वाईसीएल विराटनगरका पूर्वसदस्य पाण्डे अपहरण र डकैतीमा संलग्न

वाईसीएल विराटनगरका पूर्वसदस्य पाण्डे अपहरण र डकैतीमा संलग्न

विराटनगर : माओवादीमा आवद्ध कुशल पाण्डे व्यक्तिको अपहरण र डकैतीमा संलग्न रहेको खुलेको छ। उक्त आरोपमा पक्राउ परेका विराटनगर महानगरपालिका–११ का २६ पाण्डे नेकपा (माओवादी केन्द्र)मा आबद्ध छन्। माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) विराटनगरका पूर्वसदस्य पाण्डेले राजनीतिक आवरण र संरक्षणमा विभिन्न अपराध गरिरहेको पत्ता लागेको छ। अहिले उनी अपहरण र डकैतीमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। 

प्रहरीले बुधबार पक्राउ गरेर उनीविरुद्ध शरीर बन्धक बनाइ डाँका गरेको कसुरमा मुद्दा चलाउन बिहीबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ। तर, उनको योजनामा भएको यो पहिलो घटना भने हैन। यसअघि पाण्डेविरुद्ध दुईवटा ज्यान मार्ने उद्योग र एउटा अभद्र व्यवहारको मुद्दा चलिसकेको मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारले जानकारी दिए। 

उनका अनुसार मञ्जु तामाङको जाहेरीले इलाका प्रहरी कार्यालय रानीले पाण्डेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाएको थियो। त्यस्तै, स्माइल साफीको जाहेरीले ज्यान मार्ने उद्योग र प्रवेज आलमको जाहेरीले अभद्र व्यवहार मुद्दा चलेको डीएसपी सुनार बताउँछन्। ‘अहिले अपहरण र डकैतीमा संलग्न भएको पाइएपछि पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइएको छ,’ उनी भन्छन्, ‘यसअघि पनि तीनवटा मुद्दा चलिसकेको अभिलेखबाट प्रष्ट हुन्छ।’

मुद्दा चलेपछि पाण्डे फरार हुँदै आएका थिए। उनी फरार प्रतिवादीसमेत रहेको प्रहरी स्रोतले बतायो। गम्भीर अपराधमा संलग्न भए पनि उनलाई राजनीतिक संरक्षण मिलिरहेको थियो। माओवादीको संरक्षणमा समाजमा आतंक फैलाउने र दिनदहाडै तरबार प्रहार गर्नेजस्ता घटनामा उनी संलग्न रहँदै आएको प्रहरीको भनाइ छ। ‘पाण्डे अपराध नै अपराधले घेरिएका छन्। जे गरे पनि राजनीतिक संरक्षण मिल्यो। त्यही भएकाले उनले अपराधकर्म छाडेनन्,’ प्रहरी स्रोतले भन्यो। स्रोतका अनुसार अहिले पाण्डे पक्राउ परेपछि माओवादीका केही नेताले चासो लिइरहेका छन्। ‘छाडिदिनु’सम्म भन्न भ्याएका छन्। 

पछिल्लो अपहरण र डकैतीको मुख्य योजनाकार पाण्डे नै रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अपहरण र डकैतीमा संलग्न २ जना गत आइतबार पक्राउ परेका थिए। आफूलाई प्रहरी बताउने समूहले असार ११ गते बिहान विराटनगरका १ जना युवालाई अपहरण गरी डकैती गरेको थियो। डकैतीमा संलग्न विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी यसअघि पक्राउ परेका हुन्। उनीहरुमाथि शरीर बन्धक बनाइ डाँका गरेको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ। 

घटनापछि भागिरहेका वाईसीएलका नेता पाण्डेलाई प्रहरीले बल्ल पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको छ। पाण्डेले भने आफू वाईसीएल विराटनगरको अध्यक्ष भएको दाबी प्रहरीसमक्ष गरिरहेका छन्। तर, माओवादीका विराटनगर अध्यक्ष देव राजवंशीले पाण्डे वाईसीएलको पूर्वसदस्य मात्रै रहेको बताए। 

प्रहरीका अनुसार आफूलाई प्रहरी बताउने ३ जनाको समूहले असार ११ गते बिहान ११:१५ बजेतिर विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई अपहरण गरेर उनको साथमा भएको रकम लुटपाट गरेको थियो। त्यो समूहले विक्रमलाई सुरुमा विराटनगर–१३ को महतो टोलबाट अपहरण गर्‍यो।

मोटरसाइकल र स्कुटरमा रहेका ३ जनाले महतो टोलबाट अपहरण गरी विराटनगर आँखा अस्पताल छेउ हुँदै विराटनगर–१४ जतुवा पुर्‍याएर रकम लुटपाट गरी उनलाई छाडिदिएको थियो। भिनाजु विराटनगर–१५ का धर्मानन्द साहले दिएको ३ लाख ६४ हजार रूपैयाँ लिएर बैंकमा जम्मा गर्न जाँदै विक्रम अपहरणमा परेका थिए। अपहरण गरेर साथमा भएको रकम डकैती गरेपछि त्यो समूहले उनलाई छाडेको थियो। 

‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ’ भनेर अपहरणकारीले को १४ प ३३३० नम्बरको स्कुटरमा राखेर उनलाई लगेका थिए। त्यसपछि एकान्तस्थलमा पुर्‍याएर लुटपाट गरिएको थियो। हल्ला गरेमा मारिदिने धम्की दिँदै लुटेरा समूहले साथमा भएको रकम लुटपाट गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। त्यसपछि अपहरणमा प्रयोग गरिएको स्कुटरसहित प्रहरीले २ जनालाई पक्राउ गर्‍यो। पाण्डे भागिरहेका थिए। 

उनी अहिले लुटपाट गरिएको १ लाख ५० हजार नगदसहित पक्राउ परेका छन्। घटनामा पाण्डेले प्रयोग गरेर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। डीएसपी सुनार भन्छन्, ‘अपहरण तथा डकैतीका मुख्य योजनाकार कुशल पाण्डे हुन्। पाण्डेले योजना बनाएपछि अरु २ जनाले सहयोग गरेको देखिन्छ। घटनापछि उनी भागिरहेका थिए। बल्ल पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको छ। थप विषय अनुसन्धानपछि खुल्छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.