पाँचजना जेलमा

इरानमा १८ नेपाली, परराष्ट्र मन्त्रालय भन्छ-सबै सुरक्षित छन्

इरानमा १८ नेपाली, परराष्ट्र मन्त्रालय भन्छ-सबै सुरक्षित छन्

काठमाडौं : इजरायल र इरानबीच द्वन्द्व चर्किदै गएपछि त्यहाँ बसेका नेपालीहरूको सुरक्षाको विषयलाई लिएर परराष्ट्र मन्त्रालयले चासो देखाएको छ। परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरू सुरक्षित रहेको बताएको छ।

मन्त्रालयले इजरायल -इरानबीचको द्वन्द्व र त्यसले त्यहाँ रहेका नेपालीहरूलाई पार्नसक्ने संभावित समस्यालाई नजिकबाट नियाली रहेको जनाएको छ। इरानमा नेपालीहरू कति संख्यामा छन् भन्ने एकिन छैन। तर, १८ जनासम्म नेपालीहरू रहेको तथ्यांक छ। तीमध्ये ३ जना त्यहाँस्थित भारतीय दूतावासमा,दुईजना संयुक्त राष्ट्र संघको कार्यालयमा, आठजना विभिन्न कार्यालयमा र बाँकी पाँचजना जेलमा रहेको स्रोतले बताएको छ। 

उनीहरू त्यहाँ कसरी पुगे भन्ने कुरा खुलेको छैन। उनीहरू इरानमा रहेका विभिन्न मुलुकका विदेशी दूतावासमा कार्यालय सहयोगी, सुरक्षा गार्डलगायतका रुपमा काम गर्दै आएको दोहास्थित नेपाली दूतावासका एक अधिकारीले अन्नपूर्णसँग बताए। ती अधिकारीका अनुसार इरानमा रहेका सबै नेपाली अहिलेसम्म सुरक्षित छन्। 

कतारको दोहामा रहेको नेपाली दूतावास इरानमा रहेका नेपालीहरूको सम्पर्कमा छ। उनीहरूलाई  कुनै समस्या परेमा दूतावासका अधिकारीको नाम र सम्पर्कमा नम्बर उपलब्ध गराइएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको बताए। उनले अन्नपूर्णसँग भने,' नेपाल सरकारले त्यहाँ विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियाली रहेको छ।  आवश्यक परेमा त्यहाँ रहेका नेपालीहरूको जीवन रक्षाका लागि नेपाल सरकारले उपयुक्त कदम चाल्छ।'

इरानको आणविक तथा सैन्य संरचनालाई कमजोर बनाउने उद्देश्यले इजरायलले गरेको ठूलो आक्रमणपछि इजरायल र इरानबिच लगातार भीषण हवाई आक्रमण भइरहेका छन्।  इजरायली अपरेसनको लक्ष्य इरानलाई आणविक बम विकास गर्नबाट रोक्नु रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले जनाएका छन्। प्रधानमन्त्री नेतान्याहूले इजरायलको अस्तित्वका लागि इरानी खतरालाई पन्छाउन सैन्य अपरेसन ‘राइजिङ लायन’ सुरु गरेको जनाएका हुन्। दशकौंदेखि, तेहरानका आतंककारीहरूले इजरायलको विनाशका लागि खुलेआम आह्वान गर्दै आएका,आणविक हतियार विकास गर्ने कार्यक्रमका साथ उनीहरूले आफ्नो नरसंहारको बयानबाजीलाई समर्थन गरेका, हालैका वर्षहरूमा उनीहरूले ९ वटा आणविक बम बनाउन पर्याप्त युरेनियम जम्मा गरेका लगायतका कारणले गर्दा  आफूले उक्त अपरेसन सुरू गरेको उनले जनाएका छन्। 

त्यसैगरी इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानले नागरिक बस्तीहरूमा मिसाइल प्रहार गरेर रातो रेखा पार गरेको र यसका लागि उनीहरूले धेरै ठूलो मूल्य चुकाउनुपर्ने जनाएका छन्।

यसैबीच,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीचको द्वन्द्वको आणविक सम्झौताका लागि वार्तालाई गति दिन आवश्यक रहेको बताएका छन्।  इजरायल-इरान द्वन्द्वको बिचमा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको राजधानी तेहरानलाई तुरून्तै खाली गर्न सल्लाह समेत दिएका छन्।

इजरायल - इरानबिच द्वन्द्व बढ्दै गएपछि त्यहाँ रहेका विदेशी दूतावासले आफ्ना नागरिकहरूलाई सुरक्षित स्थान एवं आ-आफ्नो देश फर्किन आग्रह गरेका छन्। इजरायल - इरानबिचको द्वन्द्वका कारण ज्यान गुमाउनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.