बीपी राजमार्ग पुनर्निर्माणको बल्ल सुरसार, बर्खामा के होला ?

बीपी राजमार्ग पुनर्निर्माणको बल्ल सुरसार, बर्खामा के होला ?

सिन्धुली : बर्दिवास–सिन्धुली–बनेपा (बीपी राजमार्ग) सडकको निर्माणसँगै सिन्धुलीलगायत मध्यपहाडी जिल्लाको विकासको ढोका खुलेको थियो।

सडकले ती जिल्लाहरूमा सहज यातायात पहुँचसँगै कृषि, अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, रोजगारका साथै जीवनस्तरमा समेत परिवर्तनको आभास गराउँदै थियो। विकासका दृष्टिले वर्षौंदेखि पछि परेका महोत्तरी, सिन्धुली, रामेछाप, ओखलढुंगा, उदयपुर, सोलुखुम्बुलगायत मध्येपहाडी जिल्लाको विकासका सम्भावनाको उदय भएको थियोे। राजमार्गका कारण भारत र चीनसँगको व्यापारलाई सहज बनाउनेदेखि सामान्य वर्गको जीवनस्तर उकास्नसमेत मद्दत गरेको थियो। जापानी सहयोग नियोग (जाइका) को सहयोगमा सन् १९९६ बाट निर्माण सुरु गरिएको बीपी राजमार्ग झन्डै २० वर्षपछि २५ अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएका थियो।

तर, निर्माण सम्पन्न भएको एक दशक पनि नबित्दै गत असोज ११ र १२ गते रोशी र सुनकोशी नदीमा आएको बाढीले बीपी राजमार्गलाई तहसनहस बनायो। रोशी र कोशीले बीपी राजमार्गमात्र बगाएन सयौं मानिसको सपना पनि सँगै बग्यो। असोजको बाढी पहिरोले नेपालथोकदेखि चौकीडाँडा खण्डको करिब १२ किमि सडकमा क्षति पु‍र्‍याउँदा झन्डै दुई सातासम्म सडक सम्पर्क टुटेको थियो। त्यसबेला हजारौं यात्रुहरू कैयौं दिनसम्म सडकमै अलपत्र परेका थिए। बिरामी बोकेर काठमाडौं हिँडेका एम्बुलेन्सहरूबीच सडकमै रोकिँदा तीनजना बिरामीको एम्बुलेन्समै मृत्यु भएको थियो। सयौं घरबारबिहिन भए। कैयौंलाई हेलिकप्टमार्फत उद्धार गरिएको थियो। बीपी राजमार्ग बगेको ९ महिना पूरा भइसक्यो। तर, त्यसको पुनर्निर्माणमा राज्य पक्षले उचित पहल लिन सकेको छैन। फेरि मनसुन सक्रिय हुँदा गत वर्षकै नियति भोग्नुपर्ने हो कि भन्ने त्रास एकातर्फ स्थानीयलाई छ भने, अर्कातर्फ बीपी राजमार्ग कतिबेला ठप्प हुने हो भन्न सकिने अवस्था छैन।

भगवान् पुकार्दै यात्रा गर्दै
सिन्धुली बसपार्कमा भेटिएका कमलामाई नगरपालिका–५ का रामजी काफ्ले पानी नपरोस् भन्दै भगवानको पुकार गर्दै थिए। भाइको उपचारका लागि काठमाडौं पुग्नैपर्ने बाध्यतामा रहेका काफ्लेलाई पानी परे बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग अवरुद्ध होला भन्ने चिन्ता थियो। त्यसैकारण भगवान् पुकार्नुको विकल्प उनीसँग थिएन।

‘यात्रा नगरौं भने पनि नगरी भा’ छैन, यात्रा गरौं पानी पर्नासाथ रोशीमा आउने बाढीपहिरोले अस्थायी डाइभर्सन नै बगाएर सडक सम्पर्क टुट्ने हो कि भन्ने चिन्ता लाग्छ,’ काफ्लेले भने, ‘कति बेला आफैं बाढीपहिरोको जोखिममा परिने हो थाहा छैन त्यसैले आज (आइतबार) दिनभर पानी नपरे काठमाडौं पुग्न पाइन्थ्यो।’  मनसुन सक्रिय भएसँगै काफ्ले जस्तै बीपी राजमार्ग भएर संघीय राजधानी काठमाडौं आउजाउ गर्ने यात्रु र सवारी चालकहरूलाई रोशी र सुनकोशी बाढीको चिन्ताले सताउने गरेको छ। 

गत असोज ११ र १२ गते रोशी र सुनकोशी नदीमा आएको बाढीपहिरोले क्षति पुर्‍याएको बीपी राजमार्गअन्तर्गत नेपालथोक–भकुण्डेबेंसी सडक खण्डको पुनर्निर्माण हुन नसक्दा यो बर्खामा यात्रुहरू जोखिम बेहोरेरै यात्रा गर्नुपर्ने बाध्यतामा छन्।
गत असोजको बाढीपहिरोले सिन्धुलीको नेपालथोकदेखि काभ्रेको चौकीडाँडा खण्डको करिब १२ किमी सडकमा क्षति पु‍र्‍याएको थियो। बाढीले क्षति पुर्‍याएको महिनापछि रोशीलाई तर्काएर अस्थायी डाइभर्सनमार्फत जसोतसो यातायात सञ्चान हुँदै आएको छ। उक्त अस्थायी डाइभर्सनसमेत रोशीमा बाढी आयोकी सधैं अवरुद्ध हुने गरेको छ। विपत् गएको नौ महिना बित्दासमेत राजमार्गको पुनर्निर्माणको काम सुरु हुन सकेको छैन। समयमा राजमार्ग पुनर्निर्माण नहुँदा यसपालि बर्खाभरि नै डरैडरमा बीपी राजमार्गको यात्रा गर्नुपर्ने बाध्यता आएको सुनकोशी गाउँपालिकाका–१ नेपालथोकका महेश्वर कोइरालाको गुनासो छ।

‘अझ मनसुन सक्रिय हुँदा बीपी राजमार्गको यात्रा थप जोखिमपूर्ण हुन्छ। वैशाखकै बाढीले डाइभर्सन बगाएर क्षति भइसकेको छ, कोइरालाले भने, ‘ठूलो वर्षा भएमा अस्थायी डाइभर्सन भत्किने, ठाउँठाउँमा पहिरो खस्ने, बाढी आउने सम्भावना भएकाले कतिबेला धनजनको क्षति हुने हो भन्ने टुंगो छैन।’ 

बीपी राजमार्ग हुँदै पूर्वी नेपाल तथा मध्य तराईका जिल्लाका साथै सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, ओखलढुंगालगायत जिल्लाका सवारीसाधन आवतजावत गर्छन्। बीपी राजमार्गमा यसअघि दैनिक १० हजार साना ठूला सवारी सञ्चालन हुन्थे। गत असोजको बाढीपहिरोपछि यो संख्या चार हजारमा झरेको छ। बीपी राजमार्गको नेपालथोकदेखि काभ्रेको भकुण्डेबेंसीसम्म दर्जनौं स्थानमा जोखिम छ। घ्याम्पे खोलामा ६ वर्षअघिदेखि निर्माण थालिएको पुल अझै सम्पन्न नहुँदा सानो पानी पर्दा पनि डाइभर्सन अवरुद्ध हुन्छ। माम्ती खोलाको सास्ती हरेक वर्ष बेहोर्दै आएका छन्। सरकारले समयमै पुनर्निर्माणमा ध्यान नदिएकाले जोखिम झनै बढेको यातायात व्यवसायी झमकबहादुर थापाको बुझाइ छ। राजमार्गमा यात्रा गर्नुअघि यात्रु स्वयं र सवारी चालकले मनसुन र राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्दा राम्रो हुने उनको सुझाव छ। 

राजमार्गको अस्थायी डाइभर्सन नै प्रभावकारी नहुँदा दैनिकजसो दुर्घटना हुने गरेको छ उकालो, चिप्लो र धुलाम्मे सडकका कारण दैनिकजसो दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ। समयमा राजमार्ग पुनर्निर्माण नहँुदा बीपी राजमार्गलाई नै लक्षित गरेर सञ्चालन गरिएका होटल, रेस्टुरेन्टदेखि विद्युतीय चार्जिङ स्टेसनसम्म प्रभावित भएका छन्। करोडौं रुपैयाँ लगानी गरेर सुरु गरिएको व्यवसायमा प्रतिकूल असर परेको व्यवसायीहरूको गुनासो छ। 

लाखौं रुपैयाँ लगानी गरेर विद्युतीय चार्जर स्टेसनसहित होटल व्यवसाय थालेका गोलन्जोर ५ खनियाखर्कका व्यवसायी नेत्रविक्रम थापा बीपी राजमार्गमा भएको क्षतिले सबै लगानी डुब्ने अवस्थामा पुगेको दुःखेसो पोख्छन्। राजमार्गमा सञ्चालन हुने विद्युतीय सवारीलाई लक्षित गरी चार्जरसहितको व्यवसाय सुरु गरेकै वर्ष बाढी र पहिरोले क्षति भएपछि अहिले सामान्य मात्र सवारी सञ्चालन हुँदा खर्च धान्ने मुस्कीले परेको छ,’ उनले भने, ‘समयमा नै राजमार्गको पुनर्निर्माण भए यात्रु, यातायात व्यवसायी र हामी जस्ता व्यवसायीले समेत राहत पाउने थियौं।’ 

सांसदहरूकै आक्रोश
सरकारले क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणमा उचित ध्यान नदिएको भन्दै सत्तारुढ दल र प्रतिपक्षी दलका सांसदहरूले नै आक्रोश पोखेका छन्। 
रामेछापबाट निर्वाचित संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले बाढीले क्षतविक्षत भएको ९ महिना हुँदासम्म बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गको पुनर्निर्माणमा गम्भीर त्रुटि गरेको भन्दै संसद् भवनभित्रै सरकार प्रतिआक्रोश पोखे। 

उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र पौडेलप्रति लक्षित गर्दै भने, ‘मन्त्रीज्यू विपत्को ९/९ महिनासम्म तपाईं कहाँ जानुभएको थियो ? मन्त्रीज्यू त्यहाँ तपाईंको ठूलो कमीकमजोरी भएको छ। यो बीपी हाइवेमा कुनै मानिसको क्षति भयो भने तपाईंको मन्त्रालयमा नै मानिसहरू ल्याउने छु।’

सिन्धुली संघीय निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद लेखनाथ दाहाल (राजन) ले पनि गत शुक्रबार संसदमा विशेष समय लिएर बोल्दै गत असोज ११ र १२ गते आएको बाढी र पहिरोबाट क्षति पुगेको बीपी राजमार्ग पुनर्निर्माणमा सरकारले एक रुपैयाँ पनि बजेट विनियोजन नगरेको भन्दै संसद्को ध्यानाकर्षण गराए। उनले भने, ‘हामी गत असोज ११ र १२ मा परेको वर्षा र त्यसले पुर्‍याएको अकल्पनीय क्षतिका बारेमा जानकार नै छौं तर, आजका दिनसम्म संघीय सरकार, सम्बन्धित निकाय, सम्मानित सदनमार्फत दर्जनौंपटक राहत, उद्धार र पुनर्निर्माणमा सरकारको काहीँनकहीँ सहभागिता चाहिन्छ र बजेट विनियोजन हुनुपर्छ भनी माग गर्दा पनि आगामी वर्षको बजेटमा पनि बजेट विनियोजन गरिएको छैन। नेपाल सरकारलाई निवेदन गर्न चाहन्छु, थप विपत् न निमत्याउनुहोला। रोशी र कोशी नियन्त्रणका लागि विपत् कोषबाट बजेट विनियोजन गरियोस्।’

तामाङ र दाहालले भने झैं बीपी राजमार्गको पुनर्निर्माणमा सरकारले समयमा ध्यान नपुर्‍याउँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। आगामी वर्षातमा हुने सम्भावित जोखिम आंकलन गरेर सडकको मर्मतदेखि यात्रुको सुरक्षासमेत सुनिश्चित हुनेगरी पूर्वतयारीका कामलाई तीव्रता दिनुपर्ने सांसदहरूको माग छ। सांसद दाहालले बीपी राजमार्गको खुर्कोटदेखि धुलिखेलसम्मको खण्डलाई दुई लेनमा विस्तार गरेर पुनर्निर्माण गर्नुपर्ने माग गरे। उनले भने, ‘ये खण्ड साँघुरो छ। यसको स्तरोन्नतिसँगै डबलल्यान्ड स्टान्डर्सअनुसार सडक निर्माण गर्नुपर्दछ। राजमार्गको सिन्धुली–खुर्कोट खण्डमा क्षति हुन नदिन खुर्कोट–चियाबारी सुरुङ मार्ग निर्माण गर्नुपर्दछ।’ बीपी राजमार्गको सुरक्षाका लागि पुनर्निर्माणसँगै रोशी र कोसीलगायतका खोला र खहरेको समेत नियन्त्रण गर्नुपर्ने दाहालको सुझाव छ।

विकास निर्माणमा पनि असर 
बीपी राजमार्ग पुनर्निर्माणमा ढिलाइ हुँदा विकास निर्माणका अन्य काममा समेत असर पर्न थालेको छ। बीपी राजमार्ग हुँदै रामेछाप, ओखलढुंगालगायतका जिल्लामा ठुल्ठूला विद्युत् आयोजना निर्माणदेखि अन्य पूर्वाधार निर्माणका लागि आवश्यक निर्माण सामग्री ढुवानीमा समेत समस्या देखिन थालेको छ। स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुको बजारीकरणदेखि उद्योग र रोजगारको समेत सम्भावना बोकेको राजमार्ग निर्माणमा जति ढिलाइ भयो त्यति नै विकासका काम पछि पर्ने स्थानीयको चिन्ता छ। 

यसअघि राजमार्गले यहाँको कृषि, स्वास्थ्य, शिक्षा अर्थतन्त्र, रोजगारी र यहाँ सर्वसाधरणको दैनिकीमा समेत परिवर्तन ल्याएको थियो। बीपी राजमार्गका कारण ग्रामीण क्षेत्रमा पनि बजारीकरण हुनुका साथै त्यहाँ, सुविधासम्पन्न भौतिक संरचनाको निर्माण, सयौं होटल तथा रेस्टुरेन्टलगायत अन्य व्यवसायका साथै विभिन्न क्षेत्रमा रोजगारको अवसर खुलेको थियो।

बीपी राजमार्ग आसपास मात्र पछिल्लो समय एक हजारको संख्यामा होटल, किराना पसल, फलफूल तथा तरकारी, ग्यारेज, घरेलु तथा साना उद्योगहरू सञ्चालनमा आएका छन्। जसका कारण हजारौंले रोजगार पाएका थिए। तर, राजमार्ग बाढीले क्षति पुर्‍याएपछि यातायातका साधन कम गुड्दा त्यस्ता व्यवसायहरू ठप्प जस्तै बनेका छन्। यातायातका साधनहरू कम सञ्चालन हुँदा यात्रुहरूसमेत कम भएका छन्। जसका कारण व्यापार व्यवसायहरू कम हुँदै गएको सुनकोशी गाउँपालिका ५ मा होटल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी मनोज श्रेष्ठको गुनासो छ।

पहाडी जिल्लाका साथै मध्यतराई र पूर्वी नेपाल तथा छिमेकी मुलुक भारतबाट राजधानी काठमाडौंलाई छोटो दूरीमा जोडेको राजमार्गले नेपाल र नेपालीको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। काठमाडौंलाई तराई जोड्ने वैकल्पिक राजमार्गको अवधारणामा निर्माण गरिएको यो राजमार्ग अहिले पूर्वी नेपालका हिमाल, पहाड र तराई जोड्ने मेरुदण्ड बन्न पुगेको छ। 

बल्ल पुनर्निर्माण प्रक्रिया सुरु
बीपी राजमार्ग पुनर्निर्माणका लागि जापान सरकारको निर्णय पर्खेर बसेको सरकारले बल्ल प्रक्रिया थालेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले ३ दशमलव २ किलोमिटरको डालाबेंसी–बर्खेखोला खण्डमा मात्रै काम गर्ने सहमति गरेपछि सरकारले बाँकी ठाउँमा आफैं पुनर्निर्माण गर्ने गरी ठेक्का प्रक्रिया अघि बढाएको छ। सिन्धुली खण्डका लागि १ अर्ब र काभ्रे खण्डका लागि साढे ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेर पुनर्निर्माण ठेक्का प्रक्रिया अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ। ठेक्का सम्झौता भइहाले पनि यसपालिको बर्खायाममा पुनर्निर्माण कार्य नहुने निश्चित जस्तै बनेको छ।बाढीपहिरोले ठाउँठाउँमा गरी करिब १२ किलोमिटर भत्काएको र २८ किलोमिटर पुनर्निर्माण गर्नुपर्ने प्राविधिक स्टमेटमा उल्लेख छ। यसका लागि कुल १० अर्ब बढी लाग्ने अनुमान छ।

पुनर्निर्माणमा डबलल्यान्ड
बाढीपहिरोले क्षति पुगेको बीपी राजमार्गको पुनर्निर्माण गर्दा डबलल्यान्ड स्टान्डर्सअनुसार बनाइने भएको छ। नेपालथोकदेखि भकुण्डेसम्म प्रतिघण्टा ६० किलोमिटर स्पिड कायम हुनेगरी डबलल्यान्ड स्टान्डर्सअनुसार राजमार्गको पुनर्निर्माण हुने संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका इन्जिनियर सुभराज न्यौपानेको भनाइ छ। उनले भने, ‘ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको र राजमार्गमा पुनर्निर्माण गर्दा ७ मिटर कालोपत्रे, सोल्जर र ड्रेन सहितको डिजास्टर रेसिलेन्ड हाइवेका रूपमा विकास गरिने छ।’

विपत् पछिको पुनर्निर्माण भएकाले सरकार गम्भीर भएर थप व्यवस्थित रूपमा काम गर्न लागेको उनको भनाइ छ। आगामी दुई वर्षभित्र पुनर्निर्माण सक्ने गरी काम हुने र ठेकेदारले काम होल्ड गरे तत्काल त्यसलाई कारबाही गरेर अघि बढ्ने गरी काम गरिने उनको भनाइ छ। कुल १ सय ६० किलोमिटर दूरी रहेको राजमार्गमा यात्रा गर्न यसअघि करिब चार घण्टा लाग्ने गरेकोमा अस्थायी ट्याकमा अहिले ८ घण्टा बढी समयमा लाग्ने गरेको छ। अस्थायी ट्रयाकमा घण्टौं जाम र धुलोको सास्ती बेहोर्नु पर्ने यातायात व्यवसायीहरू बताउँछन्। 

२०७२ सालको भूकम्पमा ५ बढी स्थानमा भासिएको सडक यस वर्ष बाढी र पहिरोले थप क्षति पुर्‍याएपछि राजमार्गको पुनर्निर्माण कहिले सकिने हो भन्ने अन्योलसमेत बढ्न थालेको छ। जापान सरकारको अनुदान सहयोगमा २०५२÷५३ सालबाट निर्माण थालिएको राजमार्गको १ सय ६० किलोमिटर सडक २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। जाइकाले उक्त राजमार्ग निर्माण गर्दा प्रतिकिमी ३५ करोड लागत भएको जनाए पनि यसपटक पुनर्निर्माणमा प्रतिकिलोमिटर एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 

बीपी राजमार्गको इमर्जेन्सी इन्फर्मेसन सिस्टम (ईआईएस) पनि अलपत्र

जापान सरकारको अनुदान सहयोगमा दुई दशक लगाएर बनाइएको बदिर्बास–सिन्धुली–बनेपा सडकको बारेमा आपत्तकालीन सूचना दिन सडकमा इमर्जेन्सी इन्फर्मेसन सिस्टम (ईआईएस) जडान गरिएको थियो। बीपी राजमार्गमा वर्षा, पहिरो, दुर्घटना, अवरोधजस्ता आपत्कालीन घटनाबारे जानकारी दिने उद्देश्यले इन्टरनेट जडित इन्फर्मेसन सिस्टम जडान गरिएको भएपनि अहिले त्यो संचालनमा आउन सकेको छैन। 

ईआईएस इन्टरनेट जडित कम्प्युटर वा मोबाइलमार्फत सडकको सम्पूर्ण अवस्थाबारे घरमै बसेर जानकारी लिन सकिने प्रविधि हो। यस्तो सिस्टम कोटेश्वर, बनेपा, खुर्कोट, सिन्धुलीमाढी र बर्दीवासमा जडान गरिएको छ। बनेपादेखि बर्दिबाससम्मको १ सय ५० किलोमिटर सडकमा वर्षा, पहिरो, दुर्घटना, अवरोधजस्ता आपतकालीन घटनाबारे घरमै बसेर जानकारी लिन गरी यो प्रविधि नेपालमै पहिलोपटक थालनी गरिएको हो। तर, हरेकदिन जसो बीपी राजमार्ग हुने दुर्घटना, वर्षातमा हुने बाढी पहिरोले राजमार्ग अबरुद्ध हुँदा पनि उक्त प्रविधिको संचालन हुन नसक्नु दुःखको कुरा भएको सर्वसाधरणको गुनासो छ। 

जापानले सडक र यात्रुको सुरक्षालाई ध्यानमा राखेर ईआईएस प्रविधि जडान गरिएको भए पनि नेपालले त्यसको संरक्षण र सञ्चालन गर्न नसक्नु कमजोरी भएको सिन्धुलीका पत्रकार राजकुमार कार्कीको भनाइ छ। यात्रामा निस्कनुअघि सडकको सम्पूर्ण अवस्थाबारे यात्रु तथा चालकले थाहा पाउनु जरुरी छ,’ उनले भने, ‘सबै अवस्था जानकारी भए यात्रामा तनाव बेहोर्नु पर्दैन। यसका लागि पनि यस्तो प्रविधि संचालनमा ल्याउनुपर्दछ जसले राजमार्गको अवस्थाका बारेमा सूचनाका लिएर राजमार्गको यात्रा तय गर्न सकिन्छ।’ 

यो बीपी हाइवेमा कुनै मानिसको क्षति भयो भने तपाईंको मन्त्रालयमा नै मानिसहरू ल्याउनेछु। 
पूर्णबहादुर तामाङ (कान्छाराम), सांसद, रामेछाप 

बीपी राजमार्गको पुनर्निर्माणमा सरकारले उचित ध्यान नदिँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। आगामी वर्षातमा हुने सम्भावित जोखिम आकलन गरेर सडकको मर्मतदेखि यात्रुको सुरक्षासमेत सुनिश्चित हुनेगरी पूर्वतयारीका कामलाई तीव्रता दिनुपर्छ। 
लेखनाथ दाहाल, सांसद , सिन्धुली 

असारको तेस्रो सातासम्म बीपी राजमार्गमा सञ्चालन हुने सवारी सिन्धुलीको खुर्कोट र काभ्रेको काभ्रे भन्ज्याङमा रोकिनेछन्। खुर्कोट–काभ्रेभन्ञ्याङ खण्डमा राति साढे ६ बजेबाट बिहान ५ बजेसम्म यात्रुवाहक सवारी सञ्चालन गर्न पाइने छैन। 
अनुज भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी, सिन्धुली 

यात्रुको सुरक्षा, सम्भावित दुर्घटना र विपद्को समयमा हुने जोखिमलाई न्यूनीकरण गर्न यस्तो गर्नुपरेको छ। रातिको समय कुनै दुर्घटना भए वा विपद्मा परे उद्धारमा समेत कठिनाइ हुने भएपछि सुरक्षा निकायले राति यातायात सञ्चालनमा रोक लगाइएको हो। 
लालध्वज सुवेदी, प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालय सिन्धुली

रातिको समयमा सवारी सञ्चालनमा रोक 
मनसुन सक्रिय हुँदै जाँदा बीपी राजमार्गमा १५ दिनसम्म रातिको समयमा यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ। शनिबारदेखि सिन्धुलीको खुर्कोटदेखि काभ्रेको काभ्रे भञ्ज्याङ खण्डमा राति साढे ६ बजेबाट बिहान ५ बजेसम्म यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ। शुक्रबार सिन्धुली जिल्लाको खुर्कोटमा बसेको सिन्धुली, काभ्रे र रामेछाप जिल्लाको सुरक्षा समन्वय समितिको संयुक्त बैठकले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको थियो।

सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार असारको तेस्रो सातासम्म बीपी राजमार्ग भई सञ्चालन हुने सवारीलाई सिन्धुलीको खुर्कोट र काभ्रेको काभ्रे भञ्ज्याङमा रोकिने छ। खुर्कोट–काभ्रेभन्ञ्याङ खण्डमा राति साढे ६ बजेबाट बिहान ५ बजेसम्म यात्रुबाहक सवारी सञ्चालन गर्न पाइने छैन। सिन्धुलीको खुर्कोटदेखि काभ्रेको काभ्रे भन्ज्याङ खण्डलाई बाढी र पहिरकोको दृष्टिकोणले अति जोखिमपूर्ण मानिएको छ। 
बीपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालन नगर्न सिन्धुली, रामेछाप र काभ्रेका प्रशासनले सूचना जारी गर्दै अनुरोध गरेका छन्। वर्षातका समयमा राति सवारीसाधन आवतजावत गर्दा कतिबेला कहाँ जोखिम हुने टुंगो नाभएपछि सुरक्षालाई मध्यनजर गर्दै पहिलो चरणमा १५ दिनका लागि रातिको समयमा यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको सहायक प्रजिअ भण्डारीको भनाइ छ।

यसअघि बीपी राजमार्गअन्तर्गत भिमान र काभ्रेको काभ्रे भन्ञ्याङमा रातिको समयमा सार्वजनिक यातायातका साधनलाई रोक लगाउँदै आइएको थियो। तर, अब भने त्यस खण्डमा प्राइभेट सवारीसमेत यात्रु बोकेर सञ्चालन हुन पाउने छैनन्। सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार बीपी राजमार्गमा रातिको समयमा आपत्तकालिन यात्रा गराउनुपरे सुरक्षा निकायसँगको समन्वयमा मात्र सवारी साधन सञ्चालन गरिनेछ।

रातिको समयमा कुनै पनि यात्रुवाहक सवारी सञ्चालनमा कडाइ गरिएको छ। ‘यात्रुको सुरक्षा, सम्भावित दुर्घटना र विपद्को समयमा हुने जोखिमलाई न्यूनीकरण गर्न यस्तो गर्नुपरेको छ। रातिको समय कुनै दुर्घटना भए वा विपद्मा परे उद्धारमा समेत कठिनाइ हुने भएपछि सुरक्षा निकायले राति यातायात सञ्चालनमा रोक लगाइएको हो,’ उनले भने। बाढी र पहिरोले ध्वस्त राजमार्ग अस्थायी ट्याक र डाइभर्सन निर्माण गरेर कष्ठकर यातायात सञ्चालन गरिएको छ। समयमा राजमार्ग पुनर्निर्माण सुरु नहुँदा र स्थायी ट्याक निर्माण नगर्ने हो भने आगामी बर्खाको समयमा राजमार्ग पूर्णरूपमा टप्प हुने भन्दै चिन्तासमेत व्यक्त गर्न थालिएको छ।

कुल १ सय ६० किलोमिटर दूरी रहेको राजमार्गमा यात्रा गर्न यसअघि करिब चार घण्टा लाग्ने गरेकोमा अस्थायी ट्याकमा अहिले ८ घण्टाबढी समयमा लाग्ने गरेको छ। अस्थायी ट्याकमा घण्टौं जाम र धुलोको सास्ती बेहोर्नुपर्ने यातायात व्यवसायी दीपेन्द्र कार्की बताउँछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.