रास्वपाको महामन्त्री दावी गर्दै मुकुल ढकालले दायर गरेको रिटको पेशी आज
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा.मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ। न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा रिटको पेशी तोकिएको छ।
न्यायाधीश कुमार रेग्मीको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै महामन्त्री पदबाट हटाउनुको कारण सोधेको थियो। छलफलमा निर्वाचन आयोगलाई पनि बोलाएको छ। असार ४ गते आयोगले ढकाललाई दिएको पत्रसहितको फाइल मगाएको हो। ढकाललाई रास्वपाको विवरण अद्यावधिक नभएको भन्ने लिखित जानकारीसहितको पत्र दिएको थियो।
ढकालले रास्वपाको महामन्त्री आफू नै भएको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय ,महामन्त्री कविन्द्र बुर्लाकोटी, पार्टीको प्रवक्ता मनिष झा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिवादी बनाउँदै रिट दायर भएको छ। रिटमा उत्प्रेषणको आदेश माग गरेका छन्।
पार्टी अनुशासनविपरीत अभद्र र अमर्यादित व्यवहार प्रदर्शन गर्नुको साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै रास्वपाले एक वर्षअघि उनलाई महामन्त्री,केन्द्रीय सदस्य र साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको थियो।
पार्टीले आफूलाई गरेको कारवाही अवैधानिक भएको उनको दावी छ।
प्रतिक्रिया दिनुहोस !