आफ्नै भतिजीमाथि काकाको गिद्दे नजर, बलात्कारपछि घाँटी बटारेर हत्या

आफ्नै भतिजीमाथि काकाको गिद्दे नजर, बलात्कारपछि घाँटी बटारेर हत्या
बालिकाको हत्यापछि भावविह्वल भएका आफन्त । तस्बिर : अन्नपूर्ण

विराटनगर : मोरङको धनपालथान गाउँपालिका–५ मा शव फेला परेकी नाबालिकाको हत्या आफ्नै काकाले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बलात्कार गरेर भतिजीलाई मारेपछि घटना लुकाउन शव फालिदिएको खुलेको हो । 

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले बलात्कारपछि बालिकाको हत्या गरिएको घटनामा काका संलग्न रहेको पत्ता लगाएको हो । यद्यपि,प्रहरीले यसको आधिकारिक पुष्टि गरिसकेको छैन । हत्या गरेर फालेको अवस्थामा अक्षय सरदारकी छोरी ७ वर्षीया आत्तिका सरदारको शव शनिबार बिहान फेला परेको थियो । 

घरबाट करिब सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा शव भेटिएको हो । अनुहार,घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक रहेको अवस्थामा शव भेटियो थियो। हत्या भएको निष्कर्ष निकालेर प्रहरीले अनुसन्धान सुरू गरेको थियो । अनुसन्धानका क्रममा नाबालिकाका कान्छा काका अनिष सरदारलाई प्रहरीले नियन्त्रणमा लियो । 

प्रारम्भिक सोधपुछका क्रममा उनले घटना स्वीकार गरेनन् । अघिल्लो साँझ आफूले मदिरा सेवन गरेको स्वीकारेका छन् । प्रमाण संकलन गर्दै थप अनुसन्धान अघि बढाएको प्रहरी नाबालिकाको हत्यामा काका अनिष नै संलग्न रहेको निष्कर्षमा पुगेको हो । ‘उनी (अनिष) अहिले मानसिक रूपमा विक्षिप्तजस्तै छन् । आफ्ना कुरा राम्ररी बताउन सक्दैनन् । 'कहिले घटना गराएको हो भन्छन् ,' कहिले होइन भन्छन्,’ प्रहरी स्रोतले भन्यो । 

घटना भएका बेला वरपर अरु मानिसको ‘मुभमेन्ट’ नदेखिएको र काकासँगै रहेकी नाबालिकाको हत्या भएको पाइएपछि हत्यामा अनिषको संलग्नता यकिन भएको स्रोतको भनाइ छ । यद्यपि,प्रहरीले मेडिकल रिपोर्टलगायतका प्रमाण संकलनको काम गरेर गम्भीर ढंगले अनुसन्धान गरिरहेको छ । ‘आफूसँगै सुतेकी भतिजीलाई घर बाहिर निकालेर बलात्कार गरेको पाइयो । त्यसपछि घटना खुल्ने डरले हत्या गरेर शव नजिकै रहेको विद्यालय छेउमा फालेर उनी फर्किएको देखिन्छ,’स्रोतले भन्यो ।  

प्रहरी अनुसार शवको प्रकृति हेर्दा मुख थुनेर वा घाँटी बटारेर हत्या गरेजस्तो देखिन्छ । भतिजीको शव फालेर आएपछि अनिष घरमै बसेका थिए । आत्तिकाका बाबुआमा भने काम विशेषले बाहिर गएका थिए । सन्तानलाई हजुरआमाको जिम्मा लगाएर आमाबुवा बाहिर गएका बेला घटना भएको हो । आत्तिकाका बाबु अक्षय भारत मनिहारी गएका थिए । पत्नी माइतीघर गएकी थिइन् । अरु बेला पनि काम परेर बाहिर जानु पर्दा अक्षय र उनकी पत्नीले छोरीलाई आमाकहाँ छाडेर जाने गरेका थिए ।  

बुवाआमाले जिम्मा लगाएपछि आत्तिका र उनका भाइ हजुरआमासँग बसे । राति काका अनिषसँग सुते । भतिजी र भतिजलाई लिएर अनिष अलग्गै घरमा सुतेका थिए । अर्को घरमा सुतेकी हजुरआमा बिहान उठेर नातिनातिना सुतेको घरमा आइन् । ओछ्यानमा हेर्दा नातिनी देखिनन् । हल्लाखल्ला भयो । त्यसपछि गाउँमा बच्च चोरी भएको हल्ला चल्यो । खोजी गर्ने क्रममा हत्या गरेर फालेको अवस्थामा आत्तिकाको शव भेटियो ।
घरभित्रै बलात्कार गर्दा भतिजले थाहा पाउने भएकाले अनिषले भतिजीलाई घरबाट बाहिर लगेर बलात्कार गरी त्यसपछि हत्या गरिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले नाबालिकाको हत्यासँग सम्बन्धित प्रमाण जुटाउने काम भइरहेको बताइन् । ‘घटनामा काकाकै संलग्नता हो कि भन्ने आशंका छ । त्यसलाई तथ्य र प्रमाणले पुष्टि गर्नुपर्ने हुन्छ । ‘मेडिकल रिपोर्ट’हरु हेर्दैछौं । अनुसन्धानबाट वास्तविकता खुल्दै जान्छ,’उनले भनिन् । 

नाबालिकाको शवको पोस्टमार्टम विराटनगरको कोशी अस्पतालमा भएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाका बारेमा प्रष्ट हुने डीएसपी चुँडालको भनाइ छ । उनका अनुसार प्रहरी नियन्त्रणमा रहेका अनिषले घटना स्वीकार गरिसकेका छैनन् । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया आफैं घटनास्थल पुगेका थिए । 

भतिजीको हत्यामा काकाकै संलग्नता रहेको निष्कर्षमा पुगेको प्रहरीले अनिषविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ । उनीविरुद्ध मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरेको हो । 

बालिकाको हत्या भएपछि गाउँ नै शोकमा डुबेको स्थानीय अमृताकुमारी चौधरीले बताइन् । उनले भनिन्, ‘भयानक र दर्दनाक घटनाले गाउँमा त्रास फैलिएको छ । सबैजना स्तब्ध छन् । निष्पक्ष अनुसन्धान गरेर हत्यारामाथि कारबाही हुनुपर्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.