बेत्रावतीस्थित सन्धिस्थलको पुनर्निर्माण गरिने
नुवाकोट : नेपाल र चीनबीच सन्धि भएको स्थान बेत्रावतीमा पुनर्निर्माण गरिने भएको छ। नुवाकोटको विदुर नगरपालिका-१० मा रहेको बेत्रावतीमा १८४९ सालमा दुई देशबीच सन्धि भएको थियो।
दुई देशबीच सन्धि भएको बेत्रावतीलाई ऐतिहासिक रूपमा निकै महत्वपूर्ण मानिँदै आएकोमा यसको संरक्षण र सम्वर्द्धनको कार्य सुरु गरिएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए।
बेत्रावती सन्धिस्थलमा ऐतिहासिक युद्धका सामग्रीसहितको स्मारक स्थापना र संरक्षणको लागि चालु आर्थिक वर्षमा कुल १८ लाख रुपैयाँ बजेट विनियोजन गरी सीमांकन पर्खाल लगाउने कार्य गरिने मेयर श्रेष्ठले बताए।
नेपाल–तिब्बत युद्धका क्रममा नेपाली पक्ष विजयी भएपश्चात् दुई देशबीच ‘बेत्रावती सन्धि’ भएको स्थानको ऐतिहासिक ढुङ्गाको संरक्षणका लागि नगरपालिकाले सक्रियता देखाएको हो।
बेत्रावती सन्धिस्थलको विदुर नपाका मेयर श्रेष्ठको नेतृत्वमा ‘चाइनिज एकेडमी अफ कल्चरल हेरिटेज’का प्रतिनिधिहरूले स्थलगत अवलोकन गरेका छन्।
नेपाली सेनासँगको सहकार्यमा नगरपालिकामार्फत बेत्रावती सन्धिस्थलको संरक्षणसहित प्रवर्द्धनका कार्य अघि बढाउन लागिरहेको सन्दर्भमा पुरातात्त्विक संरचनाको पुनर्निर्माण सम्बन्धी काम गर्ने चिनियाँ निर्माण कम्पनीले सकारात्मक चासो देखाएको विदुर १० का वडाध्यक्ष गणेशकुमार नेपालले बताए।
प्रतिक्रिया दिनुहोस !