बाँझो जमिनमा तरकारी खेती

घर छोडेका युवा, घरमै फर्के

बाँझो जमिनमा तरकारी खेती
तिलागुफा नगरपालिका–५ का देवीकृष्ण न्यौपाने बाँझो जमिनमा तरकारी खेती गर्दै । तस्बिर : भरतराज विष्ट

कालीकोट : तिलागुफा नगरपालिका–५ धनाडा निवासी देवीकृष्ण न्यौपाने ३३ वर्षका भए। उनको जीवन कष्टकर छ। उनी नपढेका पनि होइनन्। हातमा सर्टिफिर्केट छ तर बेरोजगार छन्। जागिर खान त कसैको आसेपासे हुनुपर्ने उनको भोगाइ छ। उनी विगत केही वर्षदेखि गाउँदेखि बाहिर जुम्ला, सुर्खेत, नेपालगन्जलगायत अन्य देशका सहरी क्षेत्रहरूमा व्यापार गर्दै हिँडे। केही प्रगति नभएपछि उनी मानसिक तनावले हैरान हुन थाले। आफ्नै गाउँ धनाडामा खेतीपाती गर्ने, भैंसी पालन गर्ने, बंगुर पालन गर्नेसम्मका काम पनि गरे तर कतैबाट उनलाई दैनिकी चलाउने आर्थिक सहयोग जुटेन।

त्यसपछि उनले बाँझो जमिनमा तरकारी खेती गर्ने निर्णय गरे। घरमा श्रीमती र २ छोरी छन्। दुईवटी छोरीलाई विद्यालयमा पढाउनु छ, श्रीमती बेरोजगारी छिन्। तरकारी खेती गर्ने ज्ञान छैन। उनले भावुक हुँदै भने, ‘५ वर्षदेखि बाँझो रहेको खेतबारीलाई प्रयोग गरी तरकारी खेती सुरुवात गरेको छु। तरकारी खेतीको ज्ञान लिन युवा क्लबको सदस्य भएँ, संस्थाले गाउँमा लागू गरेका परियोजनामार्फत तालिम दिन्छन् भन्ने सुनेँ।’

उनी भन्छन्, ‘सबैले गाउँमा सिंह दरबार आयो भन्छन्, मैले सरकार देखेको छैन। सिंह मात्र देखेको छु।’ तिलागुफा नगरपालिका–५ धनाडाका देवीकृष्ण न्यौपानेले भने, ‘म धेरै भौंतारिएँ। मैले कहिल्यै पेटभरि खाना खाइनँ, राति सुतिनँ, दिनभरि अनेकन कुरा खेलाउँदै बस्थें। एक दिन जलवायुमैत्री कृषि प्रणालीमार्फत तरकारी खेती गर्नुपर्छ भन्ने ज्ञान उत्थान परियोजनाका नारद रेग्मीले बाटोमा सुनाए। सुनेको भोलिपल्टै मैले मेरो बारीमा टमाटर, काँक्रा, प्याजलगायत अन्य खेती गर्न थालेँ। तेस्रो वर्षदेखि मात्र अलि आस पलायो। तरकारी खेती गर्न पनि ज्ञान चाहिँदो रहेछ।’null

आजकाल युवाहरू आफ्नो गाउँ, देश छाडेर बाहिर गइरहेका छन्। न्यौपाने दिनभरि आफ्नो बारीमा टमाटर गोडमेल गर्छन्। उनले कागती र सुन्तलाका बिरुवा पनि उमार्ने काम गरेका छन्। उनको अबको योजना व्यावसायिक कृषि खेतीलाई अगाडि बढाउने रहेको छ। हाल वार्षिक तरकारी, टमाटरलगायत अन्य मौसमी खेतीबाट वार्षिक तीन लाख आम्दानी गर्छन्।

तिलागुफा नगरपालिकाका नगर प्रमुख शंकरप्रसाद उपाध्यायले स्थानीय स्तरमा भएका युवालाई आफ्नै गाउँमा आत्मनिर्भर बनाउन, स्थानीय वातावरणीय अनुकूलता र आधुनिक प्रविधिमा युवालाई गाउँप्रति प्रोत्साहन गर्न स्थानीय सरकारले योजना बनाएको बताए। उनले भने, ‘तरकारी खेतीमा यस्तै बेरोजगार युवालाई गाउँमै काम दिन उत्थान परियोजनासँग नगर सरकारले साझेदारी गरेको छ।’ यस्तै, उपप्रमुख महेन्द्रबहादुर शाहीले धनाडाका देवीकृष्णलगायत अन्य युवालाई पनि विभिन्न तरकारी खेतीको सुरुवात गर्न प्रेरित गरेको बताए।

देवीकृष्ण अबको सिजनमा काउली, बन्दाको खेती गर्ने र उक्त स्थानमा कुखुरा र बाख्रापालनका लागि पनि सुरुवात गर्ने बताउँछन्। स्थानीय युवाले गरेका यस्ता नमुना कार्यलाई प्रोत्साहन गर्दै कृषिमा आत्मनिर्भर गराउन सकिए बाहिर जाने जनशक्तिलाई गाउँमै रोक्न सकिन्छ। जसका लागि आत्मविश्वास, कृषिमा नवीनतम सोच र दिगो विकासका अवधारणा अपनाउन जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.