बाढीले क्षतिग्रस्त खानेपानको संरचना मर्मत

बाढीले क्षतिग्रस्त खानेपानको संरचना मर्मत
सुन्नुहोस्

नुवाकोट : दुई साता अगाडि बाढीले बगाएको विदुर खानेपानीको मुहान सुरक्षाकर्मी परिचालन गरेर मर्मत गरिएको छ। बाढी र पहिरोले ठूलो उपकरण लैजान नसकेपछि सुरक्षाकर्मीसहितको टोलीले बिहीबार नुवाकोटको सदरमुकाममा आपूर्ति गर्दै आएको पिउने पानीको मुहान मर्मत गरेर टयांकीमा पानी पठाइएको छ। 

फलाखु खोलामा आएको बाढीको कारण विदुर नगरपालिका-१० स्थित महभीरमुनि रहेको विदुर खानेपानीको मुहानको संरचनामा क्षति पुर्‍याएको थियो। बाढी तथा पहिरोले क्षति बनाएको मुहानमा पुगेर ३५ जना नेपाली सेना, १० जना नेपाल प्रहरी, १५ जना सशस्त्र प्रहरी, जनप्रतिनिधि, प्राविधिक, कामदार, खानेपानीका सम्पूर्ण संयन्त्र पुगेर क्रेट जाली हालेर बाँध बनाउनुका साथै कुलोसमेत खनिएको विदुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष सञ्जीव बहादुर श्रेष्ठले बताए। 

उनका अनुसार एक दिनभरीको मर्मत तथा पुनर्निर्माणपछि अव विदुर खानेपानीको पानी सञ्चालनको अवस्थामा रहेको छ। पानीको मुहानको संरचना बगाउँदा उक्त समिति अन्तर्गत रहेको पाँच हजार उपभोक्ता पिउने पानीको समस्यामा रहेका थिए। 

नुवाकोटको विदुर, बट्टार, इनारपाटी लगायतका मुख्य बजार क्षेत्रमा पछिल्लो एक दुई सातादेखि खानेपानीको चरम अभाव भएको छ। फलाखु खोलमा आएको बाढीले खानेपानीको नहरमा क्षति पुर्‍याएपछि नियमित पानी आपूर्ति नहुँदा बजार क्षेत्रमा पानीको अभाव भएको समितिका सचिव राजेन्द्र पाण्डेले बताए। 

‘मुहानको संरचना मर्मत तथा पुनर्निर्माण गरिएको छ, ठूलो बाढी नआए अब पानी चल्छ,’ सचिव पाण्डेले भने। उनका अनुसार संरचना मर्मत तथा पुनर्निर्माणका लागि सुरक्षाकर्मी, समितिका संयन्त्र, उपभोक्तासमेत गरि डेढ सय जना परिचालित भएका थिए। 

खानेपानी समितिले पानीको मुहानमा भएको अवरोध हटाउने प्रयास गरे पनि सम्भव नभएपछि सुरक्षाकर्मीको सहायता लिइएको हो।  पानीको संरचना मर्मत र पुनर्निर्माणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित खानेपानी समितिका पदाधिकारीहरूको टोलीले काम गरेको हो। 

बर्खा लागेपछि विदुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत सञ्चालित खानेपानीको उक्त मुहानमा बाढी पहिरोको चपेटामा परि समस्या हुने गरेको मर्मत तथा पुनर्निर्माणमा सहभागी समितिका पूर्व उपाध्यक्ष हरिशरण गजुरेलको भनाइ छ। उनका अनुसार फलाखु खोला मुहान बर्खासँगै बगाउने गरेकाले विगत लामो समयदेखि नै खानेपानीको समस्या प्रत्येक बर्खाको समयमा हुने गरेको छ।

खानेपानीको अभाव भएपछि समितिले सदरमुकाम क्षेत्रमा धारामा लोडसेडिङ गर्न थालेको छ। धारामा पानी नआएपछि मानिसहरूको खानेपानी भर्नका लागि सार्वजनिक धाराहरूमा भिड लाग्ने गरेको विदुर २ का वडाध्यक्ष दीपक कायस्थको भनाइ छ।

बट्टार र विदुरका सार्वजनिक धाराहरूमा पानी भर्न हाल लामो लाइन लाग्ने गरेको छ। उक्त समितिले पहिलो पटक त्रिशूली बजार क्षेत्रमा समेत पानीको ग्राहक विस्तार गरेको छ। त्रिशूली बजारमा झण्डै १० वटा ग्राहकले विदुर खानेपानीको धारा जडान गरेको समितिका सदस्य दीपक तिम्सिनाको भनाइ छ। यस वर्ष पनि असारदेखि विदुर नपाको १, २, ४, ५, ६, ८ र ९ का उपभोक्ताले उपभोग गरिरहेको खानेपानीमा बाढी पहिरोका कारण समस्या भएको छ।

विदुर नगर क्षेत्रमा पानीको अभाव हुन नदिन बट्टारको बोरिङबाट निकालिएको पानी आलोपालो प्रणालीमा वितरण गरिएको समितिका कार्यालय प्रमुख राजकुमार तिम्सिनाले बताए। उनका अनुसार मुहानमा गेगर आएर थुप्रिएपछि अवरोध हटाएर मर्मत र पुनर्निर्माण गरिएको छ, अव पानी सञ्चालन गर्न सुविधा हुनेछ।खोलाले आफ्नो धार परिवर्तन गरेकोले मुहानबाट खानेपानी सञ्चालन हुन नसकेको कारण सुरक्षाकर्मी लगायत सबैको सहभागितामा मर्मत कार्य गरिएको बताए। बाढीले मुख्य नहरमा झण्डै एक महिनादेखि हजारौं उपभोक्ताहरूले पानीको अभाव झेलिरहेका थिए। 

बजार क्षेत्रमा पानीको अभाव कम गर्न वैकल्पिक रूपमा प्रयोग हुँदै आएको बट्टार र विदुरको डिपबोरिङको खानेपानी अस्थायी रूपमा वितरण गरिएको समितिका उपाध्यक्ष नवराज न्यौपानेले बताए। वर्षात् लागेपछि पहिराको कारण धारामा पानी आउन छाडेपछि उपभोक्ता स्थानीय ढुंगेधारा, खोल्सीको पानी र आकासे पानी संकलन गरी उपभोग गर्न बाध्य भएका थिए।

यसअघि, खानेपानीको क्षतिग्रस्त मुहानको विदुर नपा मेयर राजन श्रेष्ठले स्थलगत अवलोकन गरेका थिए। नगरपालिकाले  समितिलाई पानी आपूर्ति प्रणाली प्रभावकारी बनाउन आवश्यक सहयोग र समन्वय गरिरहेको भन्दै आगामी दिनमा पनि सहयोग गरिरहने प्रतिबद्धता जनाए।

विदुर नपाको बजार क्षेत्रमा पानीको निकै अभाव भएपछि नगरपालिकाले  ट्याङकरबाट निःशुल्क पानी वितरण गरेको छ। नगरपालिकाले  विभिन्न बजार पुगेर आफ्नै ट्यांकरबाट पानी वितरण गरेको हो। बजार क्षेत्रमा पानीको अभाव भएपछि मेयर श्रेष्ठले ट्याङकरबाट पिउने पानी वितरण गर्न निर्देशन दिएपछि खानेपानी वितरण गरिएको हो। विदुर नपाभित्र उपभोक्ताहरूलाई वितरण गरिएको खानेपानी सेवा वर्षातले गरेको क्षतिले खानेपानी वितरणमा भएको असहज परिस्थितिका सन्दर्भमा मेयर राजन श्रेष्ठमार्फत सरोकारवाला निकायसँग छलफल तथा अवरुद्ध भएको खानेपानी सेवा सुचारु गराउन आवश्यक निर्देशन दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.