विकास खर्च ५९.१३ प्रतिशत मात्रै, अन्तिम दिन ५० अर्बको दाखिला

विकास खर्च ५९.१३ प्रतिशत मात्रै, अन्तिम दिन ५० अर्बको दाखिला
सुन्नुहोस्

काठमाडौं : सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ८ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ विकास खर्च गरेको छ । जुन, लक्ष्यको ५९.१३ प्रतिशत मात्रै हो । चालु आवमा पुँजीगत खर्च (विकासतर्फ) ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन थियो ।  जबकि गत आर्थिक वर्षको सोही अवधिमा ५६.९७ प्रतिशत विकास बजेट कार्यान्वयन भएको थियो ।

अर्थात् १ खर्ब ७२ अर्ब  ९ करोड २२ लाख रुपैयाँ खर्च भएको थियो । गत वर्षको तुलनामा चालु आवमा २.१६ प्रतिशतले बढी खर्च भएको छ । यससँगै रकमको आधारमा पनि ३६ अर्ब २५ करोड १५ लाख रुपैयाँ बराबर बढी खर्च भएको छ । यसपटक कुल विकास खर्चको रकम पनि गत वर्षभन्दा बढी थियो । आर्थिक वर्ष २०८०/८१ मा विकास खर्च ३ खर्ब २ अर्ब रुपैयाँ थियो । आव २०८१/८२ मा बढाएर ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख पुर्‍याएको थियो । 

चालु आवको विनियोजित विकास खर्च रकमको भुक्तानीका लागि दाखिला गर्ने अन्तिम मिति (असार २५ गते राति १२ बजेसम्म) थियो । यसअनुरूप सरकारले चालु आवमा लक्ष्यअनुसार खर्च गर्न नसक्दा १ खर्ब ४४ अर्ब रुपैयाँ फ्रिज भएको छ । हुनत सरकारले कहिल्यै पनि शतप्रतिशत खर्च गर्न सकेको छैन । औसत ६० प्रतिशत हाराहारीमा मात्रै खर्च गर्ने गरेको छ । 

अर्थ मन्त्रालयका सहायक प्रवक्ता अम्बिकाप्रसाद  खनाल यसपटक सरकारले गत वर्षभन्दा पुँजीगत खर्च बढी गर्न सफल भएको बताउँछन् । ‘समग्र रूपमा सबै क्रियाकलाप गत वर्षको भन्दा सुधार भएको छ,’ खनालले भने, ‘असार २५ सम्म खर्च नभएको रकम फ्रिज भएको छ । वित्तीय उत्तरदायित्व ऐन,  नियमावलीअनुसार सो अवधिपछि खर्च गर्न पाइँदैन । विकास खर्चदेखि राजस्व संकलन लक्ष्यअनुसार पूर्ण नभए पनि सकारात्मक छ,’ सहायक प्रवक्ता खनालले अन्नपूर्णसँग भने । 

सरकारले असार २५ गतेसम्म भुक्तानीका लागि दाखिला गर्ने अन्तिम मिति तोके पनि पुँजीगत अनुदानमार्फत हुने खर्च थपिँदा असार मसान्तसम्ममा थप विकास खर्च देखिन सक्ने उनले जानकारी दिए । गत आवको असार मसान्तसम्म पनि पुँजीगत खर्चको रकम जोडिदा विकास खर्च लक्ष्यको ६३.६४ प्रतिशत अर्थात् १ खर्ब ९१ अर्ब रुपैयाँ हाराहारी देखिएको थियो । 

अन्तिम दिन मात्रै ५० अर्ब ६५ करोडको दाखिला

सरकारको विकास (पुँजीगत) खर्चको गति पुरानै शैलीमा देखिएको छ । आव २०८१/८२ को अन्तिम महिनाको  अन्त्यमा बढी खर्च हुने गरेको छ । यो यसपटक पनि अन्तिम दिन असार २५ गते मात्रै ५० अर्ब ६५ करोड २८ लाख रुपैयाँ बराबरको भुक्तानीको दाखिला भएको छ । अघिल्लो दिन असार २४ गतेसम्म विकास खर्च १ खर्ब ५७ अर्ब ६९ करोड रुपैयाँबराबर भएको थियो । जुन कुल लक्ष्यको ५२.२० प्रतिशत थियो । भोलिपल्ट थप ६.९३ प्रतिशत थप खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ । 

बजेटको ८०.९० प्रतिशत खर्च
सरकारले समग्रमा चालु, पुँजीगत र वित्तीय खर्चअन्तर्गत कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ हाराहारीमा खर्च गर्ने लक्ष्य राखेको थियो । चालु आवको असार २५ गतेसम्ममा कुल लक्ष्यको ८०.९० प्रतिशत अर्थात् १५ खर्ब ५ अर्ब १९ करोड ६३ लाख रुपैयाँ खर्च गरेको छ । यसमा तलब तथा भत्ता खुवाउन छुट्ट्याएको चालु खर्चको हिस्सा अधिक नै छ । 

यसपछि वित्तीय खर्च र विकास खर्चको हिस्सा कम छ । यसर्थ कुल विनियोजित बजेटको सबैभन्दा बढी हिस्सा ओगट्ने चालु खर्च अर्थात् तलब तथा भत्ताका लागि नै ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ बराबरको खर्च लक्ष्य लिइएको थियो । यसमध्ये हालसम्म चालु खर्चअन्तर्गत ८५.८२ प्रतिशत अर्थात् ९ खर्ब ७८ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ खर्च भएको छ । 

यसपछि सरकारले लिएको ऋणको किस्ता, साँवा तथा ब्याज क्रमशः भुक्तानी गर्न वित्तीय व्यवस्था (फाइनान्सिङ)का लागि ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ छुट्ट्याइएको थियो । यसमध्ये असार २५ सम्म वित्तीय व्यवस्थाअन्तर्गत ८६.५६ प्रतिशत अर्थात् ३ खर्ब १७ अर्ब ९० करोड ६० लाख रुपैयाँ खर्च  भएको छ । सरकारलाई खर्च गर्ने मुख्य स्रोत राजस्वले नपुगेपछि बाह्य र आन्तरिक ऋण लिने गर्छ । सोही ऋणको आकार तथा दायित्व बर्सेनि बढ्दै गएकाले भुक्तानीको भार पनि बढ्दै गएको छ । यसैकारणले पनि चालु आवमा विकास खर्चमा साढे ३ खर्ब हाराहारीमा बजेट विनियोजन गर्दा वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । 

राजस्व संकलन १ खर्ब ८ अर्ब बढी
असार २५ गतेसम्म सरकारले राजस्वमार्फत १० खर्ब ९७ अर्ब रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षभन्दा १ खर्ब ८ अर्बले बढी हो । अर्थात लक्ष्यको ७७.३४ प्रतिशत राजस्व संकलन भएको छ । कर राजस्वबाट सबैभन्दा बढी अर्थात् ९ खर्ब ९३ अर्ब ८८ करोड, गैरकर राजस्वबाट १ खर्ब ३ अर्ब ८४ करोड ७२ लाख, अनुदानबाट २२ अर्ब ३ करोड २७ लाख रुपैयाँ र बाँकी अन्यबाट ११ अर्ब ९३ करोड ४२ लाख रुपैयाँ संकलन भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.