मितेरी पुल निर्माण गर्न चीनसँग समन्वय गर्छौं : विपद् प्राधिकरण
काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल-चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल निर्माण गरी आवागमन सूचारु गर्न चीनसँग समन्वय गर्ने बताएको छ।
बुधबार सिंहदरबारमा आयोजित पत्रकार भेटघाटमा प्राधिकरणका कार्यकारी निर्देशक दिनेश प्रसाद भट्टले पुल र चीनतर्फको बाटो पुनः निर्माण गरी केरुङ नाका सुचारु गर्न चीनसँग समन्वय गर्ने निर्णय भएको बताए।
उनले बाढीका कारण बेपत्ता स्वदेशी र विदेशी व्यक्तिको सकुशल खोज-उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाइएको जानकारी दिए। बाढीका परी ९ जनाको शव फेला परेको र १९ जना बेपत्ता रहेको उनले बताए।
भट्टले रसुवागढी क्षेत्रमा मात्रै ३८३ सुरक्षाकर्मी परिचालन गरी ५७ जनाको तत्कालै उद्धार गरिएको जिकिर गरे। बाढीले २४ वटा कन्टेनर, ३५ वटा विधुतीय गाडी, ६ वटा ट्रक बगाएको उनले जानकारी दिए। उनले भोटेकोशी नदीमा अत्यधिक वर्षा भएर नभइ अन्य कारण नै बाढी आएको देखिएको भन्दै थप अध्ययन भइरहेको बताए।
प्रतिक्रिया दिनुहोस !