कालीकोटका ९ वटै पालिकाले ल्याए समयमै बजेट

कालीकोटका ९ वटै पालिकाले ल्याए समयमै बजेट

कालीकोट : कालीकोटमा ९ पालिका वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । ३ नगरपालिका र ६ गाउँपालिकाले आव ०८२÷०८३ का लागि ३ अर्ब ७५ करोड ७१ लाख ९१ हजार ३ सय २९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । 

आन्तरिक आय नभएका स्थानीय तह संघीय र प्रदेश अनुदानमा निर्भर छन् । राज्यको अनुदानमा निर्भर कालीकोटका स्थानीय तह प्राथमिकतामा नपरेको जिल्ला समन्वय समिति कालीकोटका जिल्ला संयोजक धनजितबहादुर शाहीले बताए । उनले भने, ‘अन्य प्रदेशका पालिका र नगरपालिकामा अर्बौं बजेट अनुदानका रूपमा राज्यले दिएको छ । तर कालीकोटलाई यतिबेलाको बजेटमा संघ र प्रदेश सरकारले सौतेनी व्यवहार गरेको छ । कर्णाली प्रदेशमै दरबन्दीअनुसारका कर्मचारी राज्यले नपठाउनुले प्रस्ट बुझिन्छ कि राज्यले कर्णालीप्रति गर्ने व्यवहार ।

दक्ष कर्मचारी र तहअनुसारको मानवीय स्रोत हुनुले बजेट कार्यान्वयनमा प्रभावकारिता आउने हो । कर्णाली प्रदेश तथा कालीकोट जिल्लालाई राज्यले गरेको बेवास्ता र लापरबाहीप्रति हामी कर्णालीवासी चिन्तित छौं ।’ शाहीका अनुसार जिल्लाका ९ वटै स्थानीय तहले पहिलो पटक असार १० को समयसीमाभित्र नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । यसअघि आधाजसो स्थानीय तहको बजेट समयसीमा कटेपछि मात्र आउने गथ्र्यो । 

सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन केसीले पालिकाले सिफारिस गरेका योजनाहरू प्रदेश सरकारको प्राथमिकतामा नपरेको बताए । उनले भने, ‘प्रदेश सरकारले ल्याएको माननीयहरूको नेतृत्वमा बनेको योजना बैंकले फेरि पनि आफ्ना आसेपासे र योजना बेचेर खानेहरूको हितमा नै योजना वितरण गर्‍यो । यसले कालिकोटका सबै पालिका प्रत्यक्ष मारमा परेका छन् ।’ गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहले गाउँसभाबाट आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४१ करोड ९२ लाख ६२ हजार ४१ रुपैयाँ ४६ पैसाको बजेट सार्वजनिक गरिन् ।

उनले भनिन्, ‘यो वर्ष सान्नि त्रिवेणी गाउँपालिकाले शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी वर्षका लागि नीति तथा कार्यक्रम ल्याइएको छ । गुणस्तरीय शिक्षाका लागि जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउने, उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने व्यवस्था, बाँझो जमिनमा समूह बनाएर कृषि खेती गर्ने अभ्यासलाई प्रोत्साहन र अनुदान दिने नीति लिइएको छ ।’ 

यतिबेला तिलागुफा नगरपालिकाले डिजिटल हाजिरी, नरहरिनाथले विद्यालय नर्स, पचाल झरनाले डाक्टर पढ्न छात्रवृत्ति दिने, सान्नित्रिवेणीले शिक्षा र कृषिमा प्राथामिकता दिँदै जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा अध्ययन गराउने नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । गएको वर्ष कालीकोटका ९ वटै पालिकाले केही महत्वाकांक्षी बजेट ल्याएका थिए । पालिकाको आन्तरिक स्रोत नभएका कारण गाउँ तथा नगर सरकारले ल्याएको बजेटअनुसारको काम नभएको नागरिक अधिकारकर्मी दमनराज बमले बताए । उनले भने, ‘बजेट खर्चअनुसारको उपलब्धि नभएको नागरिकको गुनासो छ । प्रदेश र संघबाट आउने बजेटबाहेक ४ अर्ब खर्च गर्दा पनि नागरिकको जीवनमा परिवर्तन आउन सकेको छैन ।’

प्रत्येक नागरिकले जिल्लाका ९ वटै पालिकाले गरेका कामको हिसाब र उपलब्धि खोज्न सुरु गरेकोले जनमुखी कार्यक्रम ल्याउनै पर्ने तिलागुफा नगरपालिकाका नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए । उनले भने, ‘तिलागुफा नगरपालिकाले शिक्षक नियमित गर्न विद्यालयमा डिजिटल हाजिरीको व्यवस्था गर्ने नीति ल्याएका छौं ।’ यसैगरी नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले मावि तहमा विद्यालय नर्स राख्ने घोषणा गरेको बताए । 

त्यस्तै, पचाल झरना गाउँपालिकाले डाक्टर पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना सार्वजनिक गरेको पचाल झरना गाउँपालिका अध्यक्ष देवराज शाही अग्निले बताए । उनको भने, ‘पालिकाले ४३ करोड ८४ लाख ३९ हजार ३ सय ५२ रुपैयाँको बजेट ल्याएको छ । त्यस्तै, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै रास्कोट नगरपालिकाले ४७ करोड २२ लाख ८२ हजार ५ सय १० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । खाँडाचक्र नगरपालिको ५३ करोड ५५ लाख ५५ हजार ९ सय २० रुपैयाँको बजेट प्रस्तुत गर्दै नगरप्रमुख कमलबहादुर शाहीले विगतका कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

जिल्लामै सबैभन्दा बढी ७० करोड १४ लाख ९ हजार ७ सय १० रुपैयाँको बजेट विनियोजन गरेको तिलागुफा नगरपालिकाले विद्यालय गाभ्ने, सबै बस्तीमा भरपर्दो सडक पु¥याउने, अर्गानिक उत्पादनमा जोड दिने कार्यक्रम ल्याएको उप–प्रमुख महेन्द्रबहादुर शाहीले बताए । नरहरिनाथ गाउँपालिकाले ५१ करोड ८३ लाख ८० हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ । पालिकामा पहिलो पटक मावि तहमा विद्यालय नर्स कार्यक्रम ल्याएको पालिका उपाध्यक्ष कमल शाहले बताए । पलाता गाउँपालिकाले ४८ करोड २३ लाख ३२ हजार ८ सय ४६ रुपैयाँको बजेट सार्वजनिक गरेको गाउपालिका उपाध्यक्ष विष्णु रोकाया इन्द्रले बताए ।

यस्तै शुभ कालिका गाउँपालिकाले ४६ करोड २० लाख ५० हजार ४ सय रुपैयाँ गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले प्रस्तुत गरिन् । उनले भनिन्, ‘भौगोलिक रूपमा अति नै विकट रहेको शुभकालिकामा शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई लक्षित गरी बजेट विनियोजन गरिएको छ । महाबै गाउँपालिकाले ३५ करोड ८७ लाख ४७ हजार ९ सय ६६ रुपैयाँ बजेट सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह भिजनले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.