बजेटमा अस्पष्ट स्वास्थ्य दृष्टिकोण

बजेटमा अस्पष्ट स्वास्थ्य दृष्टिकोण

बजेट भनेको केवल संख्याको खेल होइन, यो हाम्रो राष्ट्रिय भविष्यको संरचना हो । जब सरकार आफ्ना योजनाहरू प्रस्तुत गर्छ, त्यो कुनै साधारण आर्थिक कागजात मात्र हुँदैन । त्यो समग्र सामाजिक विकास, जनजीवन र समानताको एउटा ऐना हो । २०८१/०८२ को बजेटले एकपटक फेरि स्वास्थ्य, विशेषतः महिला स्वास्थ्यजस्ता मूलभूत सवालहरूलाई प्राथमिकतामा नपार्ने पुरानै प्रवृत्तिको पुनरावृत्ति भएको देखिन्छ ।

बजेट भाषणपछि धेरैको ध्यान सडक, रेल, ऊर्जा र ठूला भौतिक पूर्वाधारमा गयो । तर संसदभत्र उठेका केही आवाजले बजेटको भित्री असमानता उजागर गरे । बजेटमा समावेश गरिएको योजनामा विकासका केही जिल्लाको मात्रै चर्चा हुनु, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको समग्र उपस्थिति कमजोर देखिनु र अझ महिला स्वास्थ्यप्रति देखिएको मौनताले बजेटलाई चुनौतीको रूपमा खडा गरेको छ ।

नेपालको कुल बजेट १८ खर्ब ६ अर्ब ३० करोड रुपैयाँ छ । त्यसमध्ये स्वास्थ्य क्षेत्रमा छुट्ट्याइएको बजेट जम्मा १ खर्ब २० अर्ब ७२ करोड, अर्थात् कुल बजेटको ६.४ प्रतिशतमात्र हो । अन्तर्राष्ट्रिय तुलनामा पनि नेपालको स्वास्थ्य बजेट कमजोर देखिन्छ । छिमेकी देश भुटान, श्रीलंकाजस्ता विकासोन्मुख मुलुकहरूले समेत कुल बजेटको ८–१० प्रतिशत स्वास्थ्यमा छुट्ट्याएको देखिन्छ । जर्मनी, अस्ट्रेलिया, यूकेको बजेटको १५–२० प्रतिशत हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी हुन्छ । यस्तोमा नेपालले मात्र ६.४ प्रतिशत छुट्ट्याउँदा पनि संरचनात्मक समस्याहरूले भरिएको अवस्थामा, जनस्वास्थ्यको समग्र सुधार सम्भव छैन । एकातिर हामी कहाँ स्वास्थ्यका पूर्वाधार र जनशक्ति कम छ र त्यसमाथि यो बजेट । यसले स्वास्थ्यजस्तो आधारभूत जनसेवा आज पनि सरकारको सोचमा प्राथमिकतामा छैन । अझ सशक्त बनाउने भनिएको स्वास्थ्य बिमा कार्यक्रम स्वयं अस्तव्यस्त अवस्थामा छ । स्वास्थ्य चौकीहरूमा जनशक्ति छैन, प्रसूति सेवा छैन । झन् महिला स्वास्थ्यका कार्यक्रमहरू त ‘नाम छ, काम छैन’ को नमुना बनेका छन् ।

स्वास्थ्य मन्त्रालयको नीति कागजमा मात्रै हैन, कार्यान्वयनमा देखिनुपर्ने हो । तर बजेटमा महिला स्वास्थ्य कार्यक्रमहरूलाई प्राथमिकता दिइएको देखिँदैन । किशोरीमैत्री सेवा, महिनावारी स्वच्छता कार्यक्रम, पाठेघर खस्ने समस्या, परिवार नियोजन तथा सुरक्षित गर्भपतनमा पहुँचजस्ता क्षेत्रहरू उपेक्षित छन् । मातृशिशु मृत्युदर कम गर्न नेपालले धेरै प्रयास गरेको छ भन्ने दाबी गरिन्छ । तर बजेट संरचना हेर्दा, ती प्रयासहरूलाई दिगो बनाउने प्रतिबद्धता कमजोर देखिन्छ । नेपालको राष्ट्रिय जनगणना २०७८ सँगै गरिएको मातृमृत्यु अध्ययन प्रतिवेदनअनुसार मातृमृत्यु हुने घटनामध्ये २६ प्रतिशत महिला घरमै ज्यान गुमाउँछिन् । १७ प्रतिशत गर्भवतीहरूले अस्पताल नपुग्दै बाटोमै प्राण त्याग्छन् । यसको अर्थ ४३ प्रतिशत मातृमृत्यु अस्पतालको ढोका देख्न नपाउँदै हुन्छ । यो संख्या केवल तथ्य होइन, एउटा गहिरो राष्ट्रिय वेदना हो ।

मातृमृत्यु केवल आमाको मृत्यु होइन । यो त एउटा अनाथ शिशुको जन्म हो, त्यस घरमा देखिएको आमाविहीन जीवनको सुरुआत हो । यो एउटा परिवारको सन्तुलन गुम्ने क्षण हो, जहाँ सन्तानलाई स्तनपान दिने, हुर्काउने, सम्हाल्ने कोही हुँदैन । त्यो आर्थिक दृष्टिले सक्रिय महिला जनशक्तिको मृत्यु पनि हो, जसले उत्पादन गर्छे, सिर्जना गर्छे, सेवा गर्छे । एक आमाको मृत्युले बच्चाको आमा मात्र खोसिएको हुँदैन, उसको भविष्य खोसिन्छ । र यसको क्षति परिवार अनि समाजले समेत व्यहोर्नु पर्छ । त्यसो हुँदाहुँदै पनि, सरकारले ल्याएको बजेटमा यस्ता स्तब्ध पार्ने यथार्थलाई सम्बोधन गर्ने संवेदनशीलता झल्किँदैन । अस्पताल पुगी मात्र उपचार सम्भव हुने संरचनात्मक सोचका कारण आधा महिलाहरूले अस्पतालको ढोका देख्न पाउँदैनन् । यी घटनाहरूलाई रोक्नका लागि पूर्वतयारी, सघन क्षेत्रीय स्वास्थ्य सञ्जाल, तत्कालीन ट्रान्सपोर्टको पहुँच, एम्बुलेन्स सञ्जाल र प्रसूति सेवा विस्तारजस्ता योजना कहाँ छन् ?

बजेटमा ट्रमा सेन्टरको घोषणा छ, तर ट्रान्सफर नपाएका आमा चाहिँ घरमै मर्छन् । स्वास्थ्य चौकीको भवन छ, तर त्यहाँ रातभर सेवामा रहने नर्स छैनन् । हरेक पटक सुत्केरी महिला बाटोमै मरेपछि एउटा पोसाक ओढाएर मात्र सरकार संवेदनशील बन्न खोज्छन् । ‘स्टेचर अभावमा आमाका मृत्यु’ समाचार पढ्ने सरकारले बजेटमा यसको गहिराइमा पुग्न सकेनन् । संसदभत्र उठेका केही आवाजहरूले भने यो मौनतालाई तोड्ने काम गरे । कान्छाराम तामाङले बजेट निर्माणमा देखिएको क्षेत्रीय असमानता औंल्याउँदै भने, ‘प्रधानमन्त्री र अर्थमन्त्रीका जिल्लामा मात्रै योजनाको ओइरो छ, ७२ जिल्लालाई अभागी बनाइएको छ ।’ उनी संसदभत्र सडकमै नपुगेका जिल्ला र स्वास्थ्य सेवा नपुगेका गाउँहरूको प्रतिनिधि भएर बोले जस्तो लाग्यो । यद्यपि शब्दमा स्वास्थ्य चर्चा गरिएन ।

डा. सुनील शर्मा, स्वयं चिकित्सक भएकाले, स्वास्थ्य क्षेत्रमा लिइएको नीति–निर्णयलाई तार्किक रूपमा प्रस्तुत गर्न सक्नु पर्थ्यो । उनले भने, ‘३५ प्रतिशत अग्रिम कर र ‘टेक एन्ड पे’ मोडेलले निजी क्षेत्र तर्सन्छ । उनले समग्र निजी क्षेत्र, अझ विशेष त विद्युत् उत्पादनलाई जोड दिए । तर स्वास्थ्यका अन्तिम विकल्पका रूपमा रहेका नेपालका निजी स्वास्थ्य क्षेत्रका कुरा निकाल्न सकेनन् । चिकित्सा क्षेत्रबाट आएका सांसदहरू डा. चन्दा कार्की, डा. तोसिमा कार्कीहरूले पनि स्वास्थ्यमा रहेका बजेटबारे धेरै टिप्पणी गरेको देखिएन ।

चन्द्र भण्डारीले बजेटको समावेशिता र कार्यान्वयनको दूरीप्रति प्रश्न उठाए । ‘बजेटमा धेरै योजना छन्’, उनले भने, ‘तर कार्यान्वयन र पहुँचको दृष्टिकोणले त्यो सब ‘थोकमा घोषणा, खुद्रामा निष्पादन’ जस्तै देखिन्छ ।’ यस्तो अवस्थाले नागरिकमा राज्यप्रति विश्वास घटाउने खतरा बढ्छ ।

अमरेशकुमार सिंह संसदभत्र एक स्वतन्त्र स्वर जस्तै बोल्छन् । उनले भनेका छन्, ‘यी जिल्लाहरूलाई भाडामा लगाइदिउँ, कम्तीमा सरकारको नजर त पर्नेछ ।’ उनका शब्द तीव्र व्यंग्यले भरिएका थिए तर त्यसभित्र गहिरो पीडा थियो । त्यो मौनता अझै गहिरो छ । योजना आयोगका प्रतिवेदनहरूमा ‘मानव विकास सूचकांक सुधार्ने’ लक्ष्य राखिएको छ । तर महिला स्वास्थ्यमा लगानी नगरी त्यो सूचकांक कसरी माथि जान्छ ? सुरक्षित गर्भधारण, आमा–शिशु पोषण र महिलामैत्री स्वास्थ्य पूर्वाधार बनाउने योजनाहरू घोषणामै सीमित छन् । मुलुकका सहरमा स्वास्थ्य सेवा छ, तर गाउँमा रोगमात्रै छ, सेवा छैन । प्रसूतिका क्रममा रक्तस्राव भएमा अस्पताल पुग्न १० घण्टासम्म पनि लाग्छ । अत्यधिक रक्तस्राव भएको बेलामा घण्टौं कसरी बचाउन सकिन्छ ? त्यसपछि जिल्ला अस्पताल पुग्यो अक्सिजन छैन, रगत छैन । शल्यकक्षमा उपकरण छ तर डाक्टर छैन । अनि मात्र सरकारको ‘कार्यक्रम’ सम्झिन्छौं ।

स्वस्थ नागरिक राष्ट्रका आधार हुन् । अझ स्वास्थ्य सेवा त मौलिक अधिकार हो । तर जब बजेट बनाइन्छ, यी नागरिकहरू कति गणना गरिन्छन् ? अनि कस्तो मौलिक अधिकार जसले वर्षभरि सिटामोल दिन सक्ने ग्यारेन्टी गर्न सक्दैन । आधा गर्भवतीहरू स्वास्थ्य संस्था पुग्नुअगावै मृत्यु अंगाल्न बाध्य हुन्छन् र बजेटमा स्वास्थ्य ६.४ प्रतिशत हुन्छ । गणना हुने त सधैं ठूला पूर्वाधारमात्रै देखिन्छ । कतै अन्तर्राष्ट्रिय विमानस्थल, कतै ६ लेनको सडक, कतै स्मार्ट सिटी । यी आवश्यक हुन्, तर यीभन्दा पहिला नागरिकका आन्तरिक घाउमा मलम लाउने सोच किन हुँदैन ? योजना बनाउनेहरूले के कहिल्यै जन्माउन अस्पताल आउँदै गरेकी महिलालाई रगत नपाएर मर्नु कस्तो हुन्छ, त्यो देखेका छन् ? के उनीहरूले देखेका छन्, स्वास्थ्य चौकीमा महिनावारी भएकी किशोरीलाई लाजले स्यानिटरी प्याड माग्न नसकेको पीडा ? यावत् प्रश्न बजेटमा कति अटाए अर्थमन्त्रीज्यू ?      

आज पनि स्वास्थ्य सेवा पहुँचका हिसाबले हाम्रो देश तीन–चार तहमा बाँडिएको छ । राजधानी र ठूला सहरहरूमा ‘अत्याधुनिक सुविधा’, जिल्ला सदरमुकाममा ‘कामचलाउ सेवा’, र सुदूर गाउँहरूमा ‘आशा मात्र’ । यति ठूलो असमानताभित्र महिला स्वास्थ्य झनै बेवारिसे बनेको छ । जनस्वास्थ्य नीति त छ, तर ‘जनस्वर’ छैन । संसद्मा जनताको आवाज उठाउने काम केही सांसदहरूले गरेका छन्, तर नीति निर्माणकर्ताहरूले त्यो सुनिरहेका छैनन् । वास्तवमा, स्वास्थ्य नीति अब कागजमा सीमित हुनु हुँदैन । यो समुदायमा पुग्नुपर्छ, महिला र किशोरीका मनोविज्ञानसम्म पुग्नुपर्छ । त्यसका लागि नीतिमात्र होइन, बजेट र कार्यान्वयनको शुद्धता आवश्यक छ । किनकि आज पनि ७२ जिल्लाका महिला स्वास्थ्य सेवाबिना बस्न बाध्य छन् । त्यसको 
दोषी चिकित्सा प्रणालीलाई मात्र हैन, राज्यको नीति निर्माण तह पनि हो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.