८ वर्षदेखि अङ्गुर खेतीमा गुल्मीका प्रकाश
गुल्मी: रेसुङ्गा नगरपालिका–८, खानीगाउँका प्रकाश भलामी विगत ८ वर्षदेखि अङ्गुर खेतीमा सक्रिय छन्। उनले भैरहवाबाट अङ्गुरका केही बिरुवा ल्याएर तम्घासमा परीक्षणका रूपमा रोपेका थिए। रोपेको तीन वर्षपछि फल दिन थालेका ती बिरुवाले अहिले राम्रो उत्पादन दिन थालेका छन्।
हाल भलामीले घर वरपर टनेल निर्माण गरेर अङ्गुरसँगै तरकारी खेतीसमेत गर्दै आएका छन्। उनका अनुसार यस वर्ष हालसम्म ३५/४० केजी अङ्गुर बिक्री भइसकेको छ भने केही अझै बिक्री गर्न बाँकी छ। तम्घास बजारमा उनले उत्पादन गरेको अङ्गुर प्रतिकेजी ३०० रुपैयाँमा बिक्री भइरहेको छ। अर्गानिक, गुलियो र रसिलो भएकाले उपभोक्ताको माग समेत दिन प्रतिदिन बढ्दो छ ।
‘अघिल्लो वर्ष ७०/८० किलो अङ्गुर बिक्री भएको थियो। अङ्गुरका लागि आवश्यक तालिम, सीप र प्राविधिक ज्ञानको कमीले यसपालि विगतभन्दा केही उत्पादन घटेको छ। तम्घास आसपासका क्षेत्र व्यावसायिक अङ्गुर खेतीका लागि उपयुक्त देखिन्छन् त्यसबारे राम्रोसँग बुझेर लगानी गरे राम्रै प्रतिफल हात पार्ने सकिन्छ’, उनले भने।
आवश्यक प्राविधिक सहयोग, तालिम र बजारीकरणको व्यवस्थाले गुल्मी जिल्लामा अङ्गुर खेतीलाई नयाँ उचाइमा पुर्याउन सक्ने अपेक्षा गरिएको छ। उनको यो प्रयास अहिले अन्य स्थानीय किसानहरूका लागि प्रेरणा बन्दै गएको छ। पछिल्ला केही वर्षयता रेसुङ्गा नगरपालिका क्षेत्रमा अङ्गुर खेतीप्रति किसानको चासो बढ्न थालेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ। जिल्लामा सुन्तला, किवी, लिचीजस्ता फलफूलको उत्पादन राम्रै भए पनि अङ्गुर खेती अझै प्रारम्भिक चरणमै सीमित छ।
यद्यपि किसानहरूको चासो बढिरहेको भए पनि आवश्यक तालिम र प्राविधिक ज्ञानको अभावले व्यावसायिक खेतीमा चुनौती देखिएको छ। कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नरेश धितालका अनुसार कृषकले माग गरेअनुसार आगामी वर्षको कार्यक्रममै अङ्गुर खेतीलाई प्राथमिकता दिने तयारी छ।
उनका अनुसार समुद्री सतहदेखि ६०० देखि १५०० मिटर उचाइसम्मको भूभाग अङ्गुर खेतीका लागि उपयुक्त मानिन्छ। गुल्मीका कालीगण्डकी, सत्यवती, चन्द्रकोट, मुसिकोट, मालिका, मदाने, धुर्कोट लगायतका क्षेत्रमा अङ्गुर खेतीको राम्रो सम्भावना रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !