आज राष्ट्रिय धान दिवस : राष्ट्रपतिले रोपे शीतल निवासमा धान
काठमाडौं : धान दिवसका उपलक्ष्यमा राष्ट्रपति भवनमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँमा राष्ट्रपति रामचन्द्र पौडेल,प्रथम महिला सविता पौडेल सहभागी भए। रोपाइँ सुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिको आधुनिकीकरण गर्दै यसलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिए।
कृषिलगायत सबै किसिमका श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए। कृषि पेसामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भका रुपमा परिचित गराउन अग्रसर किसानलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने उनले बताए।
यो वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भता’ नाराका साथ आज मुलुकभर २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ मनाइँदैछ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तरराष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा २०६१ मङ्सिर २९ गतेको मन्त्रिस्तरीय निर्णयानुसार २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन सुरु गरिएको हो ।
असार १५ नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि परिचित छ । खेतीपातीबाहेक अन्य पेसा तथा व्यवसायमा लागेका नेपालीहरूले आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ ।
प्रतिक्रिया दिनुहोस !