१ अर्ब लागतमा महेन्द्रनगर बन्यो आधुनिक सहर

१ अर्ब लागतमा महेन्द्रनगर बन्यो आधुनिक सहर

महेन्द्रनगर : एसियाली विकास बैंकको १ अर्ब सहयोगमा महेन्द्रनगर आधुनिक सहर निर्माण भएको छ। महेन्द्रनगर बजारका गल्लीहरू ८ मिटर चौडा, हरेक गल्लीमा अपांगमैत्री पैदल मार्ग र छुट्टै साइकल लेन निर्माण गरिएको छ। बजारमा व्यवस्थित ढल निकास निर्माण भएको छ। 

महेन्द्रनगर योजनाबद्ध व्यवस्थित सहर हो। गुरुयोजनाअनुसार निर्माण गरिएको सहरलाई व्यवस्थित र सुन्दर बनाउन एसियाली विकास बैंकको सहयोगमा भीमदत्त नगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगर बजारलाई आधुनिकीकरण गरेको हो। आयोजनाको पहिलो चरणअन्तर्गत १ अर्ब रुपैयाँ लगानीमा १४ किलोमिटर सडक कालोपत्रे गरिएको भीमदत्त नगरपालिकाका सबइन्जिनियर पवन लेखकले जानकारी दिए।

उनका अनुसार २२ किलोमिटर ढल निकास, बजार क्षेत्रमा ४ किलोमिटर रेलिङ र ७ सय ७६ लाइट जडान भएका छन्। त्यसैगरी बजारमा ८ वटा हाइमास्ट लाइटसमेत जडान गरिएका छन्। ‘बजार क्षेत्रमा साइकल लेन निर्माण गरेका छौं, १४ किलोमिटर कालोपत्रे सडकमा अपांगमैत्री पैदल मार्ग निमार्ण भएको छ’, सबइन्जिनियर लेखकले भने, ‘बजारका विभिन्न स्थानमा सौन्र्दयका लागि पार्कसमेत निमार्ण गरिएको छ।’ गल्लीमा रहेका बिजुलीका पोल र टेलिफोनका तारहरू गल्लीको पछाडि भागमा व्यवस्थित गरिएको छ। त्यसैगरी, पार्किङका लागि गल्ली पछाडि व्यवस्था मिलाइएको छ। 

‘पहिलो चरणको काम सम्पन्न भइसकेको छ। समस्या आएको केही स्थानमा निर्माण कम्पनीले मर्मतको काम गरिरहेको छ’, उनले भने, ‘नगरपालिकाले बजारलाई थप व्यवस्थित बनाउनका लागि दोस्रो चरणअन्तर्गत काम सुरु गर्ने तयारी गरेको छ।’ उनका अनुसार एसियाली विकास बैंकले पहिलो चरणको काम सम्पन्न गरेपछि दोस्रो चरणमा ८ किलोमिटर सडक र १० किलोमिटर ढल निकासका लागि ६६ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ। आधुनिक सडक निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी भइरहेको उनले बताए। 

राजा महेन्द्रले गुरुयोजनाअनुसार महेन्द्रनगर बजारको निर्माण गरेको यहाँका जानकारहरू बताउँछन्। २०१८ सालमा राजा महेन्द्रले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिएका थिए। त्यतिबेलाको बेलौरी सदरमुकाम पनि महेन्द्रनगर सरेको थियो। सरकारी कार्यालय स्थापना गर्दा पनि हेभी गाडी सञ्चालन हुने कार्यालय राजमार्गसँग जोडेर बनाइएको छ। प्रशासनिक भवन महेन्द्रनगर बजारको एकातर्फ छन्। 

प्लानिङ रूपमा बनेको महेन्द्रनगर बजार सुन्दर छ। यसलाई अझै व्यवस्थित गर्न सके यहाँको बजार पर्यटकहरूका लागि समेत आकर्षण बन्ने यहाँका व्यवसायी बताउँछन्। यहाँका पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले महेन्द्रनगर आकर्षक र सुन्दर सहर भएकाले यो सहर पर्यटकहरूलाई लागि आकर्षक गन्तव्य बन्न सक्ने बताए। ‘महेन्द्रनगर बजार आकर्षक, व्यवस्थित र सुरक्षित छ। यसले गर्दा यहाँ लगानीकर्ताका लागि समेत आकर्षक बनेको छ’, भट्टले भने, ‘अहिले निर्माण भएको व्यवस्थित सडकले समावेशी पर्यटकका लागि सहयोग पुगेको छ।’ उनले अपांगमैत्री पैदल मार्ग र साइकल लेनले बजारमा सुन्दरता थपेको बताउँदै व्यापार व्यवसायमा समेत टेवा पुगेको बताए। 

महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली र व्यापारिक केन्द्र भएकाले यसलाई नगरपालिकाले थप व्यवस्थित गर्नुपर्ने यहाँका व्यवसायीको माग छ। ‘अहिले बजार आधुनिक बनेको छ। यहाँ निर्माण भएका गल्लीहरू पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेका छन्’, यहाँका व्यवसायी कृष्णानन्द भट्टले भने, ‘बजार क्षेत्रमा भएका पोल र तारहरूलाई अन्डरग्राउन्ड गर्न सकिए बजारमा सुन्दरता थपिन्छ।’ उनले बजार क्षेत्रका सडक किनारामा हरियाली र थप लाइटिङको व्यवस्थापन गर्न सके महेन्द्रनगर बजारको सौन्दर्य बढ्ने बताए। 

विपद्को बेला पनि यहाँ सहज हुने गल्लीहरूको निर्माण गरिएको छ। गल्लीहरूमा बनेको कुनै घर ढलिहाले पनि अर्को घरमा कुनै असर गर्दैन। तर, पछिल्लो समय बजार क्षेत्रमा अतिक्रमण हुन थालेको भन्दै यहाँका स्थानीय जुन गुरुयोजनाअनुसार बजार बनेको हो त्यही गुरुयोजनाअनुसार बजार विस्तार हुनुपर्ने बताउँछन्। 

‘पछिल्लो समय बजार अतिक्रमित हुन थालेको छ। पालिकाले अतिक्रमण हटाउन सके बजारको सुन्दरता कायम रहन्छ’, यहाँका स्थानीय इन्द्र साउले भने, ‘बजार क्षेत्रका पार्कहरूलाई सौन्दर्यीकरण गर्नेतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्छ।’

राजा महेन्द्रले यो बजार बसाएका कारण यस बजारको नाम महेन्द्रनगर नामकरण गरिएको हो। महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली छन्। हरेक गल्लीको आफ्नै विशेषता छ। गल्ली नम्बर एक बजारको पहिलो गल्ली हो। यस गल्लीमा मेडिकल, हाडवयेरका पसलहरू बढी छन् भने गल्ली नम्बर दुईमा बैंक, छापाखाना, इलेक्ट्रोनिक पसल र किराना पसलहरू छन्। गल्ली नम्बर तीनमा अधिकांश मेडिकल छन् भने केही होटल र बैंक पनि छन्। 

त्यस्तै गल्ली नम्बर चारमा होटल, मेडिकल र बैंकहरू छन्। गल्ली नम्बर पाँचमा पुस्तक पसल तथा बंैकहरू बढी छन्। यहाँको मदन चोकदेखि बसपार्क मञ्चलाइनमा होटल तथा फ्यान्सी पसलहरू छन्। महेन्द्रनगरको गल्ली नम्बर पाँच सबैभन्दा बढी भीडभाड हुने गल्ली हो। यसलाई क्याम्पस रोड नामसमेत दिइएको छ। व्यापारका हिसाबले गल्ली नम्बर एक र पाँच राम्रो मानिन्छ। हरेक गल्लीमा विपद्का बेला सहजै दमकल र एम्बुलेन्स आवतजावत गर्न सक्ने गरि निमार्ण गरिएको छ। 

बसपार्कदेखि मदन चोकसम्म र मदन चोकदेखी पूर्वतर्फको बजारलाई स्पेशल लाइनका रूपमा हेरिन्छ। यो लाइनमा अधिकांश फ्यान्सी पसलहरू छन्। स्पेशल लाइनलाई व्यापारिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ। बजारको छेउमा खुलामञ्च छ। यहाँ विभिन्न कार्यक्रम र खेलकुद सञ्चालन हुने गर्छ। स्पेशल लाइनको बीच भागमा महेन्द्र स्मारक छ। यहाँ विभिन्न समयमा सभाहरू हुने गरेका छन्। नगरपालिकाले यहाँ निःशुल्क खानेपानीको व्यवस्था गरेको छ। यस क्षेत्रलाई सौन्र्दयीकरण गर्न विभिन्न प्रजातिका बोटविरुवासमेत रोपेको छ। यहाँको व्यापार व्यवसाय प्रमुख राजमार्ग र ग्रामीण वस्तीसम्म विस्तार भएको छ। व्यापारीक दृष्टिकोणले महत्वपूर्ण मानिने महेन्द्रनगर शहर भारतका ठूला औद्योगिक शहरहरूको छोटो दुरीमा रहेकाले पनि समृद्धिको आशा पलाएको यहाँका व्यवसायी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.