सिन्धुपाल्चोक प्रशासनलाई चीनले भन्यो– भोटेकोशी नदीमा बाढी आउन सक्छ, सतर्कता अपनाउनु
सिन्धुपाल्चोक : तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने भन्दै भोटेकोशी नदी क्षेत्रमा सुरक्षित रहन चीनले सिन्धुपाल्चोक प्रशासनलाई सतर्क गराएको छ। असार ७ गतेसम्म अत्यधिक वर्षा हुने र बाढी आउन सक्ने सम्भावना रहेको भन्दै चिनियाँ प्रहरीले सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको हो।
चिनियाँ प्रहरीले जानकारी गराएपछि प्रशासन कार्यालयले त्यस क्षेत्रमा बस्ने स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले बुधबार सूचना जारी गर्दै भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीद्वारा जारी सूचनामा भनिएको छ, ‘असार ३ गतेदेखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरूमा सतर्कता अपनाउन अनुरोध छ ।’
प्रशासनले स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालाहरूसँग समन्वय गरेर नदी किनार तथा जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सचेत गराउन निर्देशनसमेत दिएको छ।
यसैबीच लगातारको अविरल वर्षासँगै भोटेकोशी गाउँपालिका– २ अन्तर्गत पर्ने लिपिङ बजारमा पहिरो जाँदा तीन घरमा क्षति पुगेको छ। पहिरोका कारण स्थानीय पदम श्रेष्ठ, फुलमाया तामाङ र सुनिता श्रेष्ठको घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ।
प्रहरीले सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्र वरिपरिका घरधनीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस !