नुवाकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषित
नुवाकोट : नुवाकोट जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित गरिएको छ। विदुरमा आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले १२ वटा स्थानीय तह रहेको नुवाकोटलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्राप्त जिल्ला घोषणा गरे। उनले स्वास्थ्य अधिकार नागरिकको मौलिक अधिकार भएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
१६ देखि २३ महिनासम्म उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप १५ महिनाको उमेरभित्र लगाएको प्रमाणित भएपछि नुवाकोटले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको मापदण्ड पूरा गरेको हो। यसअघि जिल्लाका सबै १२ वटा स्थानीय तहहरूलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिसकिएको थियो।
नुवाकोटका १२ वटै स्थानीय तहका ८८ वडामा १६ देखि २३ महिनासम्मका कूल ४ हजार ५७७ जना बालबालिकाले पूर्ण खोप लगाएका छन्।
प्रतिक्रिया दिनुहोस !