अन्नपूर्ण समाचार प्रभाव
गेटा अस्पताल उपकरण खरिद प्रकरण : अख्तियार र सतर्कता केन्द्रले थाले अनुसन्धान
धनगढी : कैलालीको गेटा अस्पतालमा उपकरण खरिदमा भएको भ्रष्टाचारको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरु गरेको छ ।
अन्नपूर्ण पोस्ट्ले वैशाख १७ गते ‘गेटा अस्पतालका उपकरण किन्दा भ्रष्टाचारै भ्रष्टाचार’ शीर्षकको कभर स्टोरी प्रकाशित गरेको थियो । समाचारकै आधारमा राष्ट्रिय सतकर्ता केन्द्रले अनुसन्धान सुरु गरेको हो । राष्ट्रिय सतर्कता केन्द्रले जेठ १ गते गेटा अस्पताललाई पत्र काटेर चैतको ३१ गतेदेखि वैशाखसम्म उपकरण खरिदका लागि प्रकाशित १७ वटा बोलपत्रका सबै कागजात बुझाउन निर्देशन दिएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले गेटा अस्पताललाई १५ दिनभित्र १७ वटै बोलपत्रमार्फत खरिद गरिएको उपकरणहरूको सूची, बजेटको स्थिति, स्पेसिफिकेसन स्वीकृतिको निर्णयसहितका काजगात बुझाउन निर्देशन दिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले २०८२ सालको जेठ १ गते पठाएको पत्रमा यस्तो भनिएको छ ।
‘गेटा अस्पताल कैलालीको मिति २०८१÷१२÷३१ र २०८२÷०१÷०२ गते विभिन्न १७ वटा उपकरण खरिदका लागि गरिएको टेन्डरमा मिलेमतो गरी एउटा मात्र सप्लायर्सलाई लाभ पुग्ने गरी आह्वान गरिएको र सोबाट राज्यलाई करोडौं नोक्सानी हुने कार्य गरिएकाले छानबिन गरी पाउँ भनी उजुरी परेकाले उपकरणहरू खरिदको सूची, बोलपत्र आह्वानको सूचना, स्पेसिफिकेसन तयार तथा स्वीकृतसम्बन्धी निर्णय, सोका लागि बजेट विनियोजनको स्थिति, तथा अस्पतालमा कार्यरत बायोमेडिकल इन्जिनियरहरूको विवरण १५ दिनभित्र यस केन्द्रमा उपलब्ध गराई दिन हुन यस केन्द्रको उजुरी व्यवस्थापन समितिको २०८२/०१/३० को निर्णयानुसार अनुरोध छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उपकरण खरिदमा भएको अनियमितताको छानबिन सुरु गरेको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले गेटा अस्पतालको उपकरण खरिदका बारेमा अनुसन्धान अधिकृत तोकेर अनुसन्धान सुरु भएको जनाएको छ ।
अख्तियारका कञ्चनपुर कार्यालय प्रमुख वेदप्रसाद भण्डारीले भने, ‘गेटा अस्पतालमा १७ वटा टेन्डरमा भएको अनियमितताको छानबिन सुरु भइसकेको छ । अनुसन्धान अधिकृत तोकेर अनुसन्धान सुरु गरेका छौं । अनुसन्धान अधिकृत र अरु धेरै कुरा भन्न मिल्दैन’, अख्तियार दुरुपयोग अनुसन्धान आयोजका कञ्चनपुर कार्यालय प्रमुख भण्डारीले भने । उनले पत्रिकामा आएका समाचारका आधारमा पनि अख्तियारले उजुरी सरह नै छानबिन गर्ने बताए । ‘पत्रपत्रिकामा आएको समाचार पनि हाम्रा लागि उजुरी जस्तै हो । अन्नपूर्ण पोस्टमा आएको समाचारपछि छानबिन सुरु गरिएको छ’, उनले भने ।
यसरी भएको थियो उपकरण खरिदमा अनियमितता
कैलालीको गेटामा ५० शय्याको अस्थायी अस्पताल छ । १ सय ४१ जनाको अस्थायी दरबन्दी रहेको उक्त अस्पताल २०८० सालको कात्तिकदेखि सञ्चालनमा आएको हो । अस्पतालमा यसपालि झन्डै २८ करोडका उपकरण खरिदका लागि १७ वटा बोलपत्र प्रकाशित भएका छन् ।
वीर अस्पताल काठमाडौंंबाट चैत १४ गते गेटा अस्पताल सरुवा भएर आएका निर्देशक डा. प्रमोदकुमार यादवले एक साताको अवधिमा १७ वटा उपकरण खरिदका बोलपत्र प्रकाशित गरेका थिए । उनले अधिकांश बोलपत्र, खरिद ऐन र भ्रष्टाचार निवारण ऐनविपरीत प्रकाशित गरेपछि अनियमितता गरिएको कुरा बाहिर आएको हो । बोलपत्र नम्बर जीएच÷जी÷एनसीबी–१० मा मेडिकल ग्यास पाइपलाइन सिस्टमको माग गरिएको थियो तर त्यसमा जीसीई मेडिकल कम्पनीको एमसी–८० डुब्लेक्स मोडेल नै तोकेर माग गरिएको थियो । खरिद ऐनअनुसार बोलपत्रमा कम्पनीको नाम र मोडेल नम्बर दिन पाइँदैन ।
यस्तै गाइने अप्रेसन कक्षका लागि उपकरण खरिदको टेन्डरमा पाठेघरको क्यान्सर जाँच गर्ने मेसिनको स्पेसिफिकेसनमा न्यू–मार्स कम्पनीको लु–मोडेलसँग मिल्ने गरी बुँदाहरू राखिएका थिए । कम्पनीको क्याटलक हेर्दा धेरै बुँदाहरू हुबूु कपी गरिएपछि मिलेमतोको आशंका गरिएको हो । उपकरणको स्पेसिफिकेसन बनाउँदा कम्पनीको क्याटलकमै भएका कुराहरू लेखी दिएपछि एउटा मात्र सप्लायर्सलाई बोलपत्र पर्ने र त्यसबाट कमिसन माग्ने प्रपञ्च भएको प्राविधिकहरू बताउँछन् ।उपकरण खरिदको एउटा अर्को टेन्डरमा आईसीयूमा भएका बिरामीहरूको घाँटीको ¥याल निकाल्ने मेसिनको माग गरिएको थियो ।
‘अटोमेटिक ट्राचेल सेक्रेसन रिमोभल डिभाइस’ नामक नवीनतम प्रविधिको उक्त उपकरण नेपालको एकमात्र आपूर्तिकर्ता एम केयर टेक्नोलोजीले मात्रै आपूर्ति गर्छ । तर, यो मेसिनसँगको प्याकेजमा आईसीयू बाहेकका करोडौंका उपकरण राखेर एम केयरलाई मात्र टेन्डर पार्ने गरी मिलेमतो गरिएको थियो । खरिद ऐनमा एक प्रकारका सामान बाहेक अरू सामानको प्याकेज बनाउन नपाउने प्रावधान छ । यति मात्रै होइन, आईसीयूमा प्रयोग हुने उपकरण खरिदको बोलपत्र भित्र ‘ब्लड ग्यास अनालाइजर’ नामक उपकरण पनि राखिएको थियो । उक्त उपकरणको स्पेसिफिकेसन ड्रागन कम्पनीको आई–२० भन्ने मोडेलसँग मिल्ने गरी राखिएको छ । अस्पतालको उपकरण खरिदका लागि प्रकाशित भएका १७ वटा टेन्डरमध्ये बाझोपनको उपकरणको प्याकेजमा सल्यक्रिया कक्षमा प्रयोग हुने ‘फोरके हिस्टेस्कोपी सिस्टम’ र अल्ट्रासाउन्ड मेसिन पनि राखिएपछि मिलेमतोको आशंका गरिएको हो ।
१७ वटा टेन्डरमध्ये मोडुलर ओटीको पनि बोलपत्र आह्वान भएको छ । मोडुलर ओटीका प्याकेजमा राखिएका अधिकांश उपकरणहरू साल्या कम्पनीको सप्लायर्सलाई पर्ने गरी राखिएका छन् । उक्त उपकरणहरूको स्पेसिफिकेसनमा ११ वटा बुँदा साल्या कम्पनीको उत्पादनसँग मिल्दोजुल्दो छन् ।
सरुवा भएर चैतको १४ गते मात्रै निर्देशकका रूपमा गेटा अस्पतालमा हाजिर भएका डा. प्रमोदकुमार यादवले चैतको २७ गते यता मात्रै २८ करोडका १७ वटा टेन्डर प्रकाशित गरेर उपकरण खरिदमा अनियमितता गरेका हुन् । उनले खोलेका १७ वटा टेन्डरहरू प्याकेजमा खोलिएका छन् । एउटा मात्रै सप्लायर्सलाई लक्षित गरी प्याकेजमा खोलिएका टेन्डरमा सल्यक्रिया कक्षका लागि आवश्यक उपकरणमा अन्तरंगको सामान राखिदिएका छन् । उनले अधिकांश उपकरणमा कम्पनीको मोडेलसमेत उल्लेख गरेर स्पेसिफिकेसन तयार पार्न लगाए पछि झन् मिलेमतोको आशंका गरिएको हो ।
नेपालमा हरेक टेन्डर खरिद ऐनअनुसार हुनुपर्ने प्रावधान छ । खरिद ऐनको दफा ३ (क) मा प्याकेजिङ तथा समूह विभाजनसम्बन्धी व्यवस्था गरिएको छ । दफा ३ (क) को उपदफा २ मा ‘सार्वजनिक निकायले खरिदलाई बढी सुविधाजनक समूहमा विभाजन गर्ने वा प्याकेजमा समावेश गर्ने गरी तयार गर्दा अलग–अलग रूपमा सम्पन्न गर्न सकिने प्रकृतिको निर्माण कार्यका लागि अधिकतम प्रतिस्पर्धा हुने हदसम्म छुट्टाछुट्टै रूपमा बोलपत्र आह्वान गनुपर्ने छ’, उल्लेख छ । तर, गेटा अस्पतालको अधिकांश बोलपत्रमा एक जना आपूर्तिकर्ताले मात्रै आपूर्ति गर्ने उपकरणको प्याकेजमा अरू अधिकतम प्रतिस्पर्धामा आउन सक्ने सामानहरू पनि समावेश गरी अनियमितता गरिएको छ । यहाँ सम्मकी कम्पनीको मोडेल नम्बरसहित स्पेसिफिकेसनमा राखिएको छ । खरिद ऐनकै दफा ३ (क) को उपदफा ३ मा त एक अर्कासँग अन्तर सम्बन्धित नभएका उपकरण एकै प्याकेजमा नराख्ने स्पष्ट व्यवस्था छ । उक्त उपदफामा भनिएको छ, ‘एक आपसमा अन्तर सम्बन्धित भई एउटै प्याकेज सञ्चालन गर्नुपर्ने भएमा बाहेक प्रतिस्पर्धालाई संकुचित र सिमित गर्ने गरी ठूलाठूला प्याकेज बनाई बोलपत्र आह्वान गर्नु हुँदैन ।’
तर, गेटा अस्पतालका अधिकांश उपकरण खरिदका बोलपत्रहरूमा ठूलाठूला उपकरणहरू एक अर्कासँग अन्तर सम्बन्धित नै नभएका राखिएका छन् । निर्देशक यादवले आउनेबित्तिकै अस्पताको खरिद समिति भंग गरेर नयाँ समिति बनाएपछि झन मिलेमतोको भएको पुष्टि भएको हो । उनले अस्पतालका प्रशासन शाखाका अधिकृत खगेन्द्र भारती, डा. मोहन नाथ, लेखापाल चक्रबहादुर विष्ट र जनस्वास्थ्य अधिकृत शिद्धराज भट्ट रहेको खरिद समिति भंग गरेर अस्पतालका प्रसूति तथा स्त्री रोग विषेशज्ञ डा.जगदिश विष्टको संयोजकत्वमा डा. शंकर अधिकारी र जनस्वास्थ्य अधिकृत शिद्धराज भट्ट सदस्य रहेको तीन सदस्यीय खरिद समिति गठन गरेका थिए ।
निर्देशक यादवले अस्पतालको सुरुवात भएकै बेलादेखि कार्यरत बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतको ठाउँमा संघीय सरकार मातहतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली काठमाडौंका बायोमेडिकल इन्जिनियर अमृतप्रसाद भण्डारीलाई स्पेसिफिकेसन तयार पार्न लगाएका थिए । सरुवा हुनेबित्तिकै १७ टेन्डर प्रकाशित गर्नु र त्यसमा पनि स्पेसिफिकेसनका लागि काठमाडौंबाट बायोमेडिकल इन्जिनियर ल्याउनुले पनि उनको उपकरण खरिदमा स्वार्थ रहेको प्रस्ट हुन्छ । निर्देशक यादवले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका बायोमेडिकल इन्जिनियर भण्डारीलाई काजमा गेटा ल्याएर स्पेसिफिकेसन बनाउन लगाएका हुन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका बायोमेडिकल इन्जिनियर भण्डारीको काज सरुवाको पत्र २०८१ चैत २७ गतेको छ तर उपकरण खरिदका ५ वटा बोलपत्र एकै दिन (२०८१ चैतको ३१ गते) राष्ट्रिय पत्रिकाहरूमा प्रकाशित भएका छन् । २०८२ को वैशाख २ गते मात्रै थप ८ वटा टेन्डर राष्ट्रिय पत्रिकामा प्रकाशित भएपछि त ६ दिनमा १३ वटा बोलपत्रका उपकरणको स्पेसिफिकेसन कसरी तयार पारे ? भन्ने प्रश्न उब्जिएको छ ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !



