झाँक्रीको अभिव्यक्तिपछि एकीकृत समाजवादीले भन्यो- पार्टीको आधिकारिक धारणासँग बाझ्ने अभिव्यक्ति नदिनू
काठमाडौं : नेकपा एकीकृत समाजवादीले पार्टीको आधिकारिक धारणासँग बाझ्ने अभिव्यक्ति नदिन उर्दी जारी गरेको छ। नेतृ रामकुमारी झाँक्रीले आइतबार 'मरेको सिनो काँधमा हालेर हिँड्न नसकिने भन्दै अध्यक्ष फेर्ने' अभिव्यक्ति दिएकी थिइन्।
सोही अभिव्यक्तिपछि पार्टी महासचिव घनश्याम भुसालले पार्टीको धारणा विपरीत सार्वजनिक अभिव्यक्ति नदिन उर्दी जारी गरेका हुन्।
'पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका सम्बन्धमा जेठ २२ गते प्रेस विज्ञप्तिमार्फत पार्टीको प्रारम्भिक धारणा स्पष्ट पारिसकिएको र यस परिस्थितिलाई कसरी सामना गर्ने भन्नेबारे अन्य आवश्यक निर्णय पार्टीले संस्थागत रूपमा गर्ने नै छ। तसर्थ पार्टीको आधिकारिक धारणासँग बाँझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ। पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख्न र कुनै पनि बहानामा सार्वजनिक वाद-प्रतिवादमा नउत्रिनसमेत आग्रह गर्दछ,' महासचिव भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
झाँक्रीले युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालका कारण पार्टीमा संकट आएकाले पार्टी पुनर्गठन गरेर जानुपर्ने बताएकी थिइन्। उनले नेपाललाई लक्षित गर्दै अब काँधमाथि मरेको सिनो हालेर हिँड्न नसकिने बताएकी थिइन्।
‘पार्टी बनाउने नै हो भने यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ, पार्टीमा अर्को ठूलो संकट छ। तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ, अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं, कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं।’ उनले भनिन्,‘अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ, कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ। कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ, अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।’
प्रतिक्रिया दिनुहोस !