कोशीका सांसद चढेको कार मोरङमा दुर्घटना

कोशीका सांसद चढेको कार मोरङमा दुर्घटना
दुर्घटनामा परेर क्षतिग्रस्त बनेको कार । तस्बिर :अन्नपूर्ण

विराटनगर  : मोरङमा कोशी प्रदेशसभाका चारजना सदस्य (कोशी प्रदेशका सांसद)चढेको कार दुर्घटनामा परेको छ। उक्त कार नेपाल प्रहरीका डीएसपी (प्रहरी नायव उपरीक्षक)ले चलाएको कारसँग ठोक्किएर सोमबार दिउँसो दुर्घटना भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा दुईवटा कार एकआपसमा ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार विराटनगरबाट झापातर्फ जाँदै गरेको तर्फ आउँदै गरेको बा ५ च ३५३० नम्बरको कार र झापाबाट विराटनगरतर्फ आउँदै गरेको बी एई १४०६ नम्बरको कार एकआपसमा ठोक्किएर दिउँसो २ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको र सबै जना सकुशल रहेको जोशीले बताए । 

बी एई १४०६ नम्बरको कारमा कोशीका सांसदहरु मैयाँ श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए । प्रहरीका अनुसार प्रदेशसभाको नीति तथा कार्यक्रम सार्वजनिक हुने बैठकमा सहभागी हुन विराटनगर आउँदै गरेका बेला उनीहरु दुर्घटनामा परेका हुन् । पाँचथरकी लावती नेपाली कांग्रेस, झापाका धिमाल नेकपा (एमाले) र मोरङकी चाम्लिङ नेकपा (एकीकृत समाजवादी)का समानुपातिक सांसद हुन् । खनाल झापाको निर्वाचन क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित एमाले सांसद हुन् । 

दुर्घटना भएका बेला उक्त कार झापाको दमक नगरपालिका–१ का ४० वर्षीय भेषराज श्रेष्ठले चलाएका थिए । सांसदहरु चढेको गाडी पाँचथरकी सांसद मैया श्रेष्ठ लावतीको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा ५ च ३५३० नम्बरको कार झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले चलाएका थिए । उनी विराटनगरस्थित घरबाट कार्यक्षेत्र झापा फर्किदै गरेका बेला दुर्घटना भएको हो । 

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय पथरीबाट इन्स्पेक्टर खगेन्द्र एक्तेन नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । दुर्घटनामा परेर दुवै कारमा सामान्य क्षति पुगेको र घटनाको थप अनुसन्धान थालिएको डीएसपी जोशीले बताए । 

दुर्घटना परेकी सांसद चाम्लिङले नीति तथा कार्यक्रम सार्वजनिक हुने प्रदेशसभा बैठकमा सहभागी हुन आउने क्रममा दुर्घटनामा परेको बताइन् । दुर्घटनामा परेर शरीर केही दुखेजस्तो महसुस भएकाले अस्पताल जाने तयारीमा रहेको र प्रदेशसभा बैठकमा सहभागी हुन नसकेको उनको भनाइ छ । 

चाम्लिङले पश्चिमबाट आउँदै गरेको कारसँग ठोक्किएर सांसदहरु चढेको कार सडकमा पल्टिएको जानकारी दिइन् । ‘गाडी ठोक्किने अवस्था आएपछि हामी करायौं । तर, एक्कासि दुर्घटना हुन पुग्यो । हामी ३–४ बल्ड्याङ पल्टियौं । दुर्घटनाको प्रकृति हेर्दा त निक्कै चोटपटक लाग्नुपर्ने हो । कसरी पो बाँचियो ? थाहा छैन,’ उनले भनिन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.