गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने एक जना पक्राउ
काठमाडौं : गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने एक जना पक्राउ परेका छन्। प्रहरीको साइबर ब्युरोले चितवन निवासी ३३ वर्षीय गुन्जन राईलाई पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार राईलाई ललितपुरको बाडेगाउँमा पक्राउ गरिएको हो।
सामाजिक सञ्जालमा अशिष्ट कमेन्ट र गालीगलौज गरेको आरोपमा गायिका चौहानले हालै साइबर ब्युरोमा उजुर दिएकी थिइन्। त्यही उजुरीको आधारमा राईलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। प्रहरी उपरीक्षक अवस्थीले अदालतमा म्याद थप गराई थप अनुसन्धान गर्ने तयारी भइरहेको बताए।
गायिका चौहानले आफूलाई लक्षित गरी अशिष्ट कमेन्ट र गालीगलौज गर्नेहरूविरुद्ध प्रतिकार गर्दै आएकी छन्। उनले फेसबुकमै त्यस्ता व्यक्तिहरूलाई एक्सपोज गर्दै आएकी छन्।
प्रतिक्रिया दिनुहोस !