ठेकेदारबीच लेनदेन विवाद, ३३ करोडको योजना अलपत्र
अछाम : सघन सहरी विकास तथा भवन निर्माण कार्यालय राजपुर डोटीअन्तर्गत साँफेबगर नगरपालिकामा १२ वटा योजना कार्यान्वयनमा छन् । तर, ९ महिनादेखि सबै आयोजनाको काम अलपत्र छ । गत असोज महिनायता भवनदेखि सडक निर्माणको काम ठप्प छ ।
सघन सहरी विकास कार्यक्रमअन्तर्गत एयरर्पोट बजार सडक कालोपत्रे, छिपेखोला सडक कालोपत्रे, नगर प्रमुख तथा उपप्रमुख आवास निर्माण, सरमखेल्ने पार्क निर्माण, बयालपाटा पार्क निर्माण, वैद्यनाथ धाम सडक मर्मत, ठाँटी बजार भित्री सडक निर्माण, तारेकुना कम्प्लेक्स भवन, घुघुरकोट वडा कार्यालयदेखि दरबार जाने सडक निर्माण योजना छन् । यस्तै, हाटबजार खोला व्यवस्थापन, पुलबजार सडक कालोपत्रे, लामाखेत डोप्का नाली निर्माण गरी विभिन्न शीर्षकमा निर्माण योजनाहरू छुट्याइएका छन् ।
सघन सहरी कार्यक्रमको एउटै प्याकेजमा दर्जनौं कामको जिम्मा पाएकोे निर्माण कम्पनी सिनर्जी/ध्रुवतारा जेभी र पेटी ठेकेदार कम्पनी लाङटाङ कन्स्ट्रक्सन प्रालिबीच आर्थिक लेनदेनमा किचलो हुँदा निर्माणको काम ठप्प भएको हो । ८ वटा योजना निर्माणको काम सुस्त गतिमा अघि बढेको भए पनि वैद्यनाथ धाम सडक, ठाँटी बजार भित्री सडक, लामाखेत डोप्का नाली र हाटबजार खोला व्यवस्थापन निर्माणको काम विभिन्न कारण भने हालसम्म सुरु हुन सकेको छैन ।
साँफेबगर क्षेत्रको मुख्य ठाउँहरूमा निर्माणाधीन सडकका कारण स्थानीयले सास्ती भोग्नु परेको साँफेबगर नगरपालिका ४ का वडाध्यक्ष नवराज बुढाले बताए । एयरर्पोट बजारमा निमार्णाधीन सडकका कारण स्थानीयले धान रोप्ने समयमा सास्ती भोग्नु परेको गुनासो सुनाउन दिनहँु जस्तो वडा कार्यालय पुग्ने गरेको वडाध्यक्ष बुढाले बताए । उनले भने, ‘अहिले धमाधम रोपाइँ सुरु भएको छ । सडकमा हालिएका रोडाहरू वर्षाको पानीले बगाएर सबै खेतमा लग्ने गरेको छ यसको क्षतिपूर्ति चाहियो भन्दै स्थानीय वडा कार्यालय पुग्छन् । ठेकेदारहरू फोन उठाउँदैनन् । बनाउने नाममा बिगार्ने काम भइरहेको छ ।’
सहरी विकास तथा भवन निर्माण कार्यालय राजपुर डोटीसँग २०८१ कार्तिक १५ मा ६ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी भ्याटसहित ३३ करोड ६१ लाख २१ हजारमा ठेक्का सम्झौता गरेको सिनर्जी÷धु्रवतारा जेभी निर्माण कम्पनीले काम गर्न लाङटाङ कन्स्ट्रक्सन प्रालिलाई जिम्मा दिएको थियो । पेटीमा काम गरिरहेका लाङटाङ कन्स्ट्रक्सन प्रा.लि. का प्रतिनिधि सन्तोष गुरुङले आफूले काम गरेअनुसारको भुक्तानी नपाउँदा मर्कामा परेको बताए । उनले भने, ‘आपूmले पाउनुपर्ने बाँकी एक करोड ७४ लाख हालसम्म पाएको छैन, पैसा नपाएपछि कसरी काम गर्ने, कामदारलाई पैसा दिनसकेको छैन । पैसा नदिएपछि अनि कसरी काम अगाडि बढ्छ ।’ सिनर्जी÷धु्रवतारा जेभी निर्माण कम्पनीले सो योजनाको बिल उठाएर करिब १४ करोड ६४ लाख बराबरको भुक्तानी लिएर अन्य योजनाको काममा प्रयोग गरेको आरोप उनको छ ।
लाङटाङ कन्स्ट्रक्सन प्रालिका अर्का प्रतिनिधि प्रदीप खड्काका अनुसार ५१ प्रतिशत काम सम्पन्न भएको तर अहिलेसम्म ४ करोड १० लाख मात्र रकम पाएको बताए । बाँकी एक करोड ७४ लाख जति रहेको उनले बताए । मुख्य ठेकेदारका कारणले निर्माण कार्यमा समस्या भइरहेको खड्काको भनाइ छ । नगर प्रमुख तथा उपप्रमुख आवास र तारेकुना कम्प्लेक्स भवनको काम भने निरन्तर जारी रहेको बाँकी सडकको काम ठप्प रहेको खड्काले बताए ।
सहरी विकास तथा भवन कार्यालय डोटीले पनि ठेकेदारको चरम लापरबाही भएको बताएको छ । निर्माण कम्पनीलाई काममा ढिलासुस्ती किन भइरहेको छ भन्दा विभिन्न बहाना देखाई एक वर्ष म्याद थपका लागि चिठी पठाएको सहरी विकास तथा भवन निर्माण कार्यालय डोटीका आयोजना प्रमुख राम आशिष दासले बताए । उनले भने, ‘हामीले चिठ्ठी स्वीकृतका लागि विभागमा पठाइएको छौं, स्वीकृत हुन्छ या हँुदैन त्यो विभागले गर्ने कुरा हो । विभागबाट एक वर्ष हुँदैन, ६ महिना मात्र म्याद थपको कुरा भइरहेको छ ।
मुख्य ठेकेदार र पेटी ठेकेदार एक ठाउँमा बसेर कुराकानी नगर्दा समस्या भइरहेको छ ।’ कार्यालयबाट काम अनुसारको दसैंअगावै रकम भुक्तानी भइसकेको आयोजना प्रमुख दासले बताए । दासका अनुसार पेटी ठेकेदारले पैसा नपाएको गुनासो छ र मुख्य ठेकेदारले काम गरे भन्दा बढी पैसा दिएको दाबी गर्छन् । वर्षायाम सुरु भएको र त्यसपछि दसैं–तिहार काम नै नहुने भएकाले कारबाहीभन्दा अर्काे विकल्प नरहेको दासले बताए ।
ठेक्का स्वीकृत भएको निर्माण कम्पनी सिनर्जी÷धु्रवतारा जेभीका प्रतिनिधि धुव्र कुँवरले लाङटाङ कन्स्ट्रक्सन प्रालिलाई भुक्तानी दिएको दाबी गरे । उनले भने, ‘सघन सहरीबाट १४ करोड ६४ लाख भुक्तानी लिएको हो । लाङटाङ कन्स्ट्रक्सनलाई पनि भुक्तानी दिएका छौं । अहिले ठेकेदार आफैं सम्पर्कमा छैन । भागेर हिँडेको छ ।’ बजेट अभाव र अन्य थुपै्र कारणहरूले गर्दा काम रोकिएकाले अब काम सुरु हुने उनले बताए ।
सघन सहरीअन्तर्गत ग्रामीण बस्तीमा आधुनिक सहरी सुविधा विस्तार गरी सघन र सुविधा सम्पन्न बस्तीमा रूपान्तरणसँंगै आर्थिक तथा सामाजिक सम्बन्ध स्थापित गर्ने, बढ्दो जनसंख्या र बसाइँसराइका कारणले नेपालमा बढ्दै गएको अव्यवस्थित सहरीकरणलाई व्यवस्थित बनाई स्वच्छ, हराभरा र बस्न लायक सहर निर्माण गर्ने उद्देश्यले सरकारले ल्याएको नीति तथा कार्यक्रमको काम अलपत्र छन् ।
प्रतिक्रिया दिनुहोस !