जुरिम्बा हाइड्रोपावरमा प्राइम कमर्शियल बैंकको लगानी
काठमाडौं : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माण हुन लागेको ७.६३ मेगावाट क्षमताको जुरिम्बा खोला साना जलविद्युत् आयोजनाका लागि प्राइम कमर्शियल बैंकले ऋण लगानी गरेको छ।
बैंकसँग आयोजना निर्माण गर्न १ अर्ब २३ करोड रुपैयाँ बराबरको आवधिक ऋण (टर्म लोन) सम्झौता भएको हो। उक्त आयोजनासम्बन्धी ऋण सम्झौतामा बिहीबार जुरिम्बा हाइड्रोपावर कम्पनीसँग बैंकका सहायक महाप्रबन्धक नारायणप्रसाद श्रेष्ठले हस्ताक्षर गरे।
यो अर्ध जलाशययुक्त आयोजना (६ घण्टा-पिआरओआर) हो। परियोजनाको कूल अनुमानित निर्माण लागत १ अर्ब ८६ करोड रुपैयाँ रहेको छ। कूल लागतको ६६.१२ प्रतिशत ऋण र बाँकी ३३.८८ प्रतिशत अर्थात् करिब ६३ करोड रुपैयाँ ऊर्जा प्रवर्द्धकद्वारा लगानी जुटाइने कम्पनीले जनाएको छ। उक्त आयोजना निर्माण २ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यो आयोजना अनुभवी टिमको नेतृत्वमा अघि बढाइएको छ।
बैंकका सहायक महाप्रबन्धक श्रेष्ठले आफूहरूले विकासको क्षेत्रमा प्राथमिकता दिएकाले जुरिम्बा हाइड्रोपावरमा लगानी गर्ने निर्णय गरेको बताए। यस परियोजनाका लागि प्राइमलाई छानेकोमा उनले खुसी व्यक्त गरे। ‘यो परियोजनामा लगानी गर्ने सम्झौता भएसँगै अब तोकिएको समयमा निर्माण सम्पन्न गर्नुहोला,’ उनले भने।
प्रतिक्रिया दिनुहोस !