सर्वोच्चले सोध्यो मुकुल ढकाललाई महामन्त्री पदबाट हटाउनुको कारण, छलफलका लागि दुवै पक्षलाई बोलायो
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा.मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै महामन्त्री पदबाट हटाउनुको कारण सोध्दै अन्तरिम आदेशअघि छलफल गर्नुपर्ने भनेर दुवै पक्षलाई असार १७ गते बोलाउने आदेश गरेको छ।
मुकुलको पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता विशेष थापाले बहस गरेका थिए। 'यसमा के कसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुन नपर्ने कुनै आधार कारण भए सो सहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नू,'आदेशमा भनिएको छ।
ढकालले रास्वपाको महामन्त्री आफू नै भएको दावी गर्दै आज बिहान सर्वोच्चमा रिट दायर गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय ,महामन्त्री कविन्द्र बुर्लाकोटी, पार्टीको प्रवक्ता मनिष झा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिवादी बनाउँदै रिट दायर भएको छ। रिटमा उत्प्रेषणको आदेश माग गरेका छन्।
ढकालले आफूलाई कारवाही गर्ने पार्टीको निर्णयविरुद्ध निर्वाचन आयोगमा पनि निवेदन दिएका छन्। आफ्नो कारवाहीबारे पार्टीको कुनै पनि पत्र अद्यावधिक नगर्न आयोगलाई भनेका छन्। पार्टी अनुशासनविपरीत अभद्र र अमर्यादित व्यवहार प्रदर्शन गर्नुको साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै रास्वपाले एक वर्षअघि उनलाई महामन्त्री,केन्द्रीय सदस्य र साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको थियो।
पार्टीले आफूलाई गरेको कारवाही अवैधानिक भएको उनको दावी छ।
प्रतिक्रिया दिनुहोस !