समृद्धिका लागि ६४ सिद्ध ज्योतिर्लिंग

मठमन्दिर

समृद्धिका लागि ६४ सिद्ध ज्योतिर्लिंग

महाभारत पर्वत शृंखलामा ऋक्षवान् पर्वतबाट झरेकी रेविका नदी भद्रमूल पर्वतबाट झरेकी रेतोवती नदी हुन्, सँगै छन्। पाण्डुक एक त्रिकालदर्शी ऋषिका नामबाट पाण्ढुकेश्वर शिवलिंगको स्थापना भएको हो।

नेपालका प्राचीन चारधाम रुरुक्षेत्र, मुक्तिक्षेत्र, पशुपतिक्षेत्र र बराहक्षेत्र हो । यहाँ असंख्य सिद्ध पीठहरू छन् । भारतमा द्वादश ज्योतिर्लिंग र चारधाम, तीन धाम भन्दै हामी बाहिरिन्छौं । आफैं प्रकट भएका हाम्रै ज्योतिर्लिंगहरूको दर्शनमै हामी पुग्न सकिरहेका हुन्नौं ।

६४ ज्योतिर्लिंगमा पहिलो हो, सिन्धुलीको कुशेश्वर र अन्तिम ६४औं हो पशुपतिको रुद्रगारेश्वर । यसबारे स्कन्दपुराण, हिमवत् खण्डमा विस्तृत चर्चा छ । यसमा पनि केही विकट रहेको मकवानपुरमा रहेका ५४ ज्योतिर्लिंगको संक्षिप्त चर्चा यसमा हुनेछ । अति कठिन मानिएको मकवानपुर, ठिंगन, बागमतीमाथि रहेको नटारम्भेश्वर शिवलिंग हो । लठ्ठीको सहाराले दुई होम्स्टे पार गर्दै हाम्रो एक समूहले एक महिनाअघि मात्रै जंगलैजंगल र धारिलो महाभारतको शिखरमा रहेको सो ज्योतिर्लिंगको दर्शन पूरा गरेको हो ।

दोस्रो कठिन यात्रा ललितपुरको कालेश्वर गोटीखेलको हो, जसलाई वैतरणीधाम पनि भनिन्छ र गएको असोजको बाढीले यो क्षेत्रलाई ध्वस्त पारेको छ । पहिले त्यहाँदेखि हिँडेर जानुपर्ने कालेश्वरक्षेत्र केही मुनिसम्म अचेल रिजर्भ गरिएका सवारीसाधन जान्छन् । मकवानपुरमा पाँच सिद्ध ज्योतिर्लिंग रहेकामा चित्लाङ र टिस्टुङ आसपासका चम्पेश्वर, उन्मत्तेश्वर र नन्दीकेश्वरको यात्रा, दर्शन हाम्रो समूहले केही महिनाअघि नै पूरा गरेको थियो । यसै हप्ता यसैक्षेत्र तर विकटमा रहेको कुटेश्वर सिद्धलिंगको दर्शन पूरा गरेको छ । थानकोट नौबिसे हुँदै पुरानो त्रिभुवन राजपथ, सात घुम्ती हुँदै हामी पालुङ पुग्यौं ।

कुटेश्वरसम्मको बाटो अनुमान गर्न पालुङ प्रहरी चौकीको सहायता लियौं । चौकीका प्रमुख, सविन अर्यालले कुटेश्वर शिवलिंग रहेको क्षेत्र थाहा नगरपालिका–७ का वडाध्यक्षलाई फोन गरे । अर्यालजी र अध्यक्ष शिवराज थिङको सल्लाहअनुसार हामी पालुङ बजारबाट पश्चिमतिर लाग्यौं । दुई बाटा रहेछन्, छोटो बाटो जाँदा बाटैमा डोजर अड्किएको र हाम्रो बस फर्किएर लामो दूरीको यात्रातिर लाग्यो । कच्ची साइड रोड धेरै भएकाले धेरै अल्मलियौं र लखतरान भई वार्ड नं ७ को आसपास पुग्यौं तर पनि नेटवर्कको कठिनाइले फोन सम्पर्क नहुँदा पनि नगरपालिका ७ परिसरमा पुग्यौं ।

प्रतीक्षामा रहेछन् मित्र शिवराजजी र उनकै कार्यालय केही तल रहेको कुटेश्वर शिवलिंगको दर्शन गर्न सक्यौं । मन्दिरमा गर्नुपर्ने काम धेरै रहेछ, बाटो पनि निकै असहज, पूर्वाधारको कमी देखियो । पुराणमा उल्लेखित हाम्रो देशमा अनेकानेक यस्ता सिद्ध र शक्तिपीठहरू छन् तर सबैले सबैतिर एकपल्ट पनि पुग्न सकेका हुन्नौं हामी । अघि ने मुनिले विरूपाक्षको मातृगमनको पाप कटाउन नेपालमा रहेका ६४ ज्योतिर्लिंगको दर्शन, यात्रा, पूजा, सत्सङ गराएका थिए । गुम्बज शैलीमा रहेको छानो, इँटको गारो, एक मात्र ढोका रहेको सो मन्दिरमा कालो शिला छ र त्यही शिला शिवलिंग हो । धादिङको महादेव बेसीबाट पनि उकाली लाग्दै रिजर्व गाडीहरू जान सक्छन् अहिले तर बाटो सहज छैन । गण्डक पर्वतबाट बगेकी गण्डवती नदी र पश्चिम श्वेत पर्वतबाट बगेकी श्वेतका नदीको संगम चित्रकुट पर्वत र गालव तीर्थ क्षेत्र हो यो । विश्वामित्र पुत्र गालवले शिवका तपबाट स्थापना गरेको क्षेत्र हो यो ।

अति प्राचीन इतिहास बोकेको यो क्षेत्रमा धेरै काम हुन बाँकी देखियो, वडाध्यक्षले पनि पूर्वाधारको कमी स्विकारे । बागमती प्रदेश हेटौंडाका संस्कृतिमन्त्री विमल ठकुरीलाई त्यहाँको समस्याबारे टेलिफोनमा जानकारी गरायौं । ‘प्रपोजल’ आउँदा यथाशक्य मन्दिर संरक्षणबारे चासो दिने बताए उनले । वडाध्यक्ष शिवजीले तीर्थयात्रीका लागि ठूलो स्नेह र मायाको वर्षा नै गराए । त्यसपछि पालुङको पाण्डुकेश्वर शिवलिंगका लागि तयार रह्यौं । त्यहाँको दर्शनपछि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हमालजी र पुजारी बिडारीसँग कुराकानी ग¥यौं । अन्यत्रको तुलनामा त्यहाँ केही व्यवस्थित पनि देखियो । साविक पालुङ गाउँ हाल थाहा नगरपालिका महादेव खोलानजिकै रहेको मन्दिरमा ढलौटको गजुर छ । पहेलो छाना, तीनतले मन्दिरको चारैतिर ढोका, मुकुटले छोपिएको शिवलिंग रहेछ । रेविका नदी र रेतोवती नदीका बीचमा रहेको यो मन्दिरमा विशेष पर्वहरूमा खचाखच भीड हुँदोरहेछ । महाभारत पर्वत शृंखलामा ऋक्षवान् पर्वतबाट झरेकी रेविका नदी भद्रमूल पर्वतबाट झरेकी रेतोवती नदी हुन्, सँगै छन् । पाण्डुक एक त्रिकालदर्शी ऋषिका नामबाट पाण्ढुकेश्वर शिवलिंगको स्थापना भएको हो ।

पाण्डुकेश्वर शिव मन्दिरको दर्शन, रुद्राभिषेकपछि निकै ढिलो तर अग्रिम अर्डर गरिएको खाना खायौं । बिहानै प्रहरी चौकीमा गई अर्यालजीलाई धन्यवाद दियौं र साँझ पर्न लागेकाले अर्को शिवलिंग गोखुरेश्वर कुन्छाल गाउँका बारे जानकारी लियौं । उनले अर्का प्रहरी साथीबाट सबै जानकारी लिई हामीलाई हाम्रो गाडीसँगै बाइकमा जान भने । अर्का प्रहरी मित्र गोविन्द मगरातीले गोखुरेश्वर शिवलिंगको दर्शन गराउन सहयोग गरे । केही पैदल जानुपर्ने भयो । टिस्टुङ, कुन्छाल कार्कीछाप गाउँ खोलाकै नजिक सानो छाप्रो छ, भित्र पस्न असहज पनि छ । वरिपरि सिस्नोले पोल्यो हामीलाई । ढलान भएको छत्रे शैलीको सिमेन्टको गजुर भएको शिव मन्दिर रहेछ, आकारले सबैभन्दा गरिब मन्दिर स्पष्ट हुन्छ । बाटोको मुनि, नदीका किनारमा, भित्र उभिन नमिल्ने खालको, जसोतसो गोखुरेश्वरको दर्शन गरेपछि प्रहरी मित्रलाई धन्यवाद दिई त्यहीँबाट हामी चित्लाङ भएर मातातीर्थ झर्ने प्रयासमा रह्यौं ।

बजार पुगेर कुलेखानी बाटो छोडी चित्लाङ हुँदै थानकोट झर्ने तरखरमा साह्रै असहज बाटो, कच्ची र ढुंगा झर्दै गरेको, पिच गर्न पैसाको अभाव भनिएको र यसअघि धेरैपल्ट दर्जनौं मान्छे र आफन्तलाई नै निलिसकेको त्यो बाटो सास फुलाउँदै रातमा चित्लाङको ओरालो सक्यौं । मातातीर्थ झरेपछि मुटुले अलि राम्रो र लामो सास फेर्न थालेको थियो । कति पूर्वाधार डरमर्दा छन्, उतिखेरै पग्लन्छन्, बाढी र पहिरोको जोखिम छ । तथापि हाम्रो यात्रा सम्पन्न र राम्रो भइआएको छ अहिलेसम्म । ६४ ज्योतिर्लिंगको यात्राको क्रम करिब तीन वर्षमा अब तुरुन्तै सकिने क्रममा छ । अबको यात्रा ललितपुर भारदेउको गुप्तेश्वकर, काठमाडौंको वाग्द्वार माथिको शिवपुरी शतरुद्रेश्वर र त्यसपछि रुद्रगारेश्वर पशुपतिमा लक्ष्यवर्तिकासहित यात्राको पूर्णाहुती हुनेछ ।

पंक्तिकारले १० जिल्लाका ६४ ज्योतिर्लिंगको यात्रा रुट, यसको महत्त्व र सबैजसो विषयवस्तु आमसञ्चारबाट प्रस्तुत गरिसकेको छ । १० जिल्ला अर्थात् सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, भक्तपुर, ललितपुर, मकवानपुर, धादिङ, रसुवा, नुवाकोट र काठमाडौंका विभिन्न स्थानमा ६४ सिद्ध ज्योतिर्लिंग छन्, जसको दर्शन गर्नाले हामीलाई सुख, समृद्धि, दीर्घायु भई रोगहरण हुने र वाक्सिद्धि भई मनोरथ पूर्ति हुने शास्त्रीय मान्यता छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.