लागूऔषधसहित ६ युवक पक्राउ
नुवाकोट : नुवाकोटको सिमुटारबाट प्रतिबन्धित लागू औषधसहित ६ जना युवक पक्राउ परेका छन्।
पासाङल्हामु सडकमार्गस्थित विदुर नगरपालिका-१ सिमुटारमा तीन जना र छानबिनका क्रममा अन्य तीनजना गरी ६ जना युवकलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
बा८६प ८८९२ नम्बरको स्कुटरमा लागूऔषध ओसारपसार गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी अधिकृतसहितको टोलीले सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा लागू औषधसहित पहिलो चरणमा तीन जना युवकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए।
उनका अनुसार उनीहरूलाई पक्राउ गरी सोधपुछ तथा अनुसन्धानको क्रममा प्रतिबन्धित लागूऔषध खरिद बिक्री तथा ओसारपसार कार्यमा संलग्न रहेको जानकारीका आधारमा अन्य तीन जना युवकलाई समेत पक्राउ गरिएको हो। उनीहरूलाई आइतवार नुवाकोट जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसुरमा सात दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान कार्य भई रहेको डीएसपी लामाले बताए।
लामाका अनुसार पक्राउ परेकाहरुमा पाँच जना विदुर नपा र एकजना किस्पाङ गापाका युवक रहेका छन्। प्रहरीले बरामद गरेको लागुऔषधहरूमा ट्रामन–५० लेखिएको ९२ पत्तामा जम्मा ९ सय २० क्याप्सुल, नुफिन लेखिएको १५ एम्पुल, प्रोमेथाइजिन ह्ड्रोकोलोराइड लेखिएको १५ एम्पुल र डाएजेपाम लेखिएको १५ एम्पुल गरी कुल ४५ एम्पुल जम्मा १५ सेट रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !