छुपुमा छुपु धान त रोप्ने, मल र सिँचाइ नभए के गर्ने ?
कोशीमा १४ प्रतिशत रोपाइँ
असार दोस्रो सातासम्म कोशी प्रदेशमा १४ प्रतिशतभन्दा बढी रोपाइँ सकिएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष बढी रोपाइँ भएको हो । प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले विगत वर्षभन्दा यसवर्ष तुलनात्मक हिसाबले बढी रोपाइँ भएको जानकारी दिएको छ ।
अघिल्लो वर्ष यो समयमा १३.७१ प्रतिशत मात्रै रोपाइँ भएको थियो । यो वर्ष १४.२५ प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार कोशीमा ८ लाख २६ हजार ६ सय ४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । खेतीयोग्य जमिनमध्ये हालसम्म ३९ हजार ३ सय ८७ दशमलव २६ हेक्टरमा रोपाइँ भइसकेको उनले बताए ।
प्रदेशका पहाडी जिल्लामा असार अन्तिमसम्ममा रोपाइँ सकिन्छ । भौगोलिक अवस्था र चिसो मौसमका कारण पहाडमा चाँडै रोपाइँ हुने गरेको पाण्डेको भनाइ छ । तराईका जिल्लामा भदौ दोस्रो सातासम्म रोपाइँ गर्न सकिने डा. पाण्डेले बताए । यद्यपि, पहाडी क्षेत्रमा हाल त्यति वर्षा भइरहेको छैन । त्यस कारण रोपाइँ केही प्रभावित भएजस्तो देखिन्छ । मन्त्रालयका अनुसार उच्च पहाडमा अहिलेसम्ममा आधाजति रोपाइँ भइसक्नु पर्ने हो । तर, केही ठाउँमा पानी अभावको समस्या देखिएको उनले बताए ।
‘समग्रमा विगतभन्दा बढी रोपाइँ भएको छ । तर, पहाडी जिल्लामा पानीको अभाव भएकाले केही ढिलो भएको हो कि जस्तो छ । केही पहाडी जिल्लामा अगाडि नै रोपाइँ हुनुपर्ने हो । अब त्यो समस्या हट्छ होला,’ उनी भन्छन् । यसवर्ष विगतमा भन्दा बढी वर्षा हुने प्रक्षेपण रहेकाले पनि पानी अभावका कारण खेतीयोग्य जमिन बाँझो रहने सम्भावना भने नरहेको उनको भनाइ छ । ‘कतिपय ठाउँमा चैते धान थन्क्याउने काम भइरहेको छ । धान थन्क्याएपछि त्यहाँ पुनः रोपाइँ गरिन्छ । यसवर्ष साउन दोस्रो सातासम्ममा गत वर्षको भन्दा बढी नै रोपाइँ भइसक्ने अनुमान गरिएको छ,’ डा. पाण्डेले भने । रोपाइँका लागि रासायनिक मलको अभाव नरहेको उनले बताए ।
मल र पानीका कारण रोपाइँ प्रभावित नहुने उनको भनाइ छ । डा. पाण्डेका अनुसार हालसम्म उच्च पहाडी जिल्लामा १०.९४ प्रतिशत, मध्येपहाडमा २४.९२ प्रतिशत र तराईका जिल्लामा १०.७८ प्रतिशत रोपाइँ सकिएको छ । ताप्लेजुङमा १७.८५, पाँचथरमा ४५, इलाममा १२, भोजपुरमा ४२, सोलुखुम्बुमा ६.३१, संखुवासभा र धनकुटामा ७–७, तेह्रथुममा २६, उदयपुरमा ११, ओखलढुंगामा ३१ र खोटाङमा ३१.३० प्रतिशत रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ । तराईका जिल्लामध्ये झापामा ८, सुनसरीमा ९ र मोरङमा १५ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । 
कर्णालीमा ४० प्रतिशत रोपाइँ
कर्णालीमा कुल क्षेत्रफलको ९ दशमलव ५२ प्रतिशत अर्थात् २ लाख ८७ हजार ७ सय ६१ हेक्टर जमिन मात्र खेती योग्य छ । त्यसमध्ये पनि २ लाख ६ सय २ हेक्टर जमिनमा मात्र खेती हुने गरेको छ । कर्णालीका १० जिल्लामा १९ दशमलव शून्य ६ प्रतिशत मात्र सिँचाइ सुविधा छ । त्यसमध्ये पनि ३९ हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा मात्र धान खेती हुने गरेको कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी तारा बरालका अनुसार गत वर्ष कर्णालीमा एक लाख २४ हजार ९ सय ६९ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष उत्पादकत्व बढ्ने अनुमान गरिएको छ । समयमा पानी परेकाले यस वर्ष धानको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । शुक्रबारसम्म जुम्ला, हुम्ला र डोल्पामा ९० प्रतिशत रोपाइँ भइसकेको छ । त्यस्तै सल्यानमा ६५ प्रतिशत, रुकुमपश्चिममा ५५ प्रतिशत, कालीकोटमा ४२ प्रतिशत, मुगुमा ४० प्रतिशत, दैलेखमा ३२ प्रतिशत, सुर्खेतमा २० प्रतिशत र सबैभन्दा कम जाजरकोटमा १७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको सूचना अधिकारी बरालले जानकारी दिए । औसतमा ३९ दशमलव १४ प्रतिशत मात्र रोपाइँ भएको छ । जुम्लालगायतका हिमाली जिल्लामा चैतमै ब्याड राखेर वैशाखदेखि नै रोपाइँ सुरु हुने गरेको भए पनि सुर्खेत लगायतका जिल्लामा साउन १५ भित्र रोपाइँ सकिने उनको भनाइ छ । विश्वकै अग्लो ठाउँमा फल्ने मार्सी धान जुम्लामा लगाउने गरिएको छ । मार्सी धानको भात स्वादिलो र स्वास्थ्यका लागि समेत फाइदाजनक मानिन्छ । कर्णालीका धेरै ठाँउमा रोपाइँका लागि गोरुको नै प्रयोेग गरिन्छ ।
केही किसानले मात्र ट्र्याक्टरको प्रयोग गर्न थालेका छन् । कर्णालीमा हाल पनि रोपाइँमा अर्मपर्म (मिलेर एक अर्काको काम गर्ने) गर्ने चलन छ । एक दिन एउटाको रोपाइँ गर्न छिमेकीहरू गएर एकै दिनमा सक्ने र अर्को दिन अर्काको गर्ने, काममा सघाउने चलन रहेको भेरी नगरपालिका–२ का किसान कालीबहादुर कार्कीले बताए । उनले सरकारलाई समयमा मल, बीउ उपलब्ध गराउनुका साथै सिँचाइको सुविधा विस्तार गर्न आग्रह गरे । महिलाले रोप्ने र पुरुषले खेत हिल्याउने गर्छन् । महिलाहरू भाका हालेर असारे भाका गाउँदै महिला पुरुष हिलो खेलेर रमाइलो गरेको दृश्य निकै रोमाञ्चक हुने गरेको स्थानीयको भनाइ छ ।मन्त्रालयका अनुसार कर्णालीमा सबैभन्दा धेरै धान खेती सुर्खेतमा हुन्छ ।
सुर्खेतमा १३ हजार ६ सय ६५ हेक्टर जमिनमा धान खेती हुने गरेको छ । सबैभन्दा कम डोल्पामा १ सय ९९ हेक्टरमा मात्र धान खेती हुने गरेको छ । उत्पादनको हिसाबले पनि सबैभन्दा सुर्खेतमा हुने गरेको छ । सुर्खेत जिल्लाको उत्पादकत्व ३ दशमलव ४३ रहेको छ भने सबैभन्दा कम हुम्लाको १ दशमलव १२ मेट्रिक टन प्रतिहेक्टर रहेको मन्त्रालयका सूचना अधिकारी बरालले बताए । देशभरमै सबैभन्दा कम धान उत्पादन कर्णालीमा हुन्छ ।
कर्णाली प्रदेश सरकारले असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा प्रदेशका जुम्लाबाहेक ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कर्णाली प्रदेशका धेरै जिल्लामा धान रोप्ने चटारो चलिरहेको र यसको महत्व अझ बढाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले बताए । यस्तै, लिफ्ट सिँचाइ आयोजनाबाट पानी आएपछि भेरी नगरपालिका १३ कुदुका किसानले पहिलो पटक धान रोपेका छन् । एकीकृत कर्णाली सिँचाइ आयोजनाको साढे ५ करोड रुपैयाँ लागतमा लिफ्ट सिँचाइ आयोजना सञ्चालन भएको हो । भेरी–१३ का यामबहादुर रोकायले भने, ‘अब आकासे पानीको भर पर्नुपरेन, सिँचाइ पुगेपछि पहिलो पटक खेतमा धान रोप्न पायौँ ।’
सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ
सुदूरपश्चिममा ४५ प्रतिशत धान रोपाइँ सकिएको छ । सुदूरपश्चिममा १ लाख ७६ हजार १ सय ५१ हेक्टर जमिनमा धानखेती हुन्छ । सुदूरपश्चिम प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालय दीपायलका अनुसार असार मध्यसम्ममा ८० हजार १ सय २८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयका अनुसार सबैभन्दा बढी बझाङमा ७० प्रतिशत रोपाइँ सकिएको छ भने सबैभन्दा कम दार्चुलामा ३१ प्रतिशत रोपाइँ भएको छ । सुदूरपश्चिमको अन्न भण्डारका रूपमा मानिने कैलाली र कञ्चनपुरमा भने क्रमशः ४० र ४२ प्रतिशत रोपाइँ सकिएको छ । यो वर्षको मनसुन समयभन्दा अगावै भित्रिएको भए पनि पर्याप्त मात्रामा वर्षा हुन नसक्दा अधिकांश भूभागमा रोपाइँ हुन सकेको छैन ।
गत वर्षको यही अवधिमा सुदूरपश्चिममा ५४.२५ प्रतिशत अर्थात् ९४ हजार ६ सय ९९ हेक्टर जमिनमा रोपाइँ सकिएको थियो । ‘कतिपय पहाडी जिल्लामा वर्षा राम्रो भएकाले रोपाइँ बढी भएको छ भने कतिपय जिल्लामा पर्याप्त वर्षा नहुँदा रोपाइँ कम भएको छ’, सूचना अधिकारी पाण्डेयले भने, ‘तराईका जिल्लामा सिँचाइ सुविधा नभएका ठाउँमा पम्पसेटको पानीबाट रोपाइँ भइरहेको छ ।’
सुदूरपश्चिमका पहाडी जिल्लामा जेठ पहिलो सातादेखि नै रोपाइँ सुरु हुन्छ भने तराईका जिल्लामा असार पहिलो सातादेखि धान रोपाइँ सुरु भएको हो । सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ सकिन लागेको छ । मनसुनी वर्षा विगतका वर्षहरूभन्दा १५ दिन अगावै सुुरु हुने मौसम विज्ञान विभागको पूर्वानुमानका कारण समेत कैलालीका किसानले जेठ पहिलो साता नै धानको ब्याड राखेका थिए । ‘सिँचाइ सुविधा भएको कैलालीको दक्षिणपूर्वी क्षेत्रमा असार पहिलो सातादेखि नै धमाधम रोपाइँ भइरहेको छ’, कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले भने, ‘तर मौसम विभागको पूर्वानुमानअनुसार वर्षा सुरु भएर रोकिएका कारण केही ठाउँमा ढिलो गरी रोपाइँ सुरु भएको हो ।’ चौधरीका अनुसार यतिबेला मनसुनी वर्षा सुरु भइसकेकाले जिल्लाको बाँकी भागमा समेत धमाधम रोपाइँ भइरहेको छ ।
पछिल्ला वर्षमा धानबाली लगाउने किसान मौसम पूर्वानुमानअनुसार बाली लगाउने गर्छन् । उनीहरू स्थानीय तहका कृषि विकास शाखा र ज्ञान केन्द्रबाट मनसुनी वर्षाबारे जानकारी लिएर रोपाइँको तयारी गर्छन् । ‘मौसम विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार धानको ब्याड राख्ने गरेका छौं’, जोशीपुर–४ का किसान रमेश चौधरीले भने ‘यो वर्ष सुरुमा वर्षा भए पनि असार दोस्रो सातासम्म पर्याप्त वर्षा हुन नसक्दा रोपाइँ केही ढिलो सुुरु भएको हो ।’ 
कैलालीमा सञ्चालित राष्ट्रिय गौरवको रानी, जमरा र कुलरिया सिँचाइ आयोजनाको नहरबाट सिञ्चित हुने क्षेत्र तथा पम्पसेटको सिँचाइ सुविधा भएका टीकापुर, जानकी, जोशीपुर, भजनी, गौरीगंगा र घोडाघोडी क्षेत्रमा असार पहिलो सातादेखि नै रोपाइँ सुुरु भएको हो भने अन्य भागमा यतिबेला धमाधम रोपाइँ भइरहेको छ ।
कृषि ज्ञान केन्द्र कैलालीको तथ्यांकअनुसार जिल्लामा ६८ हजार ५ सय ४१ हेक्टरमा धान खेती हुँदै आएको छ । जिल्लामा ९८ हजार ९ सय ३५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । जुन जिल्लाको कुल क्षेत्रफलको २७ दशमलव ८ प्रतिशत हो । खेतीयोग्य जमिनमध्ये हाल २६ दशमलव ७ प्रतिशत अर्थात् ८६ हजार ४५० हेक्टरमा मात्र खेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । जसमध्ये नहर, पम्पसेट र परम्परागत कुलोबाट ७० हजार ५ सय हेक्टर जमिन सिञ्चित क्षेत्र रहेको छ ।
मधेसमा १० प्रतिशत मात्रै रोपाइँ
असारको दोस्रो सातासम्म मधेस प्रदेशमा १० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । आकाशे पानीको भरमा खेती गर्ने यहाँका अधिकांश कृषकहरूले समयमा वर्षा नहुँदा रोपाइँ गर्न पाएका छैनन् । कृषि निर्देशनालय मधेस प्रदेशका प्रमुख जितेन्द्र यादवका अनुसार प्रदेशका आठ जिल्लामध्ये बारामा सबैभन्दा बढी ११ प्रतिशत र सप्तरीमा सबैभन्दा कम सिरहा र सप्तरी जिल्लामा ३ देखि ४ प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।
५ लाख ७४ हजार ३६० हेक्टर खेती योग्य जग्गाको उपलब्धता रहेको यस प्रदेशमा ३ लाख ७५ हजार ३४० हेक्टर जग्गामा धान खेती हुने गरेको कृषि मन्त्रालयको तथ्यांक छ । गत आर्थिक वर्षमा प्रदेशमा कुल धानको उत्पादन १३ लाख ८८ हजार ८४१ मेट्रिक टन भएको थियो । त्यसैगरी बर्खे धानको उत्पादन १२ लाख ८१ हजार ३०८ मेटिक टन र चैते धान १ लाख ७ हजार ५३४ मेट्रिक टन भएको हो ।
कुल धानको उत्पादनमा देशको कुल उत्पादनमा २५ प्रतिशत योगदान पुर्याएको मधेस प्रदेशले बर्खे धानको उत्पादनमा २५ प्रतिशत र चैते धान उत्पादनमा १९ प्रतिशत योगदान पुर्याएको हो । पछिल्लो समय समयमा वर्षा नहुँदा र आवश्यता नभएको बेला अत्याधिक वर्षा हुँदा धानको उत्पादनमा हस आएको देखिन्छ । पाँच वर्षयता प्रत्येक वर्ष धान उत्पादनसँगै खेतीयोग्य जग्गासमेत घट्दै गएको तथ्यांकले पुष्टि गर्छ ।
गण्डकीमा २८ प्रतिशत रोपाइँ
गण्डकी प्रदेशमा यस वर्ष ९४ हजार १ सय ८२ हेक्टर क्षेत्रफलमा बर्खे धान लगाउने प्रक्षेपण गरिएको छ । गण्डकीमा आर्थिक वर्ष २०८१/८२ मा ९७ हजार ९ सय ५९ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसमा चैते ४ हजार ८ सय ३६ हेक्टरमा र बर्खे ९३ हजार १ सय २३ हेक्टरमा धान खेती गरिएको थियो । गण्डकीका धान उत्पादन ३ लाख ७९ हजार ३२ मेट्रिकटन उत्पादन भएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका कृषि अर्थ विज्ञ मनोज पौडेलले जानकारी दिए । २०८१/८२ मा प्रतिहेक्टर उत्पादकत्व ३.८७ मेट्रिकटन रहेको छ । २०८०/०८१ मा गण्डकीमा १ लाख १ हजार ९२३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ३ लाख ९१ हजार ६२४ मेट्रिक टन उत्पादन भएको थियो । प्रति हेक्टर उत्पादकत्व बर्खे र चैते गरेर ३.८४ मेट्रिक टन भएको हो ।
गण्डकीका मनाङ र मुस्ताङबाहेक ९ जिल्लामा धान खेती गरिन्छ । नवलपुरमा अन्तको तुलनामा धेरै धान फलेको तथ्यांकले देखाउँछ । सबैभन्दा धेरै नवलपुरमा चैते र बर्खे गरेर ७८ हजार ६१३ मेट्रिक टन धान उत्पादन भएको थियो । कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार गण्डकीका २०८१/८२ मा सबैभन्दा कम १३ हजार ६६४ मेट्रिक धान म्याग्दीका उत्पादन भएको छ । कास्कीमा ६२ हजार ९८८, स्याङजामा ५७ हजार ५०२, तनहुँमा ४४ हजार २३८, गोरखामा ४३ हजार ५४, लमजुङमा ३१ हजार ५३९, पर्वतमा २६ हजार ८३९, बागलुङमा २० हजार ५९५ मेट्रिक टन धान फलेको छ ।
आर्थिक वर्ष २०८२/०८३ का लागि ९४ हजार १ सय ८२ हेक्टर क्षेत्रफलमा बर्खे धान लगाउने प्रक्षपण गरिएको छ । २०८१/०८२ मा वर्ष ९६ हजार ५३ हेक्टरमा बर्खे धान लगाइएको थियो । यस वर्ष ९४ हजार १ सय ८२ हेक्टर क्षेत्रफलमा बर्खे धान खेती गरिने प्रक्षपण गरिएको छ । गण्डकीका करिब २८ प्रतिशत धान रोपाइँ सकिएको छ । गण्डकीमा साबित्री, रामधान, सुक्खा, महाराजा, मन्सुली, आइआर, जेठोबुढो, गुर्दी, पहेले, गौरिया, मार्सी, सेतो र लामो झिनुवा, एक्ले लगायतका धान रोपिन्छ ।
कास्कीमा धान उत्पादन क्षेत्रफल घट्दो
गण्डकीमा नवलपुरपछि कास्कीमा धेरै धान उत्पादन हुन्छ । कास्कीमा १६ हजार २ सय २० हेक्टरका धान उत्पादन हुन्छ । चालु वर्षमा गण्डकीमा ६१ हजार १ सय ६४ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्र कास्कीकी कृषि अर्थ विज्ञ रञ्जना पोखरेलले जानकारी दिइन् । कास्कीका सिँचाइ सुविधा पुगेका सहरी क्षेत्र पोखरा, लेखनाथका खेतहरूका बस्ती बसेपछि उत्पादन क्षेत्र र उत्पादन दुवै घट्दो क्रममा छ । यसैको प्रभावका कारण कास्कीमा बर्सेनि १ लाख २० हजार ५ सय मेट्रिक टन धान अपुग हुन्छ ।
धानको उत्पादन हुने क्षेत्र घट्दो क्रममा रहेकोले आयात प्रति वर्ष बढ्दै गएको हो । कास्कीमा धान उत्पादकत्व ३.७७ मेट्रिक टन रहेको ज्ञान केन्द्र कास्कीको तथ्याङ्क रहेको छ । कास्कीमा ४२.१३ प्रतिशत धान रोपाइँ भइसकेको पनि कृषि अर्थ विज्ञ रञ्जना पोखरेलले जानकारी दिइन् ।
कृषि भूमिको संरक्षण नहुँदा उत्पादन प्रत्यक वर्ष घट्दो क्रममा रहेको छ । सरकारले कृषि भूमिको वर्गीकरण गर्ने जिम्मा स्थानीय निकायलाई दिए पनि कृषि र गैर कृषि क्षेत्र छुट्याउने ढिलाइ हुँदा कृषि भूमिमा बस्ती बस्ने क्रम तीव्र बनेको हो । यसको असर खाद्यान्न, तरकारीलगायत कृषि उत्पादनमा परेको छ ।
- समग्रमा विगतभन्दा बढी रोपाइँ भएको छ।
- यसवर्ष विगतमा भन्दा बढी वर्षा हुने प्रक्षेपण रहेकाले पनि पानी अभावका कारण खेतीयोग्य जमिन बाँझो रहने सम्भावना कम छ।
- गत वर्ष कर्णालीमा एक लाख २४ हजार ९ सय ६९ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष उत्पादकत्व बढ्ने अनुमान गरिएको छ।
- सुदूरपश्चिममा ४५ प्रतिशत धान रोपाइँ सकिएको छ। सुदूरपश्चिममा १ लाख ७६ हजार १ सय ५१ हेक्टर जमिनमा धानखेती हुन्छ।
- असारको दोस्रो सातासम्म मधेस प्रदेशमा १० प्रतिशत मात्रै धान रोपाइँ भएको छ। आकाशे पानीको भरमा खेती गर्ने यहाँका अधिकांश कृषकहरूले समयमा वर्षा नहुँदा रोपाइँ गर्न पाएका छैनन्।
- सिँचाइ सुविधा भएका ठाउँमा भने रोपाइँ सकिन लागेको छ।
- कतिपय ठाउँमा चैते धान थन्क्याउने काम भइरहेको छ। धान थन्क्याएपछि त्यहाँ पुनः रोपाइँ गरिन्छ।
- तराईका जिल्लामध्ये झापामा ८, सुनसरीमा ९ र मोरङमा १५ प्रतिशत रोपाइँ सकिएको छ।
- बझाङमा ७० प्रतिशत रोपाइँ सकिएको छ भने सबैभन्दा कम दार्चुलामा ३१ प्रतिशत रोपाइँ भएको छ।
- शुक्रबारसम्म जुम्ला, हुम्ला र डोल्पामा ९० प्रतिशत रोपाइँ भइसकेको छ । त्यस्तै सल्यानमा ६५ प्रतिशत, रुकुमपश्चिममा ५५ प्रतिशत, कालीकोटमा ४२ प्रतिशत, मुगुमा ४० प्रतिशत, दैलेखमा ३२ प्रतिशत, सुर्खेतमा २० प्रतिशत र सबैभन्दा कम जाजरकोटमा १७ प्रतिशत मात्र रोपाइँ सकिएको छ।
- समयमा पानी परेकाले यस वर्ष धानको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ।
मलकै पिर
धानको पकेट क्षेत्र बर्दियाको राजापुर नगरपालिकाका किसान छप्पुराम चौधरी मल नपाएर छटपटाइ रहेका छन् । चैते र हिउँदे गरी बार्हैमास धानखेती हुने कर्णाली नदीले घेरिएको गेरुवा, राजापुर क्षेत्रमा सिँचाइ सुविधा भएका कारण अन्य क्षेत्रमा भन्दा पहिल्यै धान रोप्ने गरिन्छ । कतिपय किसानहरू गहुँ खेतीकै बेला खरिद गरेको मल धानखेतीका लागि साँचेर राख्छन् । तर, आर्थिक जोहो गर्न नसक्ने किसानहरू रोपाइँको बेला मल खोज्दा हैरान हुन्छन् । सालभरिका लागि मानो रोपेर मुरी फलाउने बेला मल नपाउँदा किसान दिक्क मान्ने गरेका छन् ।
‘मल नपाएर हैरान छौं,’ चौधरीले भने, ‘स्थानीय सरकारले अनुदानमा अन्य सामग्री बाँड्नुभन्दा अनुदानमै मल दिएको भए सहज हुन्थ्यो । राजापुरमा सिँचाइको सुविधा राम्रै छ । अपुग ठाउँहरूमा भूमिगत जलबाट सिँचाइ सुविधा प्राप्त गरेका छौं । प्राविधिक सामग्री हुने खानेले पाउने नीति खारेज गरि नुपर्छ ।’
चौधरीले किसानलाई मल, बीउमा अनुदान दिनुपर्ने बताए । सरकारी निकायहरू कमिसनको लोभमा प्राविधिक सामग्रीहरू अनुदान बाँड्न तत्पर हुन्छन् । युवा किसानहरू बीउ, मल नपाएर उत्पादन गर्न नसक्दा आर्थिक उपार्जनका लागि बिदेसिन बाध्य छन् । सरकारले धान दिवस मनाए पनि गाउँघरमा खेती किसानीको रौनक घट्दै गएको चौधरीको भनाइ छ । खेती गर्ने किसानहरूको संख्या दिनप्रतिदिन घट्दो छ । यस्तै अवस्था रहिरहे खेती किसानी गर्ने युवाहरूको अभावमा खेत बाँझै रहन सक्नेतर्फ उनले सचेत पारे । गुलरिया–८ का किसान राधेश्याम लोधले रोपाइँको तयारी भए पनि मल नपाएको गुनासो पोखे । उनले भने, ‘खेत रोप्न तयार छ । मल छैन । मल छरेर रोप्न पाए उब्जनी राम्रो हुन्थ्यो । जताततै खोजे कही मल पाउन सकिन । बाध्य भएर मल नछरी रोप्नु पर्यो ।’ यतिखेर किसानलाई मलको सर्वत्र समस्या छ । सरकारले पालिकाको प्रत्येक वडामा सहकारी डिपोमार्फत मल उपलब्ध गराउने व्यवस्था गरे पनि डिपोका गोदाम रित्तै छन् ।
गुलरिया–७ मा अवस्थित रातोतारा कृषि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मेघराज सिग्देलले भने, ‘साल्ट टेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड सँग मल माग्दासमेत पाएनौं ।’ किसानहरू सहकारीमा मलका लागि आउँछन् तर हामीसँग मल हुँदैन ।
मल आउँछ भन्छन् तर मल ल्याउन पाइँदैन । किसानले मल नपाए पनि बाध्य भएर आँखामा आँसु लिएर खेती गर्नु परेको बाध्यता उनले सुनाए । पालिकाले कोटा दिए पनि जति मल माग्दासमेत नपाएपछि डिपो शून्य छ । अध्यक्ष सिग्देलले थपे, ‘हाम्रो गोदाममा मल आएको थाहा हुनेबित्तिकै किसानको अधिक माग भएकाले तत्काल गोदाम रित्तिहाल्छ ।’
किशोर बुढाथोकी/विराटनगर
मनिका झा/जनकपुरधाम
राजेन्द्र कार्की/जाजरकोट
कृष्णमणि बराल/पोखरा
यादव आचार्य/गुलरिया
परमानन्द पाण्डे/टीकापुर
प्रतिक्रिया दिनुहोस !