प्रतिकूलताबीच सुधारतर्फ नेपाल वायुसेवा
कानुनी अवरोध, ऋणको दबाब र व्यवस्थापकीय चुनौतीका बीच आम्दानी, उडान विस्तार र सामाजिक जिम्मेवारीमा उपलब्धि
काठमाडौं : विगतका कानुनी, प्रशासनिक र व्यवस्थापकीय अवरोधहरूको छायामा रहेको नेपाल वायुसेवा निगम पछिल्लो तीन वर्षमा क्रमिक सुधार र पुनरुत्थानको चरणमा पुगेको छ। वाइडबडी विवाददेखि थन्किएका चिनियाँ विमान, महँगो ब्याजदरको ऋणदेखि सार्वजनिक खरिद ऐनको झन्झटसम्मका बाधा यसले झेल्ने गर्छ।
पुराना कानुनको जटिलता
निगम अझै पनि नेपाल वायुसेवा निगम ऐन, २०१९ अन्तर्गत सञ्चालित छ। बदलिँदो वायुसेवा उद्योगको आवश्यकताअनुसार न यो ऐन अद्यावधिक भएको छ, नयाँ विधेयक नै पारित भएको छ। सार्वजनिक खरिद ऐनअन्तर्गतको खण्ड ६७ (१)(ग) र (च) अनुसार निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने सार्वजनिक निकायले विमान खरिद गर्दा विशेष कार्यविधि प्रयोग गर्न सक्ने व्यवस्था छ।
तर, निगमको वायुयान, इन्जिन र उपकरण खरिद कार्यविधि २०७६ लाई अनुमोदन दिन सार्वजनिक खरिद अनुगमन कार्यालयले हालसम्म सहमति दिएको छैन। यसले नयाँ विमान खरिद प्रक्रियालाई अपारदर्शी र ढिलो बनाइरहेको निगमको गुनासो छ।
महँगो ऋणको गतिलो बोझ
निगमले १०.५० प्रतिशत ब्याजदरमा लिएको ऋणबाट दुई वाइडबडी र दुई न्यारोबडी विमान खरिद गरेको थियो। प्रवक्ता सुवास डाँगीका अनुसार इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईटा) का अनुसार सन् २०२४ मा विश्वका वायुसेवा कम्पनीहरूले औसत २.७ प्रतिशत खुद नाफा आर्जन गर्ने अनुमान गरिएको छ। जब कि निगमले तिर्नुपर्ने ब्याजदर बढी छ। यसलाई प्रतिस्थापन गर्न सस्तो ब्याजदरको ऋण लिने प्रस्तावमा अन्तर्राष्ट्रिय आशयपत्र आह्वान भई मूल्यांकनको चरणमा छ।
ग्राउन्डेड चिनियाँ विमानः अर्बौंको घाटा
पर्याप्त सम्भाव्यता अध्ययन नगरी खरिद गरिएका चिनियाँ विमानहरू सञ्चालन नहुँदा निगमलाई हालसम्म करिब २ अर्ब ५० करोड रुपैयाँ घाटा भएको अनुमान छ। हाल ती विमानहरू ग्राउन्डेड छन् र तिनको बिमा तथा न्यूनतम सञ्चालन योग्य स्थितिमा राख्न वार्षिक ३५ देखि ४० करोड रुपैयाँ खर्च हुने गर्छ। प्रवक्ता डाँगी भन्छन्, ‘यदि ती विमान सञ्चालनमै राख्न सकिएको भए, यस्तो आर्थिक क्षति टार्न सकिन्थ्यो। तर, सञ्चालन गर्ने अवस्थामा छैनन्।’
तीन वर्षमा आम्दानी दोब्बर
विगतमा घाटा व्यहोर्दै आएको निगमको आम्दानी पछिल्ला तीन वर्षमा दोब्बरभन्दा बढीले बढेको छ। महालेखापरीक्षकको प्रतिवेदनअनुसार, २०७७/७८ मा निगमको कुल आम्दानी ९ अर्ब ४६ करोड रुपैयाँ थियो। २०७८/७९ मा बढेर १७ अर्ब ३ करोड रुपैयाँ पुग्यो। त्यसको अर्को वर्ष, २०७९/८० मा आम्दानी झन्डै ४२ प्रतिशतले वृद्धि भई २४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।
निगमले स्थायित्वका लागि आन्तरिक कोष व्यवस्थापन प्रणाली स्थापना गरेको छ। यसैमार्फत सञ्चयकोष र नागरिक लगानी कोषसँग लिइएको ऋण नियमित रूपमा भुक्तानी गरिँदै आएको प्रवक्ता डाँगी बताउँछन्। ‘वर्तमान व्यवस्थापन आएयता निगमले ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ ऋण चुकता गरिसकेको छ,’ उनले बताए।
विदेशी मुद्रा भित्र्याउने प्रमुख संस्था
नेपाल वायुसेवा निगम विदेशी मुद्रा भित्र्याउने संस्थाहरूको अग्रपंक्तिमा उभिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई पटकसम्म निगमलाई औपचारिक रूपमा यसमा सम्मान गरिसकेको छ। १ अगस्ट २०२३ देखि ३१ अगस्ट २०२४ सम्म निगमले १० अर्ब ८० करोड ४० हजार ८७६ अमेरिकी डलर भित्र्यायायो।
विदेशी मुद्रा आम्दानीमा निरन्तर अग्रणी रहेकाले सरकारले हरेक वर्ष राष्ट्रिय पर्यटन दिवसको अवसरमा विशेष सम्मान गर्दै आएको छ। प्रवक्ता डाँगीका अनुसार, ‘निगमको अन्तर्राष्ट्रिय उपस्थिति मात्र हैन, नेपालको विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष योगदान हुने सेवा हो यो।’
गन्तव्य विस्तार
सेवा विस्तारको रणनीतिअन्तर्गत निगमले अन्तर्राष्ट्रिय तथा आन्तरिक गन्तव्यहरूमा विस्तारको नीति अघि बढाएको छ। निगमले अस्ट्रेलियाको सिड्नी र चीनको गोन्जाओमा उडान सुरु गर्न तयारी पूरा गरिसकेको छ। निकट भविष्यमा यी गन्तव्यमा नियमित सेवा सुरु गर्ने निगमले जनाएको छ।
‘नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरूमा कोरियाको इन्चोन, चीनको सांघाई, श्रीलंकाको कोलम्बो, भारतको अहमदाबाद, इन्डोनेसियाको जकार्ता, सिंगापुर, जर्मनीको फ्यांकफर्ट जस्ता स्थान छन्’, डाँगी भन्छन्। त्यसो त यसले सन् २०२३ मा नेपालबाट अन्तर्राष्ट्रिय उडानका यात्रु बोक्नेमा नेपाल एयरलाइन्स सबैभन्दा अघि आइरहेको छ। निगमले नेपालबाट भएको अवतरणमा ६ लाख ४५ हजार १ सय ६६ यात्रुलाई सेवा दिएर प्रथम स्थान प्राप्त गरेको छ।
सुरक्षा प्रणालीमा सुधार
नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा गरिएको सुरक्षा अडिटमा निगमको सेफ्टी म्यानेजमेन्ट सिस्टम कार्यान्वयन दर ६९.१९ प्रतिशतबाट बढेर ७७.०५ प्रतिशत पुगेको छ। त्यसैगरी, खतराजन्य वस्तु ओसारपसार गर्न प्रमाणपत्र प्राप्त गरेको निगमले दोहा, दुबई, हङकङ, दिल्ली, नारिता जस्ता गन्तव्यबाट यस्ता वस्तुमार्फत आय आर्जन विस्तार गरेको छ।
निगमले देशभरि रहेका सम्पत्तिहरूको उपयोग लगानी बोर्डसँग सहकार्य गरी संरचना विकास तथा आय आर्जनको खाका बनाएको छ।
सामाजिक उत्तरदायित्व
निगमले सामाजिक उत्तरदायित्वअन्तर्गत हवाई सेवा केवल व्यवसाय होइन, जीवनरक्षा र राष्ट्रिय कर्तव्यको माध्यम पनि हो भन्ने देखाएको छ। निगमका अनुसार सन् २०२४ मा १ हजार ४ सय ६५ क्यान्सर पीडित तथा कुरुवालाई टिकट छुट दिइयो। ज्येष्ठ नागरिकहरूलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने गरेको छ। इजरायल–हमास युद्धबाट प्रभावित २ सय ५४ नेपालीको उद्धार गरेको छ। जाजरकोट भूकम्प, हुम्ला दुर्घटना, म्याग्दी दुर्घटना, जुम्ला, ताल्चा र अन्य ठाउँहरूबाट आकस्मिक उद्धार उडान गरेको छ।
जहाज थप्ने योजना
निगमले ३ वटा जहाज खरिद गर्ने र २ जहाज लिजमा लिने प्रक्रिया अघि बढाएको छ। आन्तरिक तथा बाह्य उडानलाई बढाउन जहाज खरिद प्रक्रिया अघि बढाउन लागिएको निगमले जनाएको छ।
निगमले स्टल रुट (पहाडी तथा हिमाली जिल्लामा उड्ने) मा ३ वटा नयाँ जहाज खरिद गर्ने र अन्तर्राष्ट्रिय उडान भर्नका लागि २ न्यारोबडी लिजमा लिने प्रक्रिया अघि बढाएको जनाएको छ। अन्तर्राष्ट्रिय उडानका लागि २ न्यारोबडी विमान वेट लिजमा लिनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी प्रस्ताव प्राप्त भइसकेको छ। यसको मूल्यांकन समितिमा प्रस्तावहरू मूल्यांकनको प्रक्रियामा रहेको छ।
निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा (२ न्यारोबडी र २ वाइडबडी) जहाज छन् भने आन्तरिक उडानका लागि १ वटा ट्वीनअटरले उडान भर्दै आएको छ।
साथै, आन्तरिकतर्फ ट्रंक रुट (तराई तथा सुगम स्थानमा उड्ने) को २ विमान लिजमा लिने कार्यको लागि अध्ययन गर्न उपसमिति गठन गरिएको निगमले जनाएको छ। संसारमा चलेको प्रतिस्पर्धी दररेटमा प्रतिस्पर्धाबाट हाललाई कम्तीमा २ न्यारोबडी र २ नेपालमा चल्ने ट्रंकरुटका लागि ७०/८० सिट क्षमताको जहाजहरू छिटोछरितो गरी लिजमा लिएर सञ्चालन गर्ने निगमको योजना छ।
ग्राउन्डेड चिनियाँ विमान सञ्चालनमै राख्न सकिएको भए, निगमको आर्थिक क्षति टार्न सकिन्थ्यो। तर, सञ्चालन गर्ने अवस्थामा छैनन्।
सुवास डाँगी, प्रवक्ता - नेपाल वायुसेवा निगम
स्टल रुटमा चल्ने ट्विन अटर जहाज खरिदका लागि प्रदेश र स्थानीय निकायबाट लगानी अनुदानमा जुटाउने योजना बनाएको छ। निगमकै सञ्चालक र स्वामित्वरहने उक्त जहाजमा विमानको नामाकरण समबन्धित प्रदेशको नाम वा प्रदेशलाई चिनाउने कुनै संकेत वा चित्र कोर्न वा लेख्न सकिने भनिएको छ। प्रतिविमान ७.४ अमेरिकी डलरको मूल्य अनुमान गरिएको छ। यसका लागि निगमले कोशी र गण्डकी प्रदेशका मुख्य मन्त्रीसँग छलफल गरेको र कार्यदल बनाउने तयारी रहेको छ।
व्यावसायिक योजना संशोधन
निगमको सञ्चालक समितिबाट व्यावसायिक योजना २०२१–२०३० लाई संशोधन गरी व्यावसायिक योजना २०२२–२०३१ पनि कार्यान्वयनमा ल्याउने जनाएको छ। उक्त व्यावसायकि योजना अनुरूप निगमले पहिलो वर्षमा आन्तरिकतर्फ ३ स्टल, २ ट्रंक जहाज, दोस्रो वर्षमा आन्तरिकतर्फ २ स्टल, २ ट्रंक जहाज र अन्तर्राष्ट्रियतर्फ २ न्यारोबडी जहाज खरिद गर्ने, तेस्रो वर्षमा अन्तर्राष्ट्रियतर्फ १ वाइडबडी र २ न्यारोबडी जहाज खरिद गर्ने र चौथो वर्षमा अन्तर्राष्ट्रियतर्फ १ वाइडबडी जहाज खरिद गर्ने भनेको छ।
यस योजनाअनुरूप चौथो वर्षको अन्त्यसम्ममा निगमसँग आन्तरिकतर्फ कुल ९ जहाज (५ थान स्टल र ४ थान ट्रंकतर्फका जहाज) र अन्तर्राष्ट्रियतर्फ कुल ६ जहाज (२ थान वाइडबडी र ४ थान न्यारोबडी) गरी जम्मा १५ नयाँ विमान थप्ने योजना छ। उक्त योजनाअनुसार आन्तरिकतर्फको स्टल जहाज खरिद गर्न अनुमानित ८६ करोड प्रतिविमान, ट्रंक जहाज खरिद गर्न अनुमानित २ अर्ब प्रतिविमान र अन्तर्राष्ट्रियतर्फको न्याराबडी जहाज खरिद गर्न अनुमानित ६ अर्ब प्रतिविमान तथा वाइडबडी जहाज खरिद गर्न १३ अर्ब प्रतिविमान अनुमानित खरिद लागत लाग्ने देखिन्छ।
उक्त व्यावसायिक योजनाले गरेको सम्भाव्यता अध्ययनको आधारमा दिल्ली सेक्टरमा दिनको तीनवटा उडान सञ्चालन गरिने छ। त्यसैगरी, मुम्बई, दोहा, दुबई, क्वालालाम्पुर जस्ता गन्तव्यहरूमा साताको सातै दिन उडान सञ्चालन गरिनेछ र नयाँ गन्तव्यहरू कोरियाको इन्च्योन, चीनको सांघाई, श्रीलंकाको कोलम्बो, भारतको अहमदाबाद, इन्डोनेसिया जकार्ता, सिंगापुर, अस्ट्रेलियाको सिड्नी र जर्मनीको फ्रयांकफर्ट (ईयूको सेफ्टी लिस्टबाट हटेपछि) मा उडान सुरु गरिने योजना छ। यस्तै लामो समयदेखि उडानको प्रतिक्षामा रहेको सिड्नी उडान स्वीकृतिको अन्तिम चरणमा रहेको जनाएको छ।
आन्तरिकतर्फ पर्यटकीय गन्तव्यहरू लुक्ला, पोखरा, जोमसोम, भैरहवा जस्ता गन्तव्यहरूमा नियमित उडान सञ्चालन गरी आयवृद्धि गरिने योजना छ। विकट क्षेत्रहरूलाई प्राथमिकता दिँदै हाल प्रदान गरिरहेको सेवामा थप सेवा विस्तार गर्दै ट्रंक रुटहरूमा व्यावसायिक उडान गरिनेछ।
प्रतिक्रिया दिनुहोस !