सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई अभियानका रूपमा सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्ने बताएका छन्।
बहत्तरौं अन्तर्राष्ट्रिय सगरमाथा दिवस र विश्व शिखर आरोही सम्मेलनमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथा क्षेत्रमा देखिएको फोहोरमैलाको समस्या समाधानका लागि विद्यमान कानुनी व्यवस्थामा परिमार्जन गर्ने प्रक्रियामा सरकार रहेको पनि जानकारी गराए। प्रधानमन्त्री ओलीले सगरमाथामा जसले फोहर गर्छ, उसैले सफा गर्नुपर्ने नियम बनाउनुपर्ने बताउँदै त्यसका लागि राष्ट्रियसभामा विधेयक दर्ता भइसकेकाले सरोकार भएका पक्षबाट त्यसलाई अझ परिस्कृत बनाउन सुझाव आउने अपेक्षा व्यक्त गरे।
प्रधानमन्त्री ओलीले सगरमाथालाई सुन्दर र सुरक्षित राख्नुपर्नेमा जोड दिँदै शेर्पाहरूले माथि लगिदिइहाल्छन् भने जसले पनि आरोहण गर्ने खालको सोचेर सगरमाथा आरोहणलाई त्यति हल्का पनि बनाउन नहुने बताए। उनले लागुऔषध खाएर सगरमाथा चढ्ने भन्ने कुरा पनि आफूले सुनेकाले त्यस्तो खेलबाड नगर्न आग्रह पनि गरे।
प्रतिक्रिया दिनुहोस !