माधव नेपाललाई गगन थापाले भने– अदालतमाथि विश्वास गरौँ
विराटनगर : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अदालतलाई विश्वास गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले अदालतमाथि विश्वास गर्न अध्यक्ष नेपाललाई आग्रह गरे।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेर अदालतमा अभियोजन गरेको छ। अब अदालतमाथि विश्वास गरौँ। अदालतले कुनैपनि निर्दोषमाथि अन्याय हुन दिँदैन। कोही दोषी छ भने अदालतले त्यही अनुसार आफ्नो फैसला सुनाउँछ भन्ने विश्वास गरौँ,’ उनले भने ।
महामन्त्री थापाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नु उपयुक्त नहुने बताए। भिजिट भिसा प्रकरणको अनुसन्धान अख्तियारबाट सुरु भएको बताउँदै उनले अनुसन्धान गर्न दिनुपर्ने उल्लेख गरे। उनले भने,‘अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न दिऊँ। अनुसन्धान टुंगिएपछि यो प्रकरणको सन्दर्भमा थुप्रै काम गर्नुपर्ने छ।’
महामन्त्री थापाले अख्तियारको अनुसन्धानलाई कतैबाट प्रभावित पार्न नहुने बताए।
प्रतिक्रिया दिनुहोस !