयात र निर्यातको खाडल अधिक छ। जस्ले व्यापारघाटा ६.४ प्रतिशतले वृद्धि भई ११ खर्ब २१ अर्ब ३४ करोड पुगेको छ।

विदेशी मुद्रा बाहिरिने अर्को ठूलो क्षेत्र वैदेशिक अध्ययन पनि बन्दै गएको छ। चालु आवको ९ महिनासम्ममा शिक्षातर्पm १ खर्ब ३ अर्ब ८४ करोड खर्च पुगेको छ। यो कुल भ्रमण खर्चको ६०.९४ प्रतिशत हो। जबकी अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ९५ अर्ब ८५ करोड रुपैयाँ थियो। यससँगै, यस अघिको फागुन महिनासम्ममा ८८ अर्ब ९८ करोड शिक्षामार्फत बाहिरिएको थियो। एकै महिनाको अन्तरमा थप १४ अर्ब ८६ करोड वैदेशिक अध्ययनमा बाहिरिएको छ। 

नेपालबाट भ्रमणअन्तर्गत घुम्न, स्वास्थ्य र शिक्षामार्फत बाहिरिने रकमको ठूलो हिस्सा शिक्षा हो। यसअवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १९ प्रतिशतले वृद्धि भई १ खर्ब ७० अर्ब ३९ करोड पुगेको छ। यसमध्ये शिक्षातर्पmको व्यय १०३ अर्ब ८४ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १४३ अर्ब २२ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ९५ अर्ब ८५ करोड रुपैयाँ थियो।

बाहिरिने स्रोत नियन्त्रित हुन नसक्दा भविष्यमा जोखिम निम्तिन सक्ने अर्थविद्हरू औंल्याउँछन्। विश्वमा जुनसुकै मुलुकमा पनि युवा परिचालनबाटै मुलुकको विकास भएको बताउँदै अर्थविद् डा.डिल्लिराज खनाल वैदेशिक रोजगार तत्कालीन राम्रो भए पनि दीर्घकालीन रूपमा मुलुकलाई हित नहुने बताउँछन्। उनका अनुसार युवालाई राष्ट्र निर्माणमा लगाउनुपर्ने हो, बाध्य भएर कमाउन विदेशी रहँदा मुलुकको जग्गाजमिन बाँझिएका छन्। 

यद्यपि विप्रेषणको आकार राम्रै छ ,जहिलेसम्म रेमिट्यान्स ठीक ढंगले आउँछ, त्यसलाई सही रूपमा सदुपयोग गर्न सके मात्रै मुलुकले मुहार फेर्ने उनको भनाइ छ। ‘तर, विश्व अस्थिर भइरहेकाले कुनै मुलुकमा रोजगारी रोकियो भने  रेमिट्यान्स भित्रिनेदेखि धेरैमा भयावह अवस्था हुन्छ,’ उनले अन्नपूर्णसँग भने।  यसर्थ यसरी आएको रेमिट्यान्सले एउटा सुविधा दिए पनि त्यसलाई सक्दो सदुपयोग गरेर विस्तारै स्वदेशमै रोजगारी सिर्जना गर्न जरुरी भएको डा. खनालले बताए। ‘यसो गरे अर्थतन्त्रको आकार बढ्न र दिगो विकासलाई मद्दत पुग्छ,’ उनले भने। 

वैदेशिक विनिमय सञ्चितिले १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्ने 

रेमिट्यान्स बढेकै कारण मुलुकको वैदेशिक विनिमय सञ्चितिदेखि बैंकमा लगानीयोग्य पुँजी (तरलता) वृद्धि भएको छ। चैतसम्ममा विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भई २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ। अमेरिकी डलरमा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २१ खर्ब ३६ अर्ब ४६ करोड पुगेको छ भने  बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ९० अर्ब ३८ करोड कायम भएको छ। यस अवस्थामा नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ। 

 मुलुकबाट बाहिरिनेभन्दा भित्रिने वैदेशिक मुद्रा अधिक हुँदा लामो समयदेखि शोधनान्तर बचतमा छ। यस अवधिसम्ममा शोधनान्तरस्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा छ। अझै अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो। यस्तै, चालु खाता  पनि २ खर्ब १० अर्ब २२ करोडले बचतमा छ। 

अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ७९ अर्ब ८३ करोडले बचतमा थियो। यसबीच ८ अर्ब ९६ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ६ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो। 

महँगी नियन्त्रण

लामो समयदेखि महँगीको मार खेपिरहेका आम उपभोक्तालाई पछिल्लो समय भने उपभोग्य वस्तुको मूल्य कम भएको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् महँगी ३.३९ प्रतिशत छ।  जबकि गत आवको सोही महिनामा यस्तो मुद्रास्फीति ४.६१ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ गैरखाद्य तथा सेवा, मरमसला र माछा तथा मासुको मूल्य घटेकाले समग्रमा महँगी नियन्त्रण भएको हो। 

तर, यसबाहेक घ्यू तथा तेल, फलफूलको, दाल तथा गेडागुडीको र गैरमदिराजन्य पेय पदार्थकोे मूल्य भने बढेको छ। यस्तै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.६९ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.८३ प्रतिशतले बढेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.