गाउँमै स्वास्थ्य परीक्षण शिविर
नुवाकोट : महिला तथा सर्वसाधारणको सुविधाका लागि नुवाकोटको तारकेश्वर गाउँपालिकाले गाउँमै पुगेर स्वास्थ्य तथा परिवार नियोजन शिविर गरेको छ।
तारकेश्वर गाउँपालिकाले वडाहरूमा पुगेर महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी ३ दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरेको हो। गापाको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा विभिन्न वडामा सो सेवा प्रदान गरिएको हो।
तारकेश्वर १ दाङसिङ स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण र परिवार नियोजन शिविर, तारकेश्वर ४ स्थित बुधसिंह स्वास्थ्य चौकीमा परिवार नियोजन शिविर, तारकेश्वर ३ जोरचौतारास्थित तारुका स्वास्थ्य चौकीमा परिवार नियोजन शिविर, तारकेश्वर ६ को आधारभूत स्वास्थ्य सेवा केन्द्र, मजुवा र तारकेश्वर ५ को गोर्स्याङ स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको हो।
उनका अनुसार स्वास्थ्य परीक्षण शिविरमा ३० वर्ष भन्दा माथिका महिलाहरूको पाठेघरको क्यान्सर पत्ता लगाउन भीआइए जाँचसँगै प्रजनन स्वास्थ्य परीक्षण र आवश्यक औषधि वितरण, आङ खस्ने समस्या भएका महिलाको रिङ प्रेसरी राख्ने उपचार र मेडिकल सेवा प्रदान गरिएको छ।
परिवार नियोजन शिविरमा लामो समयसम्म गर्भधारण गर्न नचाहने महिलाहरूले लामो अवधिको अस्थायी गर्भनिरोधक साधन (आइयुसिडी/इम्प्लान्ट) राख्ने सेवा र सो सम्बन्धी परामर्श सेवा प्रदान गरिएको तारकेश्वर स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य परीक्षण तथा परिवार नियोजन शिविरमा तारकेश्वरका महिलाले शिविरमा सहभागी भई लाभ लिएका छन्। प्रजनन स्वास्थ्यबारे सदैव सचेत रहन आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस !