विराटनगरमा बारम्बार चोरी गर्ने भारतीय महिलाको गिरोह पक्राउ

विराटनगरमा बारम्बार चोरी गर्ने भारतीय महिलाको गिरोह पक्राउ

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा सिटी सफारीमा चढेर यात्रा गर्ने यात्रुको साथबाट नगद र गहना बारम्बार चोरी भइरह्यो। चोरी भएपछि पीडित प्रहरीमा पुग्थे। तर, लामो समयदेखि प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गर्न सकेको थिएन।

खोजी भने जारी राखेको थियो। बल्ल अहिले चोरीमा संलग्न भारतीय महिलाको गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको छ। यस घटनाले सफारीमा चढ्ने यात्रुको साथमा भएको नगद र गरगहना चोरी गर्ने भारतीय महिलाको समूह विराटनगरमा सक्रिय रहेको पुष्टि गरेको छ। 
चोरीमा संलग्न गिरोहका ३ जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता, डीएसपी कोपिला चुँडालले बताइन्। 

उनका अनुसार भारत बिहारको पूर्णिया घर भएका २४ वर्षीया प्रियंका धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामीलाई पक्राउ गरिएको हो। सिटी सफारीमा चढेर यात्रा गर्नेको साथबाट बारम्बार नगद र गहना चोरी हुन थालेपछि प्रहरीले निगरानी बढाएको थियो। त्यस क्रममा ३ जनालाई पक्राउ गरिएको चुँडालको भनाइ छ। उनका अनुसार सफारीमा यात्रा गरिरहेका १ जना वृद्धको साथबाट चोरी गरिएको ३ लाख रूपैयाँसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइएको हो। 

पक्राउ परेकाहरुले मोरङको कटहरी गाउँपालिका–४ का ७० वर्षीय नारायणप्रसाद काफ्लेको साथमा भएको रकम चोरी गरेको प्रहरीले जनाएको छ। विराटनगरस्थित बैंकबाट रकम निकालेका काफ्ले बिहीबार सफारी चढेर आफ्नो घरतर्फ जाँदै थिए। उक्त सफारीमा ३ जना महिला पनि चढे। शंकास्पद महिलाहरु विराटनगरमा देखिएको जानकारी पाएपछि प्रहरीले उनीहरुमाथि निगरानी बढाएको थियो। सफारीको पिछा गर्दै जाने क्रममा कटहरी–१ बुधहाटबाट तीनै जनालाई नियन्त्रणमा लिइएको डीएसपी चुँडालको भनाइ छ। उनका अनुसार नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा वृद्धको साथमा भएको रकम चोरी गरेर लुकाइछिपाइ राखेको पाइयो। 

बैंकबाट निकालेको रकम वृद्धको साथमा थिएन। पैसा राखेको झोला मात्रै थियो। पैसा भने महिलाहरुले चोरी गरिसकेको पाइएको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार पीडित काफ्ले गम्भीर रोगका बिरामी हुन्। उनले उपचारका लागि रकम झिकेका थिए।

पक्राउ परेकाहरु लामो समयदेखि विराटनगरमा चोरीमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले भने, ‘उनीहरुले सुरुमा रकम झिक्न बैंकमा र सामान खरिद गर्न पसलमा पुग्ने व्यक्तिको निगरानी गर्दा रहेका छन्। रकम निकालिसकेपछि सफारी चढेर गन्तव्यमा जाने क्रममा ‘रेकी’ गरेर बसेका ती महिला पनि त्यही सफारीमा चढ्ने रहेछन्। अनि रकम चोरी गरेपछि बीचैमा सफारीबाट उत्रिने गरेको पाइयो। मौका मिलेमा सुनचाँदीका गहना पनि चोरी गर्ने रहेछन्।’ 

उनका अनुसार चोरी गरिसकेपछि ती महिलाहरु फर्किएर भारततिरै जाने गरेको पाइएको छ। अनि पुनः विराटनगर आएर त्यही शैलीमा चोरी गर्ने गरेको पत्ता लागेको जानकारी एसपी चिमरियाले दिए। ‘बैंकका ग्राहाक र पसलमा सामान खरिद गर्नेहरु सफारीमा चढेर गन्तव्यमा जाने क्रममा चोरीमा संलग्न भारतीय महिलाहरुले निगरानी गर्ने गरेको पाइयो। विशेष गरेर असहाय र वृद्ध उमेर समूहकालाई ‘तार्गेट’ गर्दा रहेछन्। साथमा बोकेको झोलाबाट नगद र गहना चोरी गरेपछि निस्किएर हिँड्ने गरेको पत्ता लाग्यो,’ उनी भन्छन्। 

लामो समयदेखि विराटनगरमा सफारी चढेर यात्रा गर्नेहरुको साथबाट नगद र गहना चोरी हुने गरेको गुनासो प्रहरीमा पुगिरहेको थियो। तर, चोरीमा संलग्नहरु प्रहरीलाई छल्न सफल भइरहेका थिए। निगरानी बढाउँदा अन्ततः सफारीमा यात्रारत यात्रुको नगद र गहना चोरीमा संलग्न भारतीय महिलाको गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको एसपी चिमरियाको भनाइ छ। 

उनका अनुसार पक्राउ परेका महिलाविरुद्ध चोरी मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ। नगद र गहना चोरी हुने जोखिम रहने हुँदा भाडाका सवारीसाधनमा यात्रा गर्दा सावधानी अपनाउन सबैमा उनको अनुरोध छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.