किसानले धान दिवसमा नेतासँग मागे मल
नुवाकोट : धान दिवसका अवसरमा नुवाकोटका किसानले नेतासँग मल माग गरेका छन्। धान दिवसमा सहभागी भएका नेताहरूलाई किसानले रासायनिक मल माग गरेका हुन्। किसानहरूले खाद्यान्न तथा तरकारी बालीमा राख्नका लागि रासायनिक मल पाउन नसकेको कार्यक्रममा गुनासो गरे।
लिखु गाउँपालिका-६ को थानसिङमा धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागी भएका प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीलाई किसानले समस्या राखे। महतले किसानहरूको समस्या समाधान गर्न सरकार क्रियाशील हुनुपर्ने बताए। आवश्यक मल नपाउँदा कृषि प्रधान देश नेपालमा किसानलाई समस्या परेको र यसको समाधान सबै पक्षको सहकार्यबाट गर्नुपर्ने उनको भनाइ छ ।
उनले कृषिमा आधुनिक यन्त्र उपकरणको प्रयोग गरेर उत्पादन बढाइ युवा पलायन हुने कार्य नियन्त्रण गर्नुपर्ने बताए। नुवाकोटको वुहुनीवेशी, तुप्चे, थानसिङ, गेर्खुटार, बेलकोटगढी, मदानपुर, तादी, पञ्चकन्या, ककनी लगायतका स्थानमा धान रोप्दै महोत्सव गरिएका छन्। नुवाकोटमा मौसमका आधारमा चैते, बर्खे, भदैया, घैया, हिउँदे (बोरो)धानको खेती हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस !