काठमाडौं-तराई द्रूतमार्ग : ०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य तर कामको भौतिक प्रगति ३५.३८ मात्र
काठमाडौं : नेपाली सेनाले जिम्मा पाएको काठमाडौं-तराई द्रूतमार्गको कामको भौतिक प्रगतिमा खासै वृद्धि भएको छैन। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार द्रूतमार्गको भौतिक प्रगति जम्मा ३५.३८ रहेको छ।
आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको यो आयोजना ०८२ सम्म आइपुग्दा जम्मा भौतिक प्रगति ३५.३८ रहेको प्रतिवेदनमा उल्लेख छ। जबकि यो आयोजना सम्पन्न गर्ने अन्तिम मिति ०८३ को चैत मसान्त रहेको छ। संशोधनसहित ७०.९ किलोमिटर लम्बाई रहेको यो आयोजनाको लागत २ खर्ब ११ अर्ब ९३ करोड रहेको अनुमान गरिएको छ। जसमा ८९ पुल र ६ सुरुङमार्ग समावेश छन्।
यो आयोजना सम्पन्न गर्न विभिन्न ११ क्लस्टरमा विभाजन गरी काम थालिएको छ। अहिले १४ प्याकेजमध्ये १२ को ठेक्का व्यवस्थापन भएको प्रतिवेदनमा उल्लेख छ। यो आयोजनामा हालसम्म ६७ अर्ब १० करोड ९८ लाख खर्च भएको छ। ललितपुरको खोकनामा ६.४ किलोमिटर सडकको रेखांकन र जग्गा अधिग्रहणसम्बन्धी विवाद भने कायमै छ। उक्त प्याकेजको लागि ३ अर्ब २७ करोड लागत अनुमान गरिएको छ।
आयोजनाको ७३ प्रतिशत अवधि व्यतीत हुँदा जम्मा ५ पुल र २ सुरुङमार्ग सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ। वितीय प्रगति भने ३६.६६ रहेको छ।
प्रतिक्रिया दिनुहोस !