जिल्ला प्रहरीप्रति ब्युरोको आशंका, छापा हान्न आफैं पुग्छ जिल्लामा पनि
परासी :
दृष्टान्त १
भैरहवाबाट प्रहरीको लागुऔषध ब्युरो टोली आयो, २०८२ वैशाख २४ गते रामग्राम नगरपालिका–६ पोखरापालीस्थित एक घरमा छापा मार्यो । ३५ लाख ९९ हजार ८ सय ३५ नेपाली रुपैयाँसहित ठूलो मात्रामा लागुऔषध बरामद गर्यो । जबकी ब्युरोले छापा हानेको घर जिल्ला प्रहरी कार्यालयभन्दा तीन सय मिटर मात्रै पर छ । स्थानीय प्रेमनाथ बनियाको घरमा छापा मारेर ब्युरोको टोलीले विभिन्न नामका ६७ थान लागुऔषध एप्पुल र ट्याब्लेट, सिरिञ्ज तथा ४९७ मिलिग्राम हिरोइन बरामद गर्यो ।
बनियाले लामो समयदेखि लागुऔषधको कारोबार गर्दै आएको सूचना लागुऔषध ब्युरोलाई थियो । त्यति पर रहेको ब्युरोले यस्तो सूचना पाए पनि नजिकै रहेको प्रहरी कार्यालय भने त्यसबारे बेखरजस्तै थियो । जिल्ला प्रहरी चुप बस्ने, तर भैरहवाबाट आएको प्रहरीले छापा मारेकाले प्रहरी प्रशासनप्रति स्थानीयले आशंका गरेका छन् । बनियाको घरबाट बरामद भएको रकम भने लागुऔषध कारोबारकै हो वा होइन भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- दृष्टान्त २
नवलपरासीकै रामग्राम नगरपालिका–१२ पचगावाँमा लागुऔषध कारोबारी एक जनालाई नियन्त्रणमा लिन प्रहरीले गोली नै चलायो । लागुऔषधको कारोबार हुँदै छ भन्ने जानकारी पाएको लागुऔषध ब्युरोले कारोबारीलाई समात्न गोली हानेको थियो । ०८१ माघ १७ गते राजेश लोनियाको घरमा पुगेको टोलीमाथि जाइलाग्न थालेपछि प्रहरीले लोनियालाई गोली हानेको थियो । लोनियालाई नियन्त्रणमा लिने क्रममा उनका आफन्तहरूले प्रहरीलाई घेरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो ।
फायर खोल्ने बितिक्कै लोनियाले प्रहरीको पेस्तोल खोस्न थालेपछि उनलाई खुट्टामा गोली हानेर नियन्त्रणमा लिइयो । उनको साथबाट ९३ पुरिया (९५ दशमलव ९८ ग्राम) ब्राउन सुगर बरामद गरियो । लोनियामाथि २०७८ सालमा पनि मकवानपुर जिल्लामा लागुऔषधसम्बन्धी मुद्दा चलेको प्रहरीले जनाएको छ । लोनियाको घर पनि प्रहरी कार्यालयबाट साढे २ किलोमिटरको दूरीमा छ ।
- दृष्टान्त ३
नवलपरासीको सरावल गाउँपालिका–७ का २८ वर्षीय अम्जद डफाली र २१ वर्षीय हसान डफालीले भारतीय मोटरसाइकलमा लागुऔषध राखेर लैजा“दै गरेको अवस्थामा रामग्राम नगरपालिका–५ परासीबाट पक्राउ परे । उनीहरूको साथबाट विभिन्न नामका २ हजार ५२ थान लागुऔषधका एप्पुल बरामद गरिए ।
माथि उल्लेखित लागुऔषधका यी घटनाको नेतृत्व भैरहवास्थित लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले गरेको हो । जबकि, जिल्ला प्रहरी कार्यालयको छेउछाउमै लागुऔषध कारोबार भइरहे पनि ब्युरोले छापा हान्ने र कारोवारी पक्रने गरिरहेको छ । यसले लागुऔषधका घटनामा जिल्ला प्रहरीले आँखा चिम्लेको हो ? वा, त्यस्ता घटनामा स्थानीय प्रहरीको भूमिकाप्रति ‘अविश्वास’ का कारण लागुऔषध ब्युरो आफैं अग्रसर भएको हो ? भन्नेमा शंका पैदा भएका छन् । चालु आर्थिक वर्ष ०८१/०८२ मा लागुऔषध नियन्त्रण ब्युरोले मात्र नवलपरासी जिल्लाका ६ स्थानबाट लागुऔषध बरामद गरेको छ । ती घटनामा पक्राउ परेका ९ जनामाथि मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए । ब्युरोबाहेक पनि जिल्ला र मातहतका युनिटले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ३० जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।
ब्राउन सुगरको कारोबार बढ्दै
लुम्बिनी प्रदेशमा त्यसरी पक्राउ पर्नेहरू ठूलै कारोबारी त होइनन् । तर, प्रयोगकर्तालाई घरबाटै लागुऔषध बेचबिखन गर्नेहरू हुन । केही कारोबारी त लागुऔषध पुर्याउन जाने क्रममा पक्राउ परेका हुन् । सीमावर्ती नाकामा प्रहरीको निगरानी बढी हुने भएकाले दुव्यर्सनीहरू कारोबार गर्नेको घरमै पुगेर लागुऔषध खरिद गरी सेवन गर्ने गर्छन् ।
- जिल्ला प्रहरी कार्यालयको छेउछाउमै लागुऔषध कारोबार भइरहे पनि ब्युरोले छापा हान्ने र कारोबारी पक्रने गरिरहेको छ।
- स्थानीय प्रहरीको भूमिकाप्रति ‘अविश्वास’ का कारण लागुऔषध ब्युरो आफंै अग्रसर भएको हो ? भन्नेमा शंका पैदा भएका छन्।
- सीमावर्ती नाकामा प्रहरीको निगरानी बढी हुने भएकाले दुव्र्यसनीहरू कारोबार गर्नेको घरमै पुगेर लागुऔषध खरिद गरी सेवन गर्ने गर्छन्।
लुम्बिनी प्रदेशको तथ्यांकलाई हेर्दा पछिल्लो समय ब्राउन सुगर सेवन गर्नेको संख्या बढी देखिएको छ । सुरुमा ट्याब्लेट र सिरिञ्जबाट लागुऔषध लिनेहरू ब्राउन सुगरको लतसम्म पुग्ने गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय नवलपरासी र रूपन्देही जिल्लालाई ट्रान्जिट प्वाइन्ट बनाएर लागुऔषधको कारोबार गर्नेको संख्या बढेको छ ।
यी जिल्लामा लागुऔषध काराबोर बढिरहँदा लागुऔषध र कारोबारीलाई पक्राउ गर्न केन्द्र वा अन्य जिल्लामा रहेको ब्युरो टोली नै पुगेर बरामद गर्नुपर्ने अवस्थालाई स्थानीयले जिल्ला र मातहतको प्रहरी युनिटमाथि आशंका गर्न थालेका छन् । जिल्लामा त्यसरी लागुऔषध बरामद गर्न आउने ब्युरो टोलीले जिल्लास्थित प्रहरी कार्यालयलाई पूर्वसूचना दिएर आउने गरेका छैनन् । सम्बन्धित ठाउँमा पुगेपछि मात्र जिल्लाको प्रहरीसँग सहयोग माग्ने गर्छन् ।
लागुऔषध ब्युरोद्वारा बरामद गरिएका विभिन्न प्रकारका लागुऔषध ।
जिल्ला र मातहतका युनिटका प्रहरीकै मिलेमतो हुँदा उनीहरूले कारोबारीलाई भगाउन सक्ने आशंका गरेर ब्युरो टोली आउनु परेको एक प्रहरी अधिकृतले बताए । जिल्ला प्रहरी कार्यालयले विभिन्न गतिविधिमा निगरानी गर्न सादा पोसाकका प्रहरीलाई परिचालन गर्छ । उनीहरूलाई मुख्यतः लागुऔषध कारोबारसहित चोरी निकासी नियन्त्रण, राजनीतिक गतिविधि माथिको निगरानी र फरार अभियुक्तहरूलाई पक्राउ गर्ने कार्यमा खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अनुपम श्रेष्ठले बताए । जिल्लामा सादा पोसाकमा ४ देखि ५ जनालाई खटाइएको श्रेष्ठले बताए ।
सबै अप्रेसनमा नभए पनि केहीमा भने जिल्ला र युनिटका प्रहरीमाथिको मिलमतोको शंकालाई नकार्न नसकिने जिल्ला, प्रदेश र केन्द्रका प्रहरी अधिकारीहरू पनि स्विकार्छन् । लुम्बिनी प्रदेशका डीआईजी राजेन्द्रप्रसाद भट्ट भन्छन्, ‘लागुऔषध सम्बन्धीको विषय विज्ञ ब्युरो हुने भएकाले उनीहरूलाई त्यसबारे धेरै जानकारी हुन्छ, त्यसैले उनीहरूको आफ्नै सूचनाका आधारमा जिल्लामा आउने गर्छन् । जिल्ला र मातहतमा रहेका प्रहरीहरूलाई विश्वास नगरेर ब्युरोबाट आउने गरेको आशंका केही हदसम्म हुन पनि सक्ला ।’
लागुऔषध नियन्त्रण ब्युरो केन्द्रीय कार्यालयका प्रवक्ता एसपी जनकबहादुर शाही जिल्लामा हुने लागुऔषध नियन्त्रण सम्बन्धीका केही केन्द्र र केही ब्युरोबाट सञ्चालन हुने र जिल्लामा जाने ब्युरो टोलीले त्यहाँको प्रहरी टोलीलाई समन्वय गरेर जाने बताउँछन् । ‘युनिटहरूका प्रहरीलाई अविश्वास नै गरे भनेर अन्यथा नबुझौं । केही ठूला अप्रेसनलाई सफल बनाउन पनि ब्युरोको टोली जानुपर्ने हुन्छ,’ एसपी शाहीले भने ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी श्रेष्ठ केही अप्रेसनमा अविश्वासका कारण ब्युरोबाट टोली आउन सक्ने बताउँछन् । ‘लागुपदार्थ दुर्व्यसनी र कारोबारीहरूले कहाँबाट लागुपदार्थ ल्याउँछन् भन्नेबारे ब्युरो टोली बढी जानकार हुन्छ । त्यसैले केही केशमा उनीहरू आउने गरेका छन् । जिल्लाले पनि लागुऔषध बरामद गरेकै छ । ठूलो फौजमा सबै एकनास नहुने भएकाले एक/दुई जना आर्थिक प्रलोभनमा पनि पर्न सक्लान,’ एसपी श्रेष्ठले भने ।
स्थानीय प्रहरीले कारोबारीसँग मिलेमतो गर्ने आशंका
जिल्लामै आएर लागुऔषध बरामद गर्नुको कारणबारे ब्युरोबाट खटिएका एक जुनियर प्रहरी अधिकृतले भने, ‘हामीले विभिन्न सूचनामार्फत जिल्लामा लागुऔषध कारोबारीका बारेमा जानकारी पाउँछौं । उक्त सूचना जिल्लामा जानकारी गराउँदा केही प्रहरीहरू आर्थिक प्रलोभनमा परेका हुन सक्ने र कारोबारीलाई भगाउन सक्ने भएकाले ब्युरोको टोली नै पुग्नुपर्छ । त्यसबाहेक पनि स्थानीय प्रहरीलाई चिनेको हुन सक्ने र पक्राउ वा बरामद गर्न जाँदा कारोबारी भाग्न सक्ने भएकाले पनि ब्युरोबाट जानुपरेको बताउँदै ती अधिकृतले भने, ‘समग्रमा भन्दा जिल्लामा खटिएका प्रहरीहरूमाथि नै आशंका भएकै कारण ब्युरोबाट आउनु परेको हो ।’ त्यसरी कारोबारीहरूको सूचना पाएपछि उनीहरूलाई रंगेहात पक्राउ गर्न १/२ महिनासम्म पछ्याउनुपर्ने अवस्था हुने गरेको ती अधिकृतले बताए ।
लुम्बिनी प्रदेशमा भैरहवा र नेपालगञ्जमा लागुऔषध नियन्त्रणको ब्युरो युनिट छन् । यी युनिटहरूले सूचनाका आधारमा जिल्ला–जिल्ला पुगेर लागुऔषध नियन्त्रणको अप्रेसन चलाउने गरेको लागुऔषध नियन्त्रण ब्युरोका केन्द्रीय कार्यालयका प्रवक्ता एवं एसपी जनकबहादुर शाहीले अन्नपूर्णलाई जानकारी दिए । जसअनुसार चालु आर्थिक वर्षको हालसम्म लुम्बिनी प्रदेशमा १२० वटा लागुऔषध नियन्त्रण अप्रेसनबाट १७४ जना व्यक्ति पक्राउ परेर मुद्दा चलाइएको छ । अप्रेसनमध्ये भैरहवा ब्युरो टोलीले ५० वटा अप्रेसन गरेर ८५ जनालाई पक्राउ गरेको छ भने नेपालगञ्ज ब्युरोले ७९ वटा अप्रेसन गरेर ८९ जनालाई पक्राउ गरेको एसपी शाहीले बताए । बढी मुद्दा बाँकेमा, बढी बरामद रूपन्देहीबाट चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि चैतसम्मको ९ महिनामा लुम्बिनी प्रदेशमा ५१५ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका १२ जिल्लामध्ये चालु वर्षमा सबैभन्दा बढी बाँकेमा १६५ मुद्दा दर्ता भएका छन् । मुद्दा दर्ता बढी भए पनि लागुऔषध बरामद हुने तीन जिल्लाको तुलनामा बाँकेमा कम छ । सबैभन्दा बढी लागुऔषध बरामद हुने जिल्लामा रुपन्देही छ । त्यसैगरी दोस्रोमा कपिलवस्तु र तेस्रोमा नवलपरासी जिल्लामा सबैभन्दा बढी लागुऔषध बरामद गरिएको छ । मुद्दा दर्ता हुने दोस्रो जिल्लामा रुपन्देही र दाङ छन् । त्यहाँ ८४/८४ वटा मुद्दा दर्ता भएका छन् । कपिलवस्तुमा ४९ र नवलपरासीमा ३३ वटा मुद्दा दर्ता भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जनार्दन जिसीले जानकारी दिए । त्यसैगरी पाल्पामा ५, अर्घाखाँचीमा २, रुकुम पूर्व र रोल्पामा १/१ मुद्दा चलाइएको छ । प्युठान र गुल्मीमा भने लागुऔषधसम्बन्धीका कुनै पनि मुद्दा दर्ता नभएको प्रहरीले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
प्रदेशका जिल्लाहरूबाट सबैभन्दा बढी बरामद हुने लागुऔषधमा विभिन्न नामका २५ हजार ५२९ ट्याब्लेट छन् । त्यसैगरी गाँजा १ क्विन्टल ६५ केजी ३७५ ग्राम बरामद भएको छ । चरेस १ क्विन्टल ४४ केजी ९१६ ग्राम, अफिम ११ केजी १८० ग्राम र ब्राउन सुगर ५ केजी ९५८ ग्राम बरामद भएको छ । त्यस्तै धेरै मात्रामा सिरप, ट्याब्लेट, सिरिञ्ज, एप्पुललगायतका लागुऔषध विभिन्न जिल्लाहरूबाट बरामद भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 
बरामद भएका लागुऔषधमा सबैभन्दा बढी रूपन्देहीमा ९९ केजी ३७५ ग्राम गाँजा, २० केजी ७९ ग्राम चरेस र करिब १० ग्राम ब्राउन सुगर बरामद भएको छ । कपिलवस्तुबाट ४३ केजी ८५५ ग्राम गाँजा, १७ केजी २४५ ग्राम चरेश र २१९ ग्राम ब्राउन सुगर बरामद भएका छन् । नवलपरासीबाट १३ केजी ९२० ग्राम गाँजा र ४४६ ग्राम ब्राउन सुगर बरामद भएको छ ।
त्यस्तै सबैभन्दा बढी मुद्दा दर्ता भएको बाँकेमा भने २ केजी २५० ग्राम गाँजा, ४ केजी ४६४ ग्राम चरेस र करिब २३ ग्राम ब्राउन सुगर बरामद भएको छ । त्यस्तै बर्दियामा २ केजी २५० ग्राम गाँजा, ४ केजी ४६४ ग्राम चरेस र करिब २८ ग्राम ब्राउन सुगर बरामद भएको छ । यी जिल्लाबाट अन्य सिरप, ट्याब्लेट, सिरिञ्जलगायतका थुप्रै लागुऔषध बरामद भएका छन् । रुकुम पूर्वमा ५ केजी ८१८ ग्राम गाँजा मात्र बरामद भएको छ । दाङमा १ केजी ९१० ग्राम गाँजा, ९२ केजी ८४६ ग्राम चरेश, ८५ ग्राम ब्राउन सुगर र ११ केजी १८० ग्राम अफिम बरामद भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्युठान र गुल्मीमा भने कुनै पनि लागुऔषध बरामद भएका छैनन् ।
लागुऔषधले चोरीका घटना बढ्दै
लागुऔषधका कारण समाजमा चोरीका घटना बढ्दै गएका छन् । दुव्र्यसनीहरूले लागुऔषध सेवनका लागि पैसाको अभाव भएपछि आफ्नै घर, छिमेकमा समेत चोरी गर्ने गरेका छन् । लागुऔषधका कारण मोटरसाइकल चोरी पनि बढेको छ । चोरी कार्यमा संलग्न केही व्यक्तिहरू लागुऔषधको लतमा फसेकाहरू हुने गरेको प्रहरीले जनाएको छ ।
लागुऔषधका कारण चोरीका घटना घटे पनि जिल्लामा ठूलै अपराधका घटना नघटेको जिल्ला प्रहरी कार्यालयका एसपी श्रेष्ठले बताए । ‘ठूलै अपराधका घटना घटेका छैनन् । लागुऔषध सेवनका लागि पैसा नभएर समाजमा चोरी र केही मोटरसाइकल चोरीका घटना घट्ने गरेका छन्,’ एसपी श्रेष्ठले भने ।
टोल छिमेक नै आजित
दुर्व्यसनी र लागुऔषध कारोबारका कारण टोल र छिमेक नै आजित हुनु परेको स्थानीयको गुनासो छ । यसले आफ्ना सन्ततिहरू बिग्रने भयले स्थानीयहरू चिन्तित छन् । गाउँका केही व्यक्तिहरूले घरबाटै लागुऔषध बेच्ने गरेको र त्यसबारे स्थानीयले प्रहरीलाई पटक–पटक सूचना दिने गरेका छन् । तर, प्रहरीले प्रमाण अभावका कारण तत्कालै पक्राउ गर्न नसक्दा त्यस्तो कार्य बढेको स्थानीयको गुनासो छ । नवलपरासीमा सबैभन्दा बढी रामग्रामको पचगाँव र पाल्हिनन्दनको विस्नुपुरा, चमनटोलालगायतका ठाउँबाट कारोबारीहरूले लागुऔषध दुव्र्यसनीहरूलाई बिक्री गर्ने गरेको स्थानीयले बताएका छन् । ‘कहाँ–कहाँबाट मोटरसाइकल लिएर छिमेकीको घरमा आउँछन् ।
लागुऔषध लिएर जान्छन्,’ पचगावका एक स्थानीयले भने । लागुऔषध बिक्री गर्ने व्यक्तिका बारेमा गाउँलेलाई थाहा भए पनि त्रासका कारण प्रहरीलाई उजुरी गर्न नसक्दा अरु युवाहरू पनि बिग्रने भय बढेको उनको भनाई छ । ‘दिउँसो कम आउँछन् । रातको समयमा मोटरसाइकल लिएर आउनेको संख्या बढी छ,’ उनले भने ।
सीमावर्ती क्षेत्रको भारतीय बजार, ठूठूबारी, बर्गदवाबाट मोटरसाइकल र साइकलमा ल्याएर कारोबारीहरूलाई लागुऔषध पुर्याउने गरेका छन् । त्यसरी लागुऔषध ल्याउने अधिकांशले भारतीय मोटरसाइकल प्रयोग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
जिल्लाका केही गाउँका स्थानीयले लागुऔषध घरबाटै बिक्री गर्ने गरेको पाइएपछि निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयका एसपी श्रेष्ठले बताए । केहीको घरमै छापा मारेर लागुऔषध बरामद गरेको उनले उदाहरण दिँदै भने । सीमा क्षेत्रबाट हुने लागुऔषध ओसारपसार नियन्त्रणका लागि भारतीय प्रहरीसँग समन्वय गरेर काम गरिरहेको एसपी श्रेष्ठको भनाइ छ ।
राजेन्द्रप्रसाद भट्ट
डीआईजी, लुम्बिनी प्रदेश प्रहरी कार्यालय
ठूला अप्रेसन ब्युरोले गर्छ
लागुऔषध नियन्त्रणका लागि प्रहरी ब्युरोको स्पेशल टाक्सफोर्स नै हुन्छ । जिल्ला र युनिटमा रहेका प्रहरीलाई भन्दा उनीहरूलाई त्यससम्बन्धीको नेटवर्किङ थाहा हुन्छ । जिल्लामा आउने ब्युरो केन्द्रबाट सञ्चालन हुन्छ । कमाण्ड पनि उतैबाट हुन्छ । हाम्रो कमाण्ड हुँदैन । हामीले समन्वय गरेर रेखदेख मात्र गर्ने हो । लागुऔषधसम्बन्धीको विषय विज्ञ ब्युरो हुने भएकाले उनीहरूलाई त्यसबारे धेरै जानकारी हुन्छ त्यसैले उनीहरूको आफ्नै सूचनाका आधारमा जिल्लामा आउने गर्छन् ।
जिल्ला र मातहतमा रहेका प्रहरीहरूलाई विश्वास नगरेर ब्यूरोबाट आउने गरेको आशंका केही हदसम्म हुन पनि सक्ला तर, सबै केसमा त्यस्तो हुँदैन । मैले माथि नै भने उनीहरू त्यही विषमा विज्ञ हुने भएकाले ठूलाठूला अप्रेसनमा आउने गर्दछन् ।
जनकबहादुर शाही
प्रवक्ता/एसपी, लागुऔषध नियन्त्रण ब्युरो, केन्द्रीय कार्यालय
केही हदसम्म आशंका सही होला
सरकारले लागुऔषध नियन्त्रणका लागि विशेष ब्युरोको आवश्यकता भएरै स्थापना गरेको हो । आवश्यकता नभएको भए स्थापना नै हुने थिएन । जिल्लामा ब्युरो नजाने भए किन स्थापना हुन्थ्यो र ? त्यसैले विभिन्न जिल्लालाई हेर्नका लागि निश्चित ठाउँहरूमा ब्युरोका युनिटहरू छन् । हाम्रो उद्देश्य एउटै हो, कि अपराध नियन्त्रण । त्यसैले सानो–सानो केसमा जाँदैन । ठूलाठूला अप्रेसन चलाउन पर्यो भने जान्छ । जिल्लामा हुने लागुऔषध नियन्त्रण सम्बन्धीका केही काम यहीबाट पनि सञ्चालन गर्छौं । जिल्लाले पनि लागुऔषध बरामद गरेर थुप्रै मुद्दा चलाएको छ । जिल्लाको प्रहरीसँग तालमेल गरेर अप्रेसन चलाउँछौं । जिल्लामा जाने ब्युरो टोलीले त्यहाँको प्रहरी टोलीको कामलाई अविश्वास गरेर हस्तक्षेप गरेको भनेर अन्यथा बुझ्न भएन ।
अनुपम श्रेष्ठ
एसपी, जिल्ला प्रहरी कार्यालय, नवलपरासी
सूचना चुहाउन सक्ने आशंका नकार्न सकिन्न
ब्युरोमा काम गर्नेहरू स्पेसल लागुऔषध नियन्त्रणका लागि नै परिचालन हुने गर्छन् । उनीहरू त्यही विषयमा पोख्त छन्, हामी धेरै जानकार छैनौ । उनीहरूले एउटा अप्रेसन गर्न धेरै समय लगाएका हुन्छन् । त्यो कामलाई जिल्लामा रहेका अर्कै प्रहरीलाई सुम्पिदा समय लाग्ने, लोकेसन पत्ता लगाउन गाह्रो हुने र कारोबारीलाई समात्ने मिसन फेल हुने भएकाले उनीहरू आउने हुन् । फेरि लागुऔषध संवेदनशिल भएकाले केही केसमा उनीहरू सोझै आएर अप्रेसन गर्ने गरेका छन् ।
जिल्लाको टिमले अरू सपोर्टसहित अन्य सहयोग गछौं । जिल्ला र युनिटका प्रहरीहरू आर्थिक प्रलोभनमा परेर सूचना चुहाउने र कारोबारीलाई भगाउन सक्ने भन्ने आशंकालाई केही हदसम्म नर्कान सकिदैन । केही गलत मनसायका प्रहरीले त्यसो गरेका पनि होलान । समग्रमा सबै प्रहरी र केसमा त्यो लागू हुँदैन ।
प्रतिक्रिया दिनुहोस !