तुलसी रोपेर मनाइयो हरिशयनी एकादशी
काठमाडौं : आषाढ शुक्ल एकादशीका दिन आज घरघरमा तुलसीको बिरुवा सारिएको छ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मठमा तुलसीको बिरुवा सारिने परम्परा छ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मठमा राखिएको दलका बिरुवा आज मठमा सारिएको हो। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको संस्कृतिविद्हरूको भनाइ छ ।
भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।
तुलसीको मठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ। वास्तु दोष भएका स्थानमा तुलसीको मठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ ।
चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।
प्रतिक्रिया दिनुहोस !