४ महिना अगाडि नै बन्यो सडक

४ महिना अगाडि नै बन्यो सडक

अर्घाखाँची : देशभर निर्माण व्यवसायीको ढिलासुस्तीले गर्दा अपूरा योजना र अलपत्र योजना धेरै छन्। कतिपय निर्माण व्यवसायीलाई राज्यका निकायले कारबाही गर्नु परेका उदाहरण पनि थुप्रै छन्। तर, यिनै नकारात्मक प्रवृत्तिबीच अर्घाखाँचीका एक निर्माण व्यवसायी भने समयअगावै काम गरेर सम्मानित भएका छन्।

अर्घाखाँचीको सन्धिखर्कमा मुख्य कार्यालय रहेको खनाल प्रतिभा जेभीले भूमिकास्थान नगरपालिकाअन्तर्गत पर्ने नरपानी–खाँचीकोट–ढिकुरा–पोखेडाँडा ९ सडकखण्डको निर्माणकार्य तोकिएको समयभन्दा चार महिना १० दिनअगावै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको छ। ३२ सय मिटर पिच तथा अन्य संरचनाका काम सम्पन्न गरेको सडक पूर्वाधार विकास कार्यालयका इन्जिनियर टोपबहादुर दर्लामीले बताए।

सडकखण्ड निर्माणकार्य सम्पन्न गर्न २०८२ साल कात्तिक महिनासम्मको म्याद तोकिएको थियो। तर, खनाल प्रतिभा जेभीले यो कार्य २०८१ असार ७ गते सम्झौता गरी निर्धारित म्यादभन्दा ४ महिना १० दिनअगावै पिचसहितको काम सम्पन्न गरेको हो। कम्पनीले कुल ८ करोड ६० लाखको लागतमा यो सडक निर्माणकार्य सम्पन्न गरेको हो। सडक पूर्वाधार कार्यालय, अर्घाखाँचीका प्रमुख गोपीराज पुनका अनुसार निर्माण गुणस्तरीय, मापदण्डअनुसार र समयमै सम्पन्न भएकाले कम्पनीलाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो।

सडक निर्माण कार्य समयअघि सम्पन्न गर्ने वरिष्ठ निर्माण व्यवसायी तथा सञ्चालक कविराम खनाललाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष काशीराम बस्याल, कृष्णप्रसाद बस्याल साथै अन्य इन्जिनियर, कर्मचारी, पत्रकार र व्यवसायीहरूको उपस्थिति थियो।

नगरप्रमुख श्रेष्ठले भने, ‘जब देशभर निर्माणकार्य ढिलो हुने, अनियमितता हुने र ठेक्का लिएर अलपत्र पार्ने प्रवृत्ति हाबी भइरहँदा, खनाल प्रतिभा जेभीले काम अगावै सम्पन्न गरेर नयाँ पाठ सिकाएका छन्।’ यस निर्माण कम्पनीले यसअघि पनि सन्धिखर्क नगरपालिकाअन्तर्गतका बजार क्षेत्रका सडकहरूमा अक्सफाल पिचको काम, विद्यालय निर्माण र अन्य पूर्वाधार योजनाहरू समयभन्दा अगाडि सम्पन्न गर्दै आएको छ।

यसअघि सम्पन्न गरेका हरेक योजनामा पनि समय पालना र गुणस्तर कायम राखिएको सञ्चालक कविराम खनाल बताउँछन्। ‘सम्झौताअनुसार समयमै योजना सम्पन्न गर्नु हाम्रो व्यावसायिक दायित्व हो। हाम्रा सबै योजनाहरू सम्झौता म्यादअघि नै सम्पन्न भएका छन्’, उनले भने।

कविराम खनाल अर्घाखाँची निर्माण व्यवसायी संघका सहअध्यक्षसमेत हुन्। समाजसेवामा सक्रिय खनाल विगत २० वर्षदेखि निर्माण व्यवसायमा लागेका छन्। उनले योजना लिने भनेपछि त्यसलाई समयमै सम्पन्न गर्नु इज्जतको कुरा भएको बताए। ‘व्यवसायमा नाफामात्रै होइन, विश्वास पनि कमाउनुपर्छ’, उनले भने। उनको नेतृत्वमा रहेको कम्पनी आफ्ना कर्मचारी, इन्जिनियर, उपकरण र स्रोतसाधनको उचित व्यवस्थापन गरी समयअगावै योजना सम्पन्न गर्न सफल भएको हो। सडक निर्माणले भूमिकास्थान नगरपालिका र वरपरका बासिन्दालाई सहज र सुरक्षित यात्रा सुविधा प्रदान गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.