गुल्मीमा ७८ प्रतिशत धान रोपाइँ
गुल्मी : गुल्मी जिल्लामा असार महिनाको अन्तिम सातासम्म कुल ७८.४ प्रतिशत धान रोपाइँ सकिएको छ। कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार जिल्लाभर ४७ हजार २८५ हेक्टर खेतीयोग्य जमिन छ। त्यसमध्ये करिब ७ हजार ४३९ हेक्टर जमिनमा मात्रै वर्षे धान रोपाइँ हुने गर्दछ। अहिले सम्म ५ हजार ८३५ दशमलव ४ हेक्टर क्षेत्रमा धान रोपाइँ भइसकेको छ। गत वर्ष साउनको पहिलो साता मात्र रोपाइँ सुरु भएकोमा यस वर्ष भने असारमै रोपाइँ तीव्र गतिमा भएको छ। यद्यपि, मनसुन कमजोर हुँदा सिँचाइको अभाव भएका पाखा र उच्च भेगका क्षेत्रहरूमा अझै रोपाइँ बाँकी रहेको कार्यालयको भनाइ छ।
गुल्मीका अधिकांश खेतहरूमा रोपाइँ सकिएको छ। तर, चैते धान रोपाइँ भएका र सिँचाइको सुविधा नपुगेका खेतमा अझै रोपाइँ बाँकी रहेको छ। केही खेतमा चैते धान वा मकै लगाइएको छ। ती खेतमा मकै तथा धान भित्र्याउने काम भएका ती खेतमा पनि अझै वर्षे धान रोप्न बाँकी रहेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नरेश धितालले जानकारी दिए। यो वर्ष पानी समयमै नआएकाले वर्षे धान रोपाइँमा ढिलाइ भएको किसानहरूको गुनासो छ। पानी अभावकै कारण केही किसानले रोपाइँ गर्ने समय कुरेर बसेका छन्। यहाँका केही स्थानमा चैते धान खेती पनि गरिन्छ। तर पछिल्लो समय यो पनि घट्दै गएको छ।
आर्थिक वर्ष २०८०/८१ मा चैते धान ३१९ हेक्टर क्षेत्रमा खेती गरिएको थियो। यस वर्ष त्यो घटेर ३०२ हेक्टरमा सीमित भएको छ। उत्पादन पनि थोरै घट्ने अनुमान गरिएको छ। गत वर्ष १ हजार २८६ मेट्रिक टन चैते धान उत्पादन भएकोमा यो वर्ष करिब १ हजार २२५ टन मात्र उत्पादन हुने अनुमान गरिएको कार्यालय प्रमुख धितालले बताए।
चैते धान खेती घट्नुमा वैदेशिक रोजगार, जनशक्ति अभाव र बसाइँसराइजस्ता कारणले असर परेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नरेश धितालले जानकारी दिए। यहाँका खेतमा धानको विभिन्न जात रोपिन्छ। स्थानीय जातमा मार्सी, हंशराज, झोप्री, झिनुवा, कोदे, भट्टे, बडियारे, गुडुरो जस्ता जात लोकप्रिय छन्। उन्नत जातका धानमा सावाँ–१, रामधान, हिमाली प्रयोग गरिन्छ। चैते धानका लागि चैते–५, सीएच–४५, हर्दिनाथ–१ मुख्य जात हुन्।
कालीगण्डकी गाउँपालिकाको अर्बेनी, कनौटा, छापचौर, चन्द्रकोटको मजुवा, रुपाकोट, सत्यवतीको लिम्घा, अस्लेवा, मुसीकोटको तलोफाँट, भुवाचिदी, मालिका, मदाने, धुर्कोटको हुलाके र इस्माको चौरासी फाँट लगायतका थुप्रै स्थानमा धान खेती हुने गरेको कार्यालयले जनाएको छ। अहिले जिल्लामा चामलको माग अत्यधिक बढेको छ। पहिले गाउँघरमा मकै, फापर, कोदोको पनि राम्रो खपत हुन्थ्यो।
तर, पछिल्लो समय अधिकांश घरमा बिहान–बेलुका भात खाने बानी परेकाले चामलको उपभोग बढेको पाइन्छ। स्थानीय उत्पादनले जिल्लाको जम्मा २५ देखि ३० प्रतिशत चामलको माग मात्र धान्न सक्छ। बाँकी चामल आयात गर्नु पर्ने बाध्यता छ।
प्रतिक्रिया दिनुहोस !