नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त भएका पौडेल को हुन् ? के छ अनुभव ?

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त भएका पौडेल को हुन् ? के छ अनुभव ?
सुन्नुहोस्

प्रधानमन्त्री ओलीदेखि कांग्रेस सभापति देउवालाई छिटो गभर्नर नियुक्तिका लागि निर्णयमा पुग्न अर्थमन्त्रीले पटक–पटक आग्रह गर्दै आएका थिए।

 काठमाडौं : लामो प्रतीक्षापछि अन्ततः डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेलको नियुक्ति गरेसँगै करिब डेढ महिनादेखि रिक्त रहेको गभर्नर पदले बल्ल न्याय पाएको छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डेको सिफारिस समितिले गभर्नरका लागि ३ जनाको नाम मन्त्रिपरिषदमा पेस गरेको थियो । जसमा पहिलो नम्बरमा डा पौडेल, दोस्रोमा कामु गभर्नर डा. निलम तिम्सिना ढुंगाना र तेस्रोमा पूर्वसचिव दिनेश भट्टराई थिए । तीमध्येबाट मन्त्रिपरिषद्ले प्रा.डा पौडेललाई नियुक्ति गर्ने निर्णय गरेको बैठकपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति जुटेपछि प्रक्रिया अघि बढाइएको हो । मंगलबार बिहान ओली र देउवाबीच यसबारे ठोस निर्णय भएको थियो । १७औं गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल चैत २४ गते सकिएको थियो । त्यसयता निलम ढुंगानाले कायम मुकायमको जिम्मेवारी सम्मालेकी थिइन् ।

अधिकारीको कार्यकाल सकिएपछि गभर्नर आफ्नो पोल्टामा पार्न सत्तारूढ कांग्रेस–एमाले दुवैले पहल गरेका थिए । अन्ततः प्रधानमन्त्री ओली कांग्रेसलाई गभर्नर दिन राजी भएका थिए । जेठ १५ गते बजेट सार्वजनिक हुने मिति नजिकिँदै गर्दा अर्थमन्त्री पौडेलले छिटो गभर्नर नियुक्तिमा जोडबल गरेका थिए । प्रधानमन्त्री ओलीदेखि कांग्रेस सभापति देउवालाई छिटो गभर्नर नियुक्तिका लागि निर्णयमा पुग्न अर्थमन्त्रीले पटक–पटक आग्रह गर्दै आएका थिए । 

एमालेले कार्यकारी निर्देशक डा. प्रकाशकुमार  श्रेष्ठ (जो अहिले राष्ट्रिय योजना आयोगका सदस्य छन्) र कांग्रेसले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानालाई गभर्नरमा अघि बढाउन खोजेको चर्चा चलेको थियो । यसकारण डा.  श्रेष्ठले राष्ट्र बैंकबाट र ढुंगानाले सीईओबाट राजीनामा दिएका थिए । तर, यता प्रधानमन्त्री केपी ओलीले आफूले राष्ट्रपति, मुख्यसचिव, प्रधानन्यायाधीश लगायतमा महिला नेतृत्व ल्याएको भन्दै गभर्नरमा पनि कामु गभर्नर डा. निलम तिम्सिना ढुंगानालाई अघि ल्याउन खोजेका थिए । तर, भागबन्डाका कारण कांग्रेस यसमा सहमत भएन । 

यसपछि कांग्रेसले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नरमा अगाडि बढाउन खोज्यो । यसपछि डा.भट्टले राजीनामा दिएर बाहिरिन खोजे तर उनको राजीनामालाई कामु गभर्नर तिम्सिनाले स्वीकृत गरिनन् । अन्ततः सिफारिस समिति सदस्यमा प्रवेश गरेका डा. पौडेल गभर्नर बन्न सफल भए । 

नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नरको नियुक्ति नेपाल सरकार, मन्त्रिपरिषद्ले तोकेबमोजिम गठन भएको सिफारिस समितिको सिफारिसको आधारमा गभर्नरको नियुक्ति गर्ने व्यवस्था छ । सोहीअनुसार राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्न सरकारले अर्थ मन्त्रालयलाई फागुन २१ गते स्वीकृति दिएको थियो ।  

अर्थमन्त्री पौडेलको संयोजकत्वमा पूर्वगभर्नरबाट विजयनाथ भट्टराई र विज्ञबाट प्रा. डा. विश्व पौडेललाई राखेर सिफारिस समिति गठन गरियो । त्यसबाट पौडेलले राजीनामा दिएपछि रिक्त स्थानमा निवर्तमान गभर्नर अधिकारीलाई समावेश गरियो । यसपछि फेरि कांग्रेसले सिफारिस गरेको प्रा.डा. पौडेललाई गभर्नरमा अघि सार्ने देखिएपछि उनले पनि सिफारिस समितिबाट राजीनामा दिए । उक्त स्थानमा अर्थविद् डा. पोषराज पाण्डेलाई सदस्य बनाइयो । तर, यसबीच गभर्नर बन्ने लाइनमा रहेका डा.पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत पेस भयो । उनको नियुक्तिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल हुने दाबीसहित रिट निवेदन पेस भयो । 

सर्वोच्चले जेठ ६ गते त्यसलाई दरपिठ गरिदियो । त्यसविरुद्ध परेको रिटमा मंगलबारै सर्वोच्चले दरपिठ सदर गरिदियो । जसका कारण पौडेलको नियुक्ति सहज बन्यो । 

को हुन् पौडेल ?
जो हुन् ख्यातिप्राप्त अर्थविद पछिल्लो युवापुस्तामा ख्यातिप्राप्त अर्थविद्को सूचीमा पर्छन् डा. पौडेल । विशेष गरेर वित्त नीतिमा उनको राम्रो दख्खल छ । उनले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट कृषि तथा प्राकृतिक स्रोत अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । 

उनलाई अर्थतन्त्र, समाज र इतिहासका अध्येता मानिन्छ । उनले बेला–बेला विभिन्न सञ्चारमाध्यममा अर्थशास्त्र तथा इतिहाससम्बन्धी लेखहरू प्रकाशितसमेत गर्दै आए । उनी सन् २०१२ देखि २०१३ सम्म सानिमा बैंकको निर्देशक थिए । त्यसपछि सन् २०१२ डिसेम्बरदेखि २०१५ जनवरीसम्म विश्व बैंकको कन्सलट्यान्ट भए । यससँगै, सन् २०१८ फेब्रुअरीदेखि २०२० अप्रिलसम्म अन्तर्राष्ट्रिय  श्रम संगठनको नेपालस्थित कार्यालयमा आर्थिक 
सल्लाहकार भए । मिलेनियम च्यालेन्ज कर्पोरेशनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीको रूपमा कार्य गरे । 

उनले युलेन्स स्कुलमा गस्ट २०१९ देखि जुलाई २०२१ सम्म बोर्ड अफ ट्रस्टीका रूपमा काम गरेका थिए । उनी पीएचडी गरेर फर्किएपछि काठमाडौं विश्वविद्यालयमा प्राध्यापन सुरु गरे । एसिस्टेनट प्रोेफेसर हुँदै भिजिटिङ एसोसिएट प्रोफेसर भए । उनले काठमाडौं विश्वविद्यालय (केयू) मा करिब ९ वर्ष ३ महिना प्राध्यापन गरे । 

पछिल्लो १ वर्ष ११ महिनादेखि केयूमा प्रोफेसरका रूपमा कार्यरत थिए । यसबाहेक उनले नेपाल उद्योग परिसंघमा थिंकट्यांक स्थापना गरी प्रमुख आर्थिक सल्लाहकारको भूमिकासमेत निर्वाह गरे । उनी नेपाल इकोनोमिक्स ओलम्पियाडको अध्यक्षसमेत भए । 

यसैबीच, उनी २०७८ साउन १२ गते राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष नियुक्त भएका थिए । आयोगमा उनी करिब १ वर्ष १४ महिना मात्रै रहे । त्यसपछि राजीनामा दिएर उनी नेपाली कांग्रेसबाट टिकट पाएर चितवन क्षेत्र नम्बर १ बाट चुनाव लडे । तर, उक्त चुनावमा डा. पौडेल सफल हुन सकेनन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.