प्रदेशहरूमा मौलाएको बेथिति

प्रदेशहरूमा मौलाएको बेथिति
सुन्नुहोस्

२० लाख रुपैयाँभन्दा बढी लागत अनुमान भएका निर्माण कार्य, मालसामान वा जुनसुकै खरिद गर्नुपर्दा खुला बोलपत्रको माध्यमबाट गर्नुपर्ने व्यवस्था सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ मा छ । तर, कोशी प्रदेशका मन्त्रालय र मातहतका ४५ वटा कार्यालयले ६९ करोड ६५ लाख ८२ हजारको निर्माण, मर्मत सम्भार, फर्निचर तथा औषधी उपकरण र कार्यालय सामानहरूबिना प्रतिस्पर्धा खरिद गरेको तथ्य महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनबाट खुलेको छ । ऐन, कानुन नै मिचेर त्यसो गर्दा उक्त रकम बेरुजु देखिएको छ । प्रदेशहरूमा नियम कानुनविपरीत भइरहेका गतिविधिको एउटा मात्रै उदाहरण हो, कोशी ।

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निर्माणको ठेक्का ७ अर्ब १५ करोडमा सम्झौता भएको छ, जहाँ खुला प्रतिस्पर्धा निषेध जस्तै हुँदा शून्य दशमलव ०२ प्रतिशत घटीघटाउमा ठेक्का लागेको थियो । यस्ता उदाहरण प्रदेशैपिच्छे छन् । त्यसैले त हरेक प्रदेशमा बेरुजुको चाङ लागेको छ । बेरुजुको चाङ आजको मात्र समस्या भने होइन, विगतमा अर्थात् संघीयता लागू नहुँदा पनि गाउँ विकास समिति, नगरपालिका र अन्य सरकारी कार्यालयमा यस्तै र यसरी नै भेटिथ्यो । एकात्मक राज्य व्यवस्थाको रोग प्रदेशहरूमा पनि सर्दा संघीयताको गरिमा र ओज गिरेको छ । यो व्यवस्थाप्रति नकारात्मक भाष्य मौलाउन यस्ता बेथितिले मलजल गरेका छन् । संघीयता कार्यान्वयनको दशक नपुग्दै प्रादेशिक संरचनाको औचित्यमाथि त्यसै प्रश्न उठेको होइन भन्ने यस्तै दृष्टान्तले देखाउँछन् । मलेपले गरेको १ हजार २ सय ९० प्रदेशस्तरीय सरकारी कार्यालयको लेखापरीक्षणमा ५० अर्ब २१ करोड ९९ लाख रुपैयाँ बेरुजु देखिएको छ । यो प्रदेशहरूमा मौलाएको आर्थिक अनुशासनहीनता र बेथितिको चर्काे रूप हो । दुःख त कहाँ लाग्छ भने यति हुँदा पनि सरोकारवाला निकाय मौन नै हुने हो । दुई, चार दिन बहसको विषय बने पनि यो विषय यसपछि गुमनाम बनिदिन्छ । जसका कारण समस्या ज्युँका त्युँ नै रहिरहन्छ । सरकारले यसको समाधानका लागि न कुनै नयाँ योजना ल्याउँछ वा यसलाई टुंगोमा पुर्‍याउन समिति बनाएर काम नै अघि बढाउँछ ।

हिसाब नमिलेको, प्रक्रिया पूरा नभएको, अनियमित र सिद्धान्तविपरीत तथा औचित्यहीन खर्चहरूलाई मलेपले औंल्याउँछ । मलेपले कुनै प्रदेश पनि बेरुजु शून्य भेटेन । सबैभन्दा बढी मधेस प्रदेशमा बेरुजु भेट्यो । जनताको नजिकको सरकार पुर्‍याउने र सेवा प्रवाह सजिलो बनाउने संघीयताको मर्म हो । तर, प्रदेश सरकारहरू भने राजस्व संकलनमा कमजोर खर्चमा उदार अनि फुर्मासी जस्तो बनेका छन् । प्रशासनिक खर्च कटौतीमा प्रदेशहरूको ध्यान छैन । केवल सस्तो लोकप्रियताका लागि टुक्रे योजनाहरूमा बजेटको कनिका छराइ गरेका छन् । महत्वपूर्ण आयोजना छनोटमा चुकेका छन् । छनोट भएका आयोजनाको कुनै बैंक बनाइएका छैनन् । जथाभावी बजेट खर्चकै कारण बेरुजुको चाङ लागेको छ । यस्ता बेथितिको अन्त्य नभई न प्रदेश सरकारले विश्वास जित्छन् न समृद्धि हासिल हुन्छ । बरु, संघीयताको बदनामी झन् बढ्छ । यही कुरालाई ख्याल गर्दै प्रदेशहरूले खर्चलाई पारदर्शी, औचित्यपूर्ण र आर्थिक अनुशासनको दायरामा राख्न जरुरी छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.