पाँचदिनअघि हराएका युवक सिन्धुलीगढी नजिकै मृत फेला
सिन्धुली : पाँच दिनअघि हराएका कमलामाई नगरपालिका- ११ कुलोखोलाका प्रदिपराज थापा मृत अवस्थामा फेला परेका छन् । उनको शव मंगलबार कमलामाई नगरपालिका -२ स्थित सिन्धुलीगढी नजिकै पौवागढीबाट करिब २५ फिट तल भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता तथा डीएसपी सूर्य प्रकाश सुवेदीका अनुसार थापा गत १९ गते बिहीबारबाट बेपत्ता भएका थिए । पुरुष मृत अवस्थामा भेटिएको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थल पुगेको थियो। अनुसन्धानका क्रममा मृतक थापा भएको पहिचान खुलेको थियो ।
शव पोस्टमार्टमको लागि सिन्धुली अस्पतालमा पठाइएको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता सुवेदीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !