कोशी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
विराटनगर : कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ।
प्रदेशसभाको आइतबारको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव पेस गरेका थिए। सभामुख अम्बरबहादुर विष्टले ध्वनि मतका आधारमा बहुमतले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन्।
प्रदेश प्रमुख पर्शुराम खापुङले जेठ ५ गते प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रमले प्रदेशको दिगो विकास, वित्तीय सुशासन र प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रमले प्रदेश संरचनाको सुदृढीकरण र संघीय व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।
प्रदेश सरकारले दिगो विकास योजनामा भौतिक पूर्वाधार, कृषि, सूचना प्रविधि, ऊर्जा र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ।
नीति तथा कार्यक्रम पारित गर्नुअघि प्रदेश सांसदले उठाएका प्रश्नको मुख्यमन्त्री कार्कीले जवाफ दिएका छन्। उनले प्रदेश सरकारले दीर्घकालीन हितलाई समेटेर नीति तथा कार्यक्रम तयार गरेको बताए।
प्रतिक्रिया दिनुहोस !