यातायात सेवामा मुढेबल

यातायात सेवामा मुढेबल

पहिले बैंकमा लाग्ने लामो लाइन अहिले घटेको छ । किनकि उपभोक्ताले मोबाइल एपबाटै बैंकिङ कारोबार गर्छन् । विद्युत् महसुल तिर्नेहरूको लाइन छोटिएको छ । प्रविधिको प्रयोगबाटै ग्राहकले पैसा तिर्छन् । पसलेको सन्दुसमा पनि पैसाको चाङ घटेको छ । ग्राहकले डिजिटल भुक्तानी गर्छन् । 

आमजनता बिहान आँखा मिच्दै ब्युँझिएदेखि राति ननिँदाएसम्म मोबाइल खेलाउँछन् । सूचना प्रविधिको विकासले परम्परागत आमसञ्चारका माध्यम हायलकायल छन् । प्रविधिको द्रुतता यति तीव्र छ कि हामी बाहिर निस्कन जुत्ता लगाउने तर्खर गर्दागर्दै प्रविधिले विश्व परिक्रमा गरेर फर्किसकेको हुन्छ । 

यातायातको क्षेत्रमा पनि प्रविधिको प्रवेश भइसकेको छ । यति बुझ्दाबुझ्दै, जान्दाजान्दै अहिले प्रविधिमैत्री यातायातलाई जबरजस्त छेकथुन गर्ने प्रयास भइरहेको छ । प्रविधिमैत्री यातायात सेवा प्रवेशमा रोक लगाउन बिगत चारदिनदेखि सडकमा लाठीमुङ्ग्री चलिरहेको छ । मुढेबलको लज्जाजनक मूर्खता प्रदर्शन भइरहेको छ । यातायातमा प्रविधिको प्रवेश रोक्न मुढे बल गर्नेहरूले यो बुझ्नु जरुरी छ कि, प्रविधिको मुख कति दिन थुन्न सकिन्छ ? प्रविधिको विकास तिघ्राको बलले कम गर्न सकिन्छ ? अनि प्रविधिलाई बलिया पाँसुलाले तह लगाउँछु भनेर सोच्नु मूर्खता सिवाय के हुन सक्छ ? एकाध गाडीका सिसा फुटाएर, केही आफूजस्तै यातायात मजदुर, केही यात्रुमाथि हातपात गरेर प्रविधिको विकास रोकिन्छ ? चर्को गालीगलौजले प्रविधिको विकासमा कति दिन ब्रेक लाग्छ ? 

नेपालको संविधानको भाग ३ (मौलिक हक र कर्तव्य)को धारा १७ (च) मा नेपालको कुनै पनि भागमा पेसा, रोजगार गर्ने, उद्योग व्यापार तथा व्यवसायको स्थापना सञ्चालन गर्ने स्वतन्त्रताको व्यवस्था छ । संविधान प्रदत्त स्वतन्त्रताको हक प्रयोग गर्दै नेपालका कतिपय भूभागमा राइड सेयरिङ (बोलीचालीको भाषामा ‘पठाओ’) सञ्चालन भइरहेका छन् । समयको माग पनि हो यो । तर ऐन, नियमावलीमा उल्लेख नहुँदा उनीहरू दर्ता हुन पाएका छैनन् । साना, ठूला सहरमा, ग्रामीण सडकमा विधिहीन रूपमा प्रशस्त चलिरहेका छन् । राज्यले उनीहरूलाई व्यवस्थित गर्न ऐन तथा नियमावली बनाउने प्रयास गरेको छ । व्यवसाय गर्नेबाट राजस्व संकलन गर्ने नीति अवलम्बन गरेको छ । 

प्रविधि (मोबाइल एप) को प्रयोग गरी सवारीसाधन प्रयोग गर्ने विश्वभरको अभ्यास हो । यहीँ छिमेकी भारतमा उवरलगायतका प्रविधिमैत्री सवारीसाधनको प्रयोग छ । विश्वका जुनकुनै देशमा मोबाइल एपको प्रयोग गरी निवासमै यातायातका साधन बोलाएर यात्रा गर्ने व्यवस्था छ । 
काठमाडौंमा यसको प्रचलन भएको धेरै वर्ष भइसकेको छ । अरू सहरतिर पनि यसको माग हुनु स्वाभाविक हो । पोखरा सहरले पनि अपनाउने तयारी गरेको छ । यसअघि पनि यसको अभ्यास नभएको होइन, तर प्रदेश सरकारले यसलाई विधिवत् बनाउने प्रयास गरेको छ । 

गण्डकी प्रदेश सरकारले गत जेठ २ गते ‘गण्डकी प्रदेश राइड सेयरिङ (नियम र व्यवस्थापन) नियमावली’ जारी गरेको छ । त्यसलाई राजपत्रमा प्रकाशित गरेपछि सार्वजनिक यातायात सेवा दिइरहेका व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । सो नियमावली फिर्ताको एकहप्ते अल्टिमेटमपछि उनीहरू गत शुक्रबारदेखि आन्दोलनमा उत्रिएका हुन् । सुरुमा उनीहरूले १७ गते सोमबारसम्म गण्डकी प्रदेशमा मात्र सार्वजनिक यातायात सेवा बन्द गर्ने र यदि त्यतिबेलासम्म सरकारले पुनर्विचार गरेन भने सातै प्रदेश (देशैभर) सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका छन् । सार्वजनिक यातायात सञ्चालन गर्ने विभिन्न समितिहरूले आइतबार विज्ञप्ति जारी गरी सोमबारदेखि देशभर सार्वजनिक यातायात अवरुद्ध गर्ने जनाएका छन् । 

चार दिनको अवधिसम्म आइपुग्दा रातो प्लेटका सवारीसाधनसमेत रोकेर चेकजाँच गर्ने गरेका छन् । जरुरी काम लिएर गन्तव्य हिँडेकाहरू अलपत्र छन् । यात्रुवाहक सवारीसाधन मात्र होइन, मालवाहक सवारीसाधन पनि अहिले ठप्प छ । विकास निर्माणका कामले तीव्र गति लिइरहेका बेला कामदार (मजदुर) एउटा साइटबाट अर्को साइट जान पाएका छैनन् । भाडाका ट्रकहरूले निर्माण सामग्री ढुवानी गर्न पाएका छैनन् । 

सार्वजनिक यातायात (पब्लिक ट्रान्सपोर्टेसन) भन्नाले सर्वसाधारण जनताका लागि उपलब्ध साझा यात्रुवाहक यातायात सेवा प्रणालीलाई बुझाउँछ । निजी यातायात (जस्तैः व्यक्तिगत कार) भन्दा फरक, सार्वजनिक यातायात सामान्यतया स्थापित मार्ग र समय तालिकामा सञ्चालन हुन्छन् । यात्रुहरूले सेवाका लागि भाडा तिर्छन् । त्यसैले सार्वजनिक सवारीसाधनमा निजीमाझै व्यक्ति (साधनधनी)को मनमौजी चल्दैन । सामाजिक जवाफदेहिता हुन्छ । 
तर नेपालको यातायात क्षेत्रमा सधंै दादागिरी चल्छ । कसैले सार्वजनिक यातायात सेवामा आबद्ध भएर स्वरोजगार वा रोजगार हुन चाह्यो भने यातायात व्यवसायीले नै रोकतोक गर्छन् । कि उसले सिन्डिकेट लादिरहेको समितिलाई लाखौं भुक्तानी गर्नुपर्छ । 

यही विसंगति तोड्न यसअघिको सरकारले समिति खारेज ग¥यो । त्यो बेला सरकार बलियो थियो र समिति खारेज जस्तो कदम चाल्न सफल भयो । तर समिति खारेज भए पनि कम्पनीको नाममा सिन्डिकेटको साम्राज्य छ । हामीले मात्र सार्वजनिक यातायात सेवा सञ्चालन गर्न पाउनुपर्छ, अरूले पाउनु हुँदैन भन्नेजस्ता लज्जास्पद नौटंकी गरिरहेका छन् । 

गुणस्तरीय सेवा नसक्ने, अरू सेवा प्रदायकको प्रवेश रोक्ने, यात्रुमैत्री सेवा दिन नसक्ने, सुपथ, सर्वसुलभ सेवा दिन नचाहने सार्वजनिक यातायात समितिहरूको आम नागरिकले आलोचना, विरोध गरिरहेका छन् । जनपक्षीय र वैध पनि नभएको लज्जास्पद एजेन्डा लिएर अहिले सडकमा यात्रुलाई सास्ती दिने काम भइरहेको छ । सरकारले बलियो खुट्टा टेक्ने हो भने यस्ता एजेन्डा सफल हुन सक्दैन ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.