आमाको मृत्युपछि तीन छोरीको बिचल्ली

आमाको मृत्युपछि तीन छोरीको बिचल्ली
१४ दिने नवजात शिशुसहित बिचल्लीमा परेका ३ बालिका । तस्बिर : राजेन्द्र कार्की

जाजरकोट : भेरी नगरपालिका–२ रिसांगकी एक १४ दिने शिशु बिचल्लीमा परेकी छन् । रगतको अभावले आमाको मृत्यु भएपछि नवजात शिशुको बिचल्ली भएको हो ।

सुत्केरी भएपछि रगतको अभावले भेरी नगरपालिका–२ रिसांगकी २४ वर्षीया सारदा वलीको मृत्यु भएको थियो । सारदाको १४ दिनअघि जिल्ला अस्पताल जाजरकोटमा रगत अभावमा ज्यान गएको थियो । स्थानीय बिर्खबहादुर कार्कीले भने, ‘भूकम्पले घर भत्किएको छ, ओत लाग्ने बास छैन, छोरीहरू सानै छन् । श्रीमान् पनि सुस्तमनस्थितिका जस्ता छन् । आर्थिक अवस्था कमजोर छ । ती बालिका स्याहार्न निकै कठिन छ ।’

जेठी छोरी जमुना ६ वर्ष, माइली छोरी सुस्मिता २ वर्ष र भर्खर जन्मिएकी कान्छी छोरी सुनिता १४ दिनकी भइन् । ‘सुनिताको हेरचाह दिदी जमुनाले गरिरहेकी छन् । घरमा खाने अन्न छैन । कामाकाज केही छैन । श्रीमती (जोडा)को काल भैगो अब यी नाबालिका छोरीहरू कसरी स्याहारुँ ?’, श्रीमान् आनन्द वलीले दुखेसो पोख्दै भने, ‘बरु मै अभागीलाई कालले लिएको भए हुन्थ्यो ।’

छोराका आसमा अर्को सन्तान जन्माउँदा श्रीमतीको ज्यान नै गुमाउनु परेकामा उनलाई अहिले निकै पछुतो लागेको छ । आर्थिक अभावले गर्दा श्रीमतीले पोषणयुक्त खान पाइनन्, जसले गर्दा उनलाई रक्तअल्पता भयो । रगतको मात्रा निकै कम थियो । शिशुको जन्म त भयो तर रगत अभावमा बचाउन नसकिएको अस्पतालका डा.सुनील पुनले बताए । जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा समस्या छ । ब्लड बैंक नहुँदा रक्तदाता भेटिएमा सिधै रगत दिने व्यवस्था छ । तर, रगत दिने दाता खोज्दाखोज्दै उनको ज्यान गयो । ‘बचाउने प्रयास गर्दागर्दै बचाउन सकिएन’, डा.पुनले भने ।

आमाको मृत्यु भएको १३औं दिनको शुद्धि कार्यको दिनसम्म शिशुको हेरचाह गाउँले तथा आफन्तहरूले गरे तापनि आगामी दिनमा लालनपालनको जिम्मेवारी ६ वर्षीया जमुना वलीको थाप्लोमा आइपुगेको छ । ‘बुवा आनन्द पनि सुस्तमनस्थितिका छन् । त्यही भएर छोरीहरूको लालनपालनमा निकै समस्या हुन्छ’, स्थानीय टेकबहादुर रोकायले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.