मलेसियन जहाज रूसले खसाएको आईकाओ परिषद्को दाबी

मलेसियन जहाज रूसले खसाएको आईकाओ परिषद्को दाबी
सुन्नुहोस्

काठमाडौं : ११ वर्षअघि नेदरल्यान्ड्सको आम्सटरडमबाट मलेसियाको क्वालाम्पुर जाँदै गरेको मलेसियन एयरलाइन्सको विमान युक्रेनको आकाशमा ‘दुर्घटना’ भएको थियो । अस्ट्रेलिया र नेदरल्यान्ड्स लगायतका देशहरूले रुसले गोली हानी उक्त विमान खसालेको भन्दै दोषी देखाए। 

तर, रूसले अस्वीकार गरिरह्यो। सन् २०१४ जुलाईमा उक्त घटना भएको थियो। यस घटनामा २८३ यात्री र १५ जना उडान चालक दलका सदस्यहरूको मृत्यु भएको थियो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को परिषद्ले मलेसियन एयरलाइन्सको उक्त जहाज रूसको आक्रमणका कारण दुर्घटना भएको जनाएको छ। घटनाको झन्डै ११ वर्षपछि आईकाओको औपचारिक वेभसाइटमा उक्त घटनामा रूसलाई दोषी देखाइएको छ। 

आईकाओका अनुसार सन् २०१४ जुलाईमा युक्रेनको आकाशमा रूस–नियन्त्रित सशस्त्र समूहले एमएच१७ जहाजलाई खसालेको थियो। जहाजलाई रूसले समर्थन गरेको सशस्त्र समूहले १७ जुलाई २०१४ मा पूर्वी युक्रेनको आकाशमा उडिरहेको समयमा बक ९एम३८ नामक भूमिबाट सिधा आकाशमा हान्न मिल्ने हवाई मिसाइलले खसाएको थियो। आईकाओले मलेसिया एयरलाइन्सको यात्री विमान एमएच१७ लाई खसाल्ने घटनामा रूसले अन्तर्राष्ट्रिय उड्डयन कानुनको उल्लंघन गरेको आरोप लगाएको छ। 

आईकाओको ७८ वर्षे इतिहासमा पहिलो पटक यसले कुनै सदस्य राष्ट्रविरुद्ध यस्तो कडा निर्णय सुनाएको सूचनामा भनिएको छ। 

आईकाओले विवाद समाधान प्रक्रियाअन्तर्गत कुनै मामिलामा पहिलो पटक कानुनी रूपमा फैसला गरेको देखाउँछ। अस्ट्रेलिया र नेदरल्यान्ड्स लगायतका देशहरूले यस घटनाको जाँच गरी रूसलाई जिम्मेवार ठहराउनु पर्ने बताउँदै आएका थिए। आईकाओको परिषद्ले अस्ट्रेलिया र नेदरल्यान्ड्सले उठाएको आरोपलाई तथ्य र कानुनी आधारमा सही भएको साबित गरेको छ। आईकाओका अनुसार रूसले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सम्मेलनको धारा ३ बिस उल्लंघन गरेको छ।  अन्तर्राष्ट्रिय नागरिक उड्डयन सम्मेलन (शिकागो सम्मेलन) मा अनुच्छेद ३ बिसले कुनै पनि राष्ट्रले उडिरहेका नागरिक विमानहरूमा हतियार प्रयोग गर्नु नहुने, यात्री विमानलाई गोली हान्ने, मिसाइल प्रहार गर्ने वा कुनै पनि हिंसात्मक कार्य गर्न मनाइ गरिएको भनेको छ। 

यो नियम अन्तर्राष्ट्रिय उड्डयन सुरक्षाको लागि महत्वपूर्ण मानिन्छ। आईकाओले आधिकारिक निर्णय पत्र अर्को बैठकमा जारी गर्ने उल्लेख गर्दै कानुनी र तथ्यात्मक कारणहरू विस्तृत रूपमा समावेश गर्ने बताएको छ। यस घटनाको अनुसन्धानको जिम्मेवारी नेदरल्यान्ड्स सुरक्षा बोर्ड (डीएसबी) र नेदरल्यान्ड्स नेतृत्वमा बनेको संयुक्त अनुसन्धान दल (जेआईटी) लाई दिइएको थियो। सन् २०१६ मा प्रकाशित अनुसन्धान प्रतिवेदनले युक्रेनको पूर्वी क्षेत्रमा रूस समर्थित विद्रोही समूहको नियन्त्रणमा रहेको भूभागबाट प्रहार गरिएको बुक सरफेस–टु–एयर मिसाइलले उक्त विमान ध्वस्त भएको निष्कर्ष निकालेको थियो। 

अनुसन्धानले जहाज खसाउन प्रहार गरिएको मिसाइल प्रणाली रूसी संघको ५३ औं एन्टी–एयरक्राफ्ट मिसाइल ब्रिगेडसँग सम्बन्धित भएको र दुर्घटनाको दिन नै यो हतियार रूसबाट युक्रेनको विद्रोही नियन्त्रित क्षेत्रमा पु¥याइएको उल्लेख छ। विमान ध्वस्त पारिएपछि मिसाइल प्रणाली फेरि रूस फिर्ता गरिएको थियो। नेदरल्यान्ड्स र अस्ट्रेलियाले रूसलाई यस घटनाका लागि प्रत्यक्ष जिम्मेवार ठहर गर्दै सन् २०१८ को मे महिनादेखि कानुनी प्रक्रिया अगाडि बढाएका छन्। 

तर, रूस सरकारले यसमा आफ्नो संलग्नतालाई लगातार अस्वीकार गर्दै आएको छ। १७ नोभेम्बर २०२२ मा नेदरल्यान्ड्सको अदालतले दुई रूसी नागरिक र एक युक्रेनी विद्रोहीलाई उडानमा सवार २९८ जनाको हत्याको दोषी ठहर गरेको छ। अदालतले घटनाको समयमा पूर्वी युक्रेनमा सक्रिय विद्रोही सेनाहरू रूसको प्रत्यक्ष नियन्त्रणमा नै भएको पनि स्पष्ट पारेको थियो। यो मलेसिया एयरलाइन्सको सन् २०१४ को दोस्रो ठूलो दुर्घटना हो। यसभन्दा ४ महिनाअघि ८ मार्च २०१४ मा एमएच३७० उडान पनि गायब भएको थियो। मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको राजधानी बेइजिङका लागि उडान भरेको जहाजमा १० चालक दलका सदस्य र २ सय २७ जना यात्रु सवार थिए। जसमा पाँच जना बालबालिका थिए। यात्रुहरूमा सबैभन्दा धेरै चिनियाँ नै थिए। यात्रुहरूमा दर्जन बढी मलेसियाका नागरिक थिए। यस्तै, इन्डोनेसिया, अस्टे«लिया, भारत, फ्रान्स, अमेरिका, इरान, युक्रेन, क्यानडा, न्युजिल्यान्ड, नेदरल्यान्ड, रसिया, र ताइवानका यात्रु पनि सवार थिए। यात्रुहरूमा क्वालालम्पुरमा आफ्नो क्यालिग्राफी देखाउने प्रख्यात चिनियाँ कलाकारहरूको समूह, नक्कली युरोपेली राहदानीमा यात्रा गरिरहेका दुई इरानीहरू, नयाँ काम सुरु गर्न बेइजिङ जाँदै गरेका इन्डोनेसियाली, हनिमुनमा गएका मलेसियाली दम्पती, बच्चाहरूसहितका युवाहरू पनि थिए।

–एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.