बुढीगंगा नगरपालिकाले सार्वजनिक गर्यो १५ बुँदे प्रतिबद्धतापत्र
बाजुरा : समृद्ध बुढीगंगा निर्माणका लागि बुढीगंगा नगरपालिकाले वैशाख २७ देखि २९ गतेसम्म आयोजना गरिएको 'समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी' कार्यक्रमको समापनमा १५ बुँदे साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
कार्यक्रममा जिल्लाका प्रमुख राजनीतिक नेतृत्व, विषय विज्ञ, नागरिक समाज, पत्रकार, बुद्धिजीवी, कर्मचारी, सरोकारवाला पक्ष र आम नागरिकहरूको सहभागिता रहेको थियो ।
प्रतिबद्धता पत्रमा राजनीति विकासका लागि प्रयोग हुनुपर्ने मूल मन्त्रदेखि लिएर शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र लैङ्गिक समावेशीकरण लगायतका बहुक्षेत्रीय विषयहरू समेटिएका बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाले बताए ।
राजनीतिक दलहरूले बुढीगंगा नगरपालिकाको विकासमा एकमत रही स्रोत व्यवस्थापनमा सक्रिय भूमिका खेल्ने, गुणस्तरीय र प्राविधिक शिक्षाको विस्तार गरी दक्ष जनशक्ति उत्पादनमा जोड, आधुनिक कृषि प्रणाली, पशुपालन र बजार प्रणाली विकास, पाँच वर्षभित्र सबै घरधुरीमा बिजुली र दुई वर्षभित्र धुँवारहित चुलो पुर्याउने योजना रहेको छ ।
त्यसै गरी नदीजन्य र खानीजन्य स्रोतको सदुपयोग र वैज्ञानिक वन व्यवस्थापन, १५ शैयाको अस्पताल निर्माण सम्पन्न गरी स्वास्थ्य बीमा र मानसिक स्वास्थ्य कार्यक्रम धार्मिक–ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धन, भवन संहिता कार्यान्वयन, नवनिर्माण संरचना बालमैत्री र भूकम्प प्रतिरोधी, सभाहल, पार्किङ, खेलमैदान, सडक स्तरोन्नति लगायत सार्वजनिक संरचना विस्तार, इन्टरनेट विस्तार, सेवा प्रवाहमा अनलाइन प्रणालीको उपयोग, एक वर्षमा डिजिटल गुनासो सुनुवाइ र ५ वर्षभित्र SMS आधारित सूचना सेवा सुरु गर्ने प्रतिबद्धता जनाए ।
सामाजिक समावेशीकरण र सशक्तीकरणका लागि कोष स्थापना, सहकारी संस्थाहरूको व्यवस्थापन र नियमन, साना मझौला उद्योग प्रवर्द्धन, सीप विकास केन्द्र विस्तार, स्वच्छता र फोहर मैला व्यवस्थापनलाई सशक्त बनाउँदै पूर्ण सरसफाइयुक्त नगर बनाउने कुरा प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
नगर प्रमुख रामबहादुर बानियाले कार्यक्रममा सम्बोधन गर्दै भने, 'बुढीगंगाको समृद्धि अब भाषणको विषय मात्र होइन, साझा संकल्पको दिशामा अगाडि बढ्ने प्रतिवद्धता हो। हामी सबैले मिलेर यसलाई कार्यान्वयनमा रूपान्तरण गर्नु पर्छ।
प्रतिक्रिया दिनुहोस !