जसले विवाह दर्तादेखि लालपुर्जा पनि नक्कली बनाएर बेच्थे
काठमाडौं : भीमसेनथापा गाउँपालिका–१ गोर्खाका अन्जनी बयलकोटी प्रहरी हिरासतमा छन्। सुटेडबुटेड भएर हिँड्ने बयलकोटीले प्रशस्त पैसा कमाएर काठमाडौंमा नै घरघडेरी पनि जोडेका छन्। पैसा कमाउनका लागि उनले अपनाएको बाटो भने चाखलाग्दो देखिन्छ। उनले जुनसुकै प्रकारका कागजात पनि नक्कली बनाउन सक्छन्।
कीर्ते विवाह दर्ताको प्रमाणपत्र होस् या जग्गा नै नभएको स्थानमा आफ्नो नाममा भएको लालपुर्जा होस्, वा जुनसुकै बैंकमा करोडौं रुपैयाँ भएको प्रमाणको नक्कली कागजात होस् उनले एक मिनेटमै तयार गरिदिन्छन्। उनीसँगै ओखलढुंगाका निर्मल खड्का र मकवानपुरकी अञ्जु खत्री पनि प्रहरी हिरासतमा पुगेका छन्।
खड्का र खत्री भने मासिक १५ हजार पारिश्रमिक लिएर बयलकोटिको अफिसमा काम गर्ने गर्थे। नक्कली कागजात बनाएको कसूरमा उनीहरू पनि पक्राउ परेका हुन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार, उनीहरूले कीर्ते गरी नक्कली शैक्षिक प्रमाणपत्रदेखि लालपुर्जा समेतका कागजात बनाउने गर्थे। विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गर्ने उनीहरू काठमाडौं तारकेश्वर–७, फुटुङ्बाट पक्राउ परेका हुन्।
अन्जनी बयलकोटीले विगत ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात किर्ते गरी प्रयोग तथा प्रचलनमा ल्याउने गरेका थिए। फुटुङमा कोठा भाडामा लिई नक्कली कागजात बनाउन दुई जना सहयोगीलाई मासिक १० हजारदेखि १५ हजारसम्म तलब दिई कार्यालय सञ्चालन गरेका थिए। बैंकबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइ दिने गरेको कुरा अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। उनीहरूबाट प्रहरीले विभिन्न सरकारी, गैरसरकारी, संघ संस्था तथा पार्टीहरूको छाप तथा व्यक्तिगत दस्तखत लगायतका ३ सय ५५ थान स्ट्याम्प र ठूलो संख्यामा नक्कली शैक्षिक, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र समेत बरामद गरेको छ। १० वटा त नक्कली जग्गाधनी पुर्जा नै प्रहरीले फेला पारेको छ। १०० वटा विभिन्न बैंकको स्टेटमेन्ट। २० वटा स्थानीय तहका विभिन्न सिफारिसपत्र पनि प्रहरीले फेला पारेको छ।
प्रबक्ता आर्चाय भन्छन्, ‘बयलकोटी लामो समयदेखि नक्कली कागजात बनाउने धन्दामा सक्रिय भएको सूचना प्रहरीले पाएको थियो। उनी ठाउँ फेरीफेरी घर नै भारामा लिएर नक्कली कागजात बनाउने गर्थे। केही वर्षअघि डिल्लीबजार एरियामा उनको चलखेल थियो। उनले बनाउन नजानेको भन्ने कुनै कागजात नै छैन। जसलाई जुन प्रकृतिको कागजात चाहिन्छ, उनले तुरुन्तै सक्कली जस्तै बनाएर पठाउने गर्थे। यसका लागि मोटो रकम लिने गरेका थिए।’
प्रहरीले आफूलाई खोजिरहेको सूचना पाएदेखि उनी तारकेश्वर फुटुङमा रहेको कार्यालय नै बन्द गरेर भागेका थिए। त्यही नगरपालिकाको २ नम्बरमा उनले आफ्नो घर बनाएका छन्। तर नक्कली कागजात बनाउने कार्यालयका लागि भारामा घर लिएका थिए।
प्रहरीसँगको बयानमा उनले विशेषतः कागजातको अभावमा विदेश जान रोकिएका व्यक्तिहरूलाई आफूले सहयोग गर्नका लागि कागजात बनाइदिएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस !