कर्णालीवासीको रोजगारी : पहिले कालापहाड, अब खाडी
वीरेन्द्रनगर : कालीकोटको नरहरीनाथ गाउँपालिका–८ लालुका उमेश बिष्टको वैदेशिक रोजगारीमा जानु बाध्यता हो । सुखद र सुरक्षित भविष्यको सपना पूरा गर्ने एक मात्र विकल्प पनि वैदेशिक रोजगारी हो । उनी २०७३ साल साउनमा मलेसिया गए । मलेसिया जानुभन्दा पहिले भारत गएका थिए ।
तर, भारतको कमाईभन्दा राम्रो कमाई खाडीमुलुकमा हुने थाहा पाएपछि उनी आफ्नै निर्णयले मलेसिया गए । मलेसियामा झन्डै साढे तीन वर्ष बिताएर २०७६ असोजमा घर फर्किए । उनले मलेसियामा रहँदा झन्डै २० लाख कमाई गरे ।
भारतमा गएको भए उनले त्यसै अवधिमा ५ लाख कमाउन मुस्किल हुन्थ्यो । उनी भन्छन्, ‘मानिस पेट पाल्नका लागिभन्दा पनि राम्रो कमाई गर्न वैदेशिक रोजगारीमा जाने हो । हरेक मानिसका धेरै सपना हुन्छन् । ती सपना पूरा गर्ने एक माध्यम वैदेशिक रोजगारी भएको छ । पहिले गाउँका मानिस प्रायः कालापहाड नै रोजगारीका लागि जाने चलन थियो । अहिले बढी मानिसहरूको रोजाइ कालापहाडभन्दा अन्य देश बन्ने गरेका छन् ।’ यस्तै पचालझरना ८ का महेश शाही वैदेशिक रोजगार हरेक बेरोजगार युवाहरूको बाध्यता भएको बताउँछन् ।
उनले भने, ‘गाउँमा सिंहदरबार आयो । जनताको आँगनमा सरकार आए । तर, गाउँमा विकास, समृद्धि र रोजगारीका अवसरहरू आएनन् । स्थानीय सरकारले सडक निर्माणलाई प्राथमिकता दिने र डोजरलाई मात्र सडक निर्माणमा प्रयोग गर्ने गरियो । जसका कारण डोजरहरूले रोजगारी पाए । युवाहरूलाई नेताहरूले चुनावमा उपयोग गर्ने मात्र भए । युवाहरूलाई रोजगारी दिने र स्वरोजगार बनाउन कार्यक्रमभन्दा पनि स्थानीय सरकारले कहाँबाट बढी कमिसन उठाउन सकिन्छ भन्ने गलत धारणाका साथ विकास निर्माणका योजना बनाउन थाले । जसका कारण युवाहरू देश छाड्न बाध्य हुनुपर्ने अवस्था आइरहेको छ । यसलाई अबको नेतृत्वले सोच्नुपर्ने अवस्था छ ।’
वैदेशिक रोजगारी भारतमा मात्र सीमित थियो । नागरिक समाजका अगुवा छाया सुनारले भनिन्, ‘एक दशक पहिले कर्णालीका विकट बस्तीका मानिसलाई विदेश भनेकै भारत थियो । मानिस भारत जाँदा देश जाने भनेर भन्थे । तर, अहिले भारत बाहेकका बढी कमाई हुने देशहरूतिर जान थालेका छन् । जसबाट आफ्ना आवश्यकता पूरा गर्नुका साथै सन्तानको पढाइ र सम्पत्ति आर्जनमा वैदेशिक रोजगारीले निकै सहयोग पुगेको छ । पछिल्लो समय कतिपय परिवारलाई बिमारीको उपचार गर्न पनि वैदेशिक रोजगारीले सहज बनेको छ । उपचार गराउनै नसक्ने परिवारहरूले विगतमा रोग पालेर बस्नुपर्ने अवस्था थियो । अहिले त्यो निकै कम छ ।’
हरेक वर्ष बढ्दै छन् बिदेसिनेहरू
कर्णालीबाट बर्सेनि वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो अवस्थामा छ । चालु आर्थिक वर्षको फागुनसम्म कर्णालीबाट १२ हजार युवाहरू बिदेसिए । आर्थिक वर्ष २०८०/८१ मा मात्र कर्णालीबाट २४ हजार १ सय ७५ जनाले श्रमस्वीकृति लिएका छन् । जसमा १ हजार ८ सय ६६ जना महिला छन् । जिल्ला अनुसार सल्यानबाट ७ हजार ५३, सुर्खेतबाट ५ हजार ३ सय ९४, दैलेखबाट ३ हजार २ सय ३०, रुकुमपश्चिमबाट २ हजार ६ सय ४१, जाजरकोटबाट २ हजार ३ सय ९६, जुम्लाबाट ९ सय ५६, कालीकोटबाट ८ सय ९५, हुम्लाबाट ५ सय ६१, मुगुबाट ५ सय ३७ र डोल्पाबाट ५ सय १२ जनाले श्रमस्वीकृति लिएर बिदेसिएका छन् ।
यस्तै आर्थिक वर्ष २०७९/८० मा कर्णालीबाट जम्मा ३० हजार ३ सय ४३ जना विदेश गए । जसमा १ हजार ७ सय ८५ महिला छन् । आव २०७८/०७९ मा १९ हजार १ सय ६ जना विदेश गए । जसमा ५ हजार ९ सय ६६ जना महिला थिए । २०७५ साल माघ महिनामा कर्णाली प्रदेशमा नै श्रम तथा रोजगार कार्यालय स्थापना भए यता कर्णालीबाटै पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या बर्सेनि बढ्दै गइरहेको छ । यो कार्यालयबाट दोस्रो पटक वैदेशिक रोजगारीमा जानेहरूका लागि मात्रै श्रमस्वीकृति दिने गरिएको छ ।
पछिल्लो समय सहजताका लागि भनेर अनलाइनबाटै श्रमस्वीकृति लिने व्यवस्था मिलाइएको छ । बायोमेट्रिक नभएका व्यक्तिहरू बाहेक धेरैजसोले अनलाइनबाटै श्रमस्वीकृति लिने गरेका छन् । वैदेशिक रोजगारीमा जानेमा प्रायः सल्यान, सुर्खेत, दैलेख, जाजरकोटका छन् । यद्यपि पछिल्लो समय अनलाइनबाट श्रमस्वीकृति लिन थालेपछि बाँके, बर्दियाका जिल्लाका व्यक्तिहरूले पनि श्रमस्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा जानेहरू प्रायः खाडीमुलुक यूएई, साउदी अरब, दुबई, कतार, मलेसियामा जाने गरेका छन् । कोही जापान र बहराइन जस्ता मुलुकहरूमा पनि जाने गरेको छन् । तेस्रो मुलुकमा जाने महिला घरेलु कामदारका रूपमा जाने गरेका छन् भने पुरुषहरू विभिन्न कम्पनीमा काम गर्ने प्रयोजनका लागि जाने गरेको देखिन्छ । कर्णालीका ५५ प्रतिशत युवा रोजगारीका लागि भारत जाने गरेका छन् । अझ त्यसमध्ये पनि धेरैजसो काला पहाडतिर मौसमी रोजगारीका लागि जाने गर्छन् ।
रोजगारीका छैनन् अवसर
प्रदेश सरकारले संकलन गरेको तथ्यांकअनुसार कर्णालीमा २० हजारभन्दा बढी साना उद्योग छन् । जसमा ५९ हजार १ सय २५ जनाले रोजगारी पाएका छन् । यद्यपि कम पुँजीमा लगानी गरिएका साना उद्योगबाट पर्याप्त रोजगारीका अवसर सिर्जना हुन सकिरहेका छैनन् । प्रदेश सरकारले स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सञ्चालनमा ल्याएका मुख्यमन्त्री रोजगार र संघीय सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम उपलब्धिविहीन बनेका छन् ।
जसले गर्दा रोजगारीका लागि देश छोडेर बाहिर जानेहरूको संख्यामा कमी आउन सकेको छैन । कर्णालीमा ठूला लगानीका उद्योग व्यवसाय सञ्चालन नहुँदा पनि युवाहरूलाई रोजगारीका अवसरहरू सिर्जना हुन नसकिरहेको अवस्था छ ।
निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव बमले भने, ‘कर्णालीमा उद्योगधन्दा सञ्चालन नभएका कारण निर्माणका क्षेत्रमा पनि हामीले सास्ती भागिरहेका छौं । कर्णाली निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ सबै बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ । कर्णालीमा दक्ष जनशक्तिको पनि समस्या छ । सडक भवन तथा अन्य पूर्वाधारका कामहरूमा दक्ष जनशक्ति पनि बाहिरबाटै ल्याएर काम गरिरहेका छौं । सरकारले यहाँका युवाहरूलाई सीप सिकाउने र कर्णालीमा ठूला लगानीका उद्योगधन्दाहरू सञ्चालनका लागि ठोष कार्ययोजनाका साथ अगाडि बढ्नपर्छ । यति भएन भने कर्णाली बिस्तारै युवाविहीन हुने अवस्थामा छ ।’
शिक्षा विकास निर्देशनालयको तथ्यांकअनुसार प्रदेशका ६७ प्रतिशत बालबालिका कुनै न कुनै श्रम गर्न बाध्य छन् । न्यून आर्थिक अवस्थाको परिवारमा जन्मिएका बालबालिकालाई श्रम नगरी जीविकोपार्जनमै समस्या छ । धेरैजसो बालबालिकाले भारतका विभिन्न सहरका होटेल, रेष्टुराँदेखि सडक निर्माण योजनामा रोजगारी गर्ने गरेका छन् । गाउँमा विगतमा विद्यालय जाने बालबालिका पनि एसएलसी दिएपछि भारत जान्थे ।
पचालझरनाका स्थानीय कविराज न्यौपानेले भने, ‘पहिले राम्रो कपडा लगाउन र राम्रो मोबाइल किन्न कालापहाड जाने चलन थियो । अहिले छोराछोरीलाई सहरमा पढाउन र घरघरेडी जोड्न वैदेशिक रोजगारीमा जाने चलन छ । विगतका भन्दा अहिले युवाहरूका आवश्यकता र रोजगारीमा जाने देश दुवैमा निकै परिवर्तन आएको छ ।
गाउँमा कमाई गर्ने अवसरहरू छैनन् । जसका कारण युवाहरू १२ पास गर्ने बित्तिकै विदेशको बाटो लाग्ने गरेका छन् ।’ प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको श्रम तथा रोजगार शाखाले रोजगारसम्बन्धी गोष्ठी र तालिममा लाखौँ रकम खर्च गर्दै आएको छ । तर, त्यस्ता कार्यक्रमहरू युवाहरूलाई रोजगारीमा केन्द्रित गर्नेभन्दा पनि सरकारी बजेट खर्च गर्ने मै सीमित छ ।
भाषा र सीप नसिकी नै विदेश जान्छन् कर्णालीबाट वैदेशिक रोजगारीमा जाने अधिकांश युवाहरू भाषा र सीप नसिकेरै बिदेसिने गरेका छन् । जिल्ला प्रशासन कार्यालय सर्खेत हाताभित्रै सञ्चालनमा रहेको आप्रवासी स्रोत केन्द्रमा परामर्शदताताको काम गरिरहेकी सीता वलीले भनिन्, ‘हामीले सुरक्षित आप्रवासन कार्यक्रममार्फत प्रशासन कार्यालयमा पासपोर्ट बनाउन आएका सबै युवालाई सूचना र परामर्श दिने काम गरिरहेका छौं । जसमा हामीले मनोसामाजिक परामर्श, वित्तीय साक्षरताका साथै समस्यामा परेकाहरूको न्यायमा पहुँच पु¥याउन काम गरिरहेका छौँ । तर परामर्श गरिरहँदा प्रशासनबाट पासपोर्ट बनाउने अधिकांश युवाहरूमा भाषा र सीप बिनानै वैदेशिक रोजगारीमा जान लागेको बताउँछन् । कतिपय महिला घरेलु कामदारमा खाडी जान लागेको कुरा बिस्तारै खोल्छन् । भक्कानिन्छन् । सरकारले खाडी मुलुकमा घरेलु कामदारमा महिलालाई नजान भने पनि आफूहरू बाध्यताले जान थालेको उनीहरू सुनाउँछन् ।’
वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने उद्देश्यसहित सञ्चालन गरिएको आप्रबासी स्रोत केन्द्र गत फागुन ४ गतेबाट सञ्चालनमा आएको हो । वलीका अनुसार उक्त केन्द्र सञ्चालन भएको तीन महिनामा १ हजार ५ सय ४१ जनालाई सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श दिइएको छ । आगामी दिनमा बढीभन्दा बढी वैदेशिक रोजगारीमा जान लागेका नागरिकलाई सुरक्षित वैदेशिक रोजगारीका विषयमा जानकारी दिने लक्ष्य छ ।
सुरक्षित आप्रवासन कार्यक्रमका कार्यक्रम अधिकृत कमल रोकायाले कर्णालीमा बैदेशिक रोजगारीमा पठाउन म्यानपावर कम्पनीहरू सञ्चालन नभए पनि एजेन्टहरू भने सक्रिय रहेको बताए । उनले भने, ‘कर्णालीमा वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीहरू सञ्चालनमा छैनन् । तर, काठमाडौंका कम्पनीहरूका एजेन्ट भने जिल्ला जिल्लामा परिचालित छन् । जसबाट कतिपय दर्ता नभएका कम्पनीका एजेन्टबाट विदेश जानेहरूले दुःख पाइरहेको अवस्था छ । जसले भारतको बाटो भएर बिभिन्न खाडीमुलुक पठाइरहेका छन् । यसलाई न्यूनीकरण गर्न हामीले सचेतना जगाउने काम गरिरहेका छौं ।’
उनका अनुसार सुरक्षित आप्रवासन कार्यक्रममार्फत नेपाली आप्रवासी कामदार र तीनका परिवारहरूलाई राज्यको संयन्त्रबाट संरक्षण गरी सुरक्षित तथा मर्यादित वातावरणका साथ लाभान्वित गर्ने कार्य भइरहेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक हेर्ने हो भने कर्णालीबाट वैदेशिक रोजगारमा गएका मानिस कति त देश फर्किनै नपाएको अवस्था छ ।
कर्णालीबाट विदेश गएकाहरू विगत पाँच वर्षको अवधिमा २ सय १८ जनाको मृत्यु भयो । जसअनुसार आर्थिक वर्ष २०८१/०८२ मा २२, आव २०८०/०८१ मा ६१, आव २०७९/०८० मा ६०, आव २०७८/०७९ मा ५१ र आव २०७७/०७८ मा २४ जनाले वैदेशिक रोजगारीमा गएकै अवस्थामा ज्यान गुमाए । यस्तै ती पाँच आर्थिक वर्षमा नै ७९ जना बिरामी तथा अंगभंग भए । मुलुकको जनशक्तिलाई अन्तर्राष्ट्रिय बजारको मागअनुरूप ज्ञान र सीप प्रदान गरी दक्ष, क्षमतावान, सीपयुक्त र प्रतिस्पर्धी श्रमशक्तिको रूपमा उत्पादन गरी वैदेशिक रोजगारमा उनीहरूको प्रवेशलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारले नसकिरहेको अवस्थालाई पुष्टि गर्छ । नेपालको संविधान, २०७२ को धारा ५१ को खण्ड (झ) को (५) र (६) मा वैदेशिक रोजगारलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकार प्रत्याभूति गर्न यस क्षेत्रको नियमन र व्यवस्थापन गर्ने तथा वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने नीति राज्यले लिएको छ । तर, त्यसअनुसार कार्यान्वयनको अवस्था कमजोर हुँदा मानिस असुरक्षित वैदेशिक रोजगारी गर्न बाध्य हुनु परेको छ ।
मुलुक संघीय संरचनाअनुसार सञ्चालन भए पनि यहाँका स्थानीय र प्रदेश तहले पनि वैदेशिक रोजगारमा जान चाहने नागरिकलाई यससम्बन्धी तालिम दिने, स्थानीय तहमा सूचना केन्द्र स्थापना गर्ने र अनुभवसहित फर्किएर आएका कामदारको उपयोग गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेमा कर्णालीका कुनै पनि स्थानीय सरकारले तत्परता देखाएका छैनन् । तर, वीरेन्द्रनगर नगरपालिकाले भने वैदेशिक रोजगारीमा जानेहरूका लागि परामर्श गर्न आप्रवासी स्रोत केन्द्र सञ्चालनमा ल्याएको छ ।
विदेश जान पासपोर्ट बनाउन प्रशासनमा आएका युवालाई आप्रवासी स्रोत केन्द्रमा परामर्श गरिँदै । तस्बिर :बिस्नप्रसाद न्यौपाने
यो नेपालका १३ वटा नमुना आप्रवासी स्रोत केन्द्रहरूमा छनोटमा पनि परेको छ । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले वैदेशिक रोजगारीमा जाने नागरिकहरूलाई समस्यामा पर्नबाट जोगाउन नगरपालिकाले प्रशासन कार्यालयमै आप्रवासी स्रोत केन्द्र स्थापना गरी परामर्शको कार्य थालनी गरिएको बताइन् । उनले भनिन्, ‘हामीले वैदेशिक रोजगारीमा जाने युवाहरू जो प्रशासनमा पासपोर्ट बनाउन आउनु हुन्छ, उहाँहरूलाई आप्रवासी स्रोत केन्द्रमा राखेर नगरपालिकाले खटाएको सहजकर्ताबाट काउन्सिलिङ गर्ने, जनचेतना फैलाउने, वैदेशिक रोजगारमा जानेहरूका लागि कहाँ जाने, त्यसबारे के जानकारी छ ? के सीप छ ? त्यहाँ जाँदा कस्तो समस्या पर्न सक्छ ? डकुमेन्ट के बनाउनुभएको छ ? जस्ता कुराहरूका बारेमा प्रश्न गरेर आवश्यक सहयोग समन्वय गरिदिन्छौं । यसले वैदेशिक रोजगारीमा गएर ठगिन र अप्ठ्यारो पर्नबाट धेरैलाई जोगाएको छ ।’
वैदेशिक रोजगारीमा जाँदा केमा ध्यान दिने ?
ग्रामीण समुदायमा युवाहरूलाई वैदेशिक रोजगारीका विषयमा पर्याप्त जानकारी नभए पनि एजेन्टले भनेकै आधारमा विदेश जान तयार हुँदा धरै दुःख पाइन सक्छ । सुरक्षित आप्रवासन कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत कमल रोकायाले भने, ‘केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका बारेमा, पाउने तलवका बारेमा राम्ररी जानी बुझी मात्र जानुपर्दछ । लाग्ने खर्च, प्राप्त हुने आम्दानीका बारेमा तुलना गरी लाभ हुने काममा मात्र जानुपर्छ । यस्तो कुरामा प्रायः मानिसले ध्यान दिएको देखिँदैन । जसले भविश्यमा अप्ठ्यारो अवस्थामा पु¥याएका धेरै उदाहरणहरू छन् ।’
उनका अनुसार घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जाने, वैदेशिक रोजगार बिभागवाट श्रमस्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जाने, वैदेशिक रोजगारमा जाँदा अनिवार्य बिमालगायतका सामाजिक सुरक्षामा सहभागी हुने, दर्ता भएको विश्वासिलो र भरपर्दो मेनपावर कम्पनीमार्फत मात्र जाने, विदेश जानकै लागि जानीजानी गलत कागजात बनाई नजाने, विदेश जानका लागि दिएको पैसा बैंकिङ सेवामार्फत बुझाएपछि बेहोरा खुलाई भरपाई लिने, कति खर्च लाग्छ राम्ररी बुभ्mने, कुनै एजेन्ट वा कम्पनीले भरपाई दिन आनाकानी गरेमा ठगिकै नियत भएको बुझ्ने, स्वदेशी विमानस्थलवाट मात्र जाने, आफू जाने देशको भौगोलिक स्थिति, हावापानी रहन, सहन, धर्म, कानुन, काम गर्ने वातावरण आदि बारेमा सामान्य जानकारी लिएर मात्र जाने, यसका लागि पूर्व प्रस्थान अभिमुखीकरण तालिम अनिवार्य रूपमा लिने, रोजगारमा जाँदा आवश्यक सबै कागजातहरूको एक/एकप्रति आफू र परिवारको साथमा राखेर जानुपर्छ ।
श्रमस्वीकृति कसरी लिने ?
विदेशमा काम गर्न जानका लागि नागरिकलाई सरकारले प्रदान गर्ने अनुमति नै श्रमस्वीकृति हो । संस्थागत र व्यक्तिगत प्रक्रियाबाट श्रमस्वीकृति जारी गर्ने कानुनी प्रावधान रहेको छ । संस्थागत प्रक्रियाको अवलम्बन गरी वैदेशिक रोजगारीमा जाँदा इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले नै आवश्यक प्रक्रिया अगाडि बढाउने गर्छन् ।
नेपाली कूटनीतिक नियोगबाट मागपत्र प्रमाणीकरण गरी वैदेशिक रोजगार कार्यालयबाट पूर्वस्वीकृति लिने, विज्ञापन गरी व्यक्ति छनोट गर्ने र श्रम स्वीकृतिका लागि अनलाइन फारम भरिदिने लगायतका काम म्यानपावर कम्पनीले गर्छन् । सरकारले तोकेको अभिमुखीकरण संस्थामा दुई दिनको अभिमुखीकरण, स्वास्थ्य परीक्षण, बीमा र वैदेशिक रोजगार कल्याणकारी कोषमा बुझाउने रकम तथा अनलाइन फाराम भर्न पनि म्यानपावर कम्पनीले नै सहजीकरण गर्छन् ।
व्यक्तिगत प्रक्रियाबाट जाँदा व्यक्ति आफैंले नै प्रक्रिया अगाडि बढाउनुपर्छ । नयाँ व्यक्तिगत श्रमस्वीकृतिका लागि भिसा, करार सम्झौतालगायत कागजात प्राप्त भएपछि अभिमुखीकरण संस्थामा दुई दिनको अभिमुखीकरण र तोकिएको मेडिकल संस्थामा स्वास्थ्य परीक्षण गर्नुपर्छ । त्यसपछि श्रमस्वीकृतिका लागि अनलाइन फारम भर्नुपर्छ । अनलाइनमा अपलोड गर्नुपर्ने कागजातहरू पासपोर्ट, भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षण उत्तीर्ण प्रमाणपत्र, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र, सीपमूलक रोजगारमा जान सीप सिकेको प्रमाणपत्र, स्वघोषणा फाराम, अनलाइनबाटै म्यादी जीवन बीमा र कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण छन् । रोजगारदाता कम्पनी वा स्पोन्सरको आधिकारिक इमेलबाट भिसा, करार वा सम्झौतापत्र स्क्यान गरी सम्बन्धित व्यक्ति र कार्यालयको इमेलमा आउनुपर्छ ।
मानिस पेट पाल्नका लागि भन्दा पनि राम्रो कमाई गर्न वैदेशिक रोजगारीमा जाने हो । हरेक मानिसका धेरै सपना हुन्छन् । ती सपना पूरा गर्ने एक माध्यम वैदेशिक रोजगारी भएको छ । पहिले गाउँका मानिस रोजगारीका लागि प्रायः कालापहाड नै जाने चलन थियो । अहिले मानिसको रोजाइ कालापहाड भन्दा अन्य देश बन्ने गरेका छन् ।
उमेश बिष्ट, स्थानीय युवा, वैदेशिक रोजगारीबाट फर्केकावैदेशिक रोजगारीमा जाने नागरिकलाई समस्यामा पर्नबाट जोगाउन नगरपालिकाले प्रशासन कार्यालयमै आप्रवासी स्रोत केन्द्र स्थापना गरी परामर्शको कार्य थालनी गरेको छ । उहाँहरूलाई आप्रवासी स्रोत केन्द्रमा राखेर नगरपालिकाले खटाएको सहजकर्ताबाट काउन्सिलिङ गर्ने, जनचेतना फैलाउने, वैदेशिक रोजगारमा जानेहरूका लागि कहाँ जाने, त्यसबारे के जानकारी छ ?
मोहनमाया ढकाल, प्रमुख, वीरेन्द्रनगर नगरपालिकाहामीले सुरक्षित आप्रवासन कार्यक्रममार्फत प्रशासन कार्यालयमा पासपोर्ट बनाउन आएका सबै युवालाई सूचना र परामर्श दिने काम गरिरहेका छौं । जसमा हामीले मानोसामाजिक परामर्श, वित्तीय साक्षरताका साथै समस्यामा परेकाहरूको न्यायमा पहुँच पु¥याउन काम गरेका छौं । परामर्श गरिरहँदा प्रशासनबाट पासपोर्ट बनाउने अधिकांश युवाहरूमा भाषा र सीप बिनानै वैबिदेसिन्छन् ।
सीता वली, परामर्शदाता, आप्रवासी श्रोत केन्द्र, सुर्खेत
किन बिदेसिन्छन् युवा ?
हरेक वर्ष श्रम बजारमा आउने जनशक्तिका लागि रोजगारी तथा आयमूलक कामको अवसर सिर्जना गर्नु राष्ट्रका लागि एक प्रमुख चुनौती बन्दै गएको छ । मुलुकभित्र यस्ता अवसर सीमित भएको र आर्थिक उन्नति सोचेअनुरूप हुन नसकेका कारण ठूलो संख्यामा नेपाली युवा विभिन्न गन्तव्य मुलुकमा रोजगारीका लागि जाने गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयका पूर्वडिन तथा नागरिक समाजका अगुवा पिताम्बर ढकालले भने, ‘अहिले कर्णालीमा पनि रोजगारका लागि विदेश जाने संस्कार निकै बढेको छ । अध्ययनका लागि भनेर विभिन्न मुलुक जाने युवा पनि आफ्नो ठाउँ फर्किएर भनेको जस्तो रोजगारी प्राप्त गर्न वा आय आर्जन गर्न सकिँदैन भन्ने मानसिकताका कारण उतै पलायन हुने गरेका छन् ।’
लामो समयसम्म मुलुकमा द्वन्द्व र राजनीतिक अस्थिरता भयो । तत्कालीन द्वन्द्वको मारमा कर्णाली पनि अछुतो रहेन । अझ तत्कालीन माओवादीले सुरु गरेको १० वर्षे सशस्त्र द्वन्द्वका बेला कर्णालीमा विद्यालय पनि प्रभावित भए । जति बेला यहाँको अधिकांश बालबालिका अध्ययनको अवसरबाट पनि बञ्चित भए । बुर्जुवा शिक्षा पढ्न हुँदैन भनेर माओवादीले थालेको अभियानले गाउँका धेरै बालबालिकाले विद्यालय नै छाडे । जसका कारण राम्रो पढेर रोजगारी गर्ने अवसरबाट पनि युवा जनशक्ति बञ्चित भयो ।
यसबाहेक आफ्नो ठाँउमा लगानी गरेर आयआर्जन गर्न सकिन्छ भन्ने विश्वासको वातावरण नहुनु, समाजमा श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास नहुनु, न्यून ज्याला वा बेतन र महँगो जीवनशैली, गरिबीबाट मुक्त हुन छिटो धन कमाउने लालसा बढ्दै जानु, कृषि पेसाप्रतिको आकर्षण घट्दै जानु, विश्वव्यापीकरणको प्रभाव, अन्तर्राष्ट्रिय श्रमबजारमा नेपाली कामदारको माग बढ्नु, विदेशबाट फर्केकाहरूको जीवनस्तर र आर्थिक उन्नतिले अन्य मानिसमा विदेशप्रति मोह बढ्नु, निजी क्षेत्रहरूको उल्लेखनीय विकास र रोजगारी सिर्जनामा संलग्नता कम, प्रविधिमा आएको तीव्र विकासले वैदेशिक जानकारी र आकर्षण वृद्धि हुनु जस्ता कारण पनि यहाँका युवाहरू बिदेसिन थालेको ढकाल बताउँछन् ।
विकासको राम्रो सम्भावना हुँदाहुँदै पनि रोजगारीको अवसरमा कमी भएकाले कामका लागि वैदेशिक रोजगारीमा जानु नेपालीको बाध्यता हो । बेरोजगारीमा कमी ल्याउन र गरिबी घटाउन सहयोग पु¥याएकाले वैदेशिक रोजगारीलाई तत्काल रोजगारीको वैकल्पिक माध्यमको रूपमा लिए पनि यसलाई क्रमशः घटाउँदै लगेर मुलुकभित्रै युवा जनशक्तिको उपयोग गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ । समाजसेवी युवा जगतजंग विष्टले भने, ‘मुलुकले श्रम सम्झौता गरी कामदार पठाएका मुलुकमा नेपाली कामदार ठगिने, शोषणमा पर्ने स्थिति समाप्त गर्दै वैदेशिक रोजगारीमा गुणात्मकता बढाउनुपर्छ । मुलुकमै काम गरेर खाने अवस्था र सबै कामको सम्मान गर्ने धारणा जनमानसमा विकास गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस !