गुल्मीको रेसुंगामा साउने मेला

गुल्मीको रेसुंगामा साउने मेला
सुन्नुहोस्

गुल्मी : गुल्मी जिल्लाको प्रसिद्ध धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थल रेसुंगामा साउने मेला सुरु भएको छ। साउने संक्रान्तिदेखि सुरु भएको साउने मेला एक महिनासम्म चल्ने गर्छ। 

मेला सुरु भएलगत्तै रेसुंगा क्षेत्रमा पुग्ने मन्दिरमा पूजा, आराधना र पोखरीमा स्नान गर्ने श्रद्धालुहरूको संख्या दैनिक बढ्दो छ। प्रत्येक वर्षजस्तै यस वर्ष पनि साउनको पहिलो दिनदेखि रेसुंगामा स्नान तथा दर्शन गर्न श्रद्धालुहरूको घुइँचो लाग्ने गरेको रेसुंगा संरक्षण समितिले जनाएको छ। 

अहिले रेसुंगा क्षेत्र भक्तजनका कारण चहलपहल छ। रेसुंगाको पवित्र पोखरीमा स्नान गरे सम्पूर्ण पाप नाश भई पुण्य लाभ हुने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासका कारण रेसुंगा साउन महिनाभर श्रद्धालुको भीडभाड नै लाग्ने गर्दछ। रेसुंगामा पुग्ने सडक कालोपत्रे भइसकेको र सदरमुकाम तम्घास बजारबाट सजिलै सवारी पुग्ने भएकाले मेलामा आउने श्रद्धालु र पर्यटकको संख्या बढ्दै गएको पाइन्छ। व्यवस्थापनको दृष्टिले अघिल्ला वर्षको तुलनामा मेलालाई थप व्यवस्थित बनाइएको होटल पौवा रेसुंगा शाखाका व्यवस्थापक प्रदीप घिमिरेले बताए।

रेसुंगाको ऐतिहासिक महत्वका कारण यहाँ पोखरीमा स्नान, मन्दिरमा पूजा, भजन–कीर्तन, नृत्य पूजाजस्ता धार्मिक गतिविधिहरू गरिन्छन्। साउन महिनाभर विशेष गरी एकादशीका दिन विशेष मेला लाग्ने गरेको रेसुंगा संरक्षण समितिका सह–सचिव यज्ञप्रसाद पन्थी शर्माले जानकारी दिए। उनले हरिबोधिनी एकादशीका अवसरमा भगवान् विष्णुको प्रतीक तुलसीको विवाह, विशेष पूजाआजा तथा स्नान–ध्यान गरिने परम्परा रही आएको उल्लेख गरे। यसरी व्रत बसेर पोखरीमा स्नान गरी पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ।

जिल्लाको रेसुंगा नगरपालिकाले रेसुंगा क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवर्धन गर्न ‘जाउँ हिंड रेसुंगा अभियान’ नै सञ्चालन गरेको छ। जसले यस क्षेत्रको प्रचारप्रसारसँगै पर्यटन प्रवर्धनमा उल्लेखनीय योगदान पुगेको छ। मेलालाई केन्द्रमा राखेर रेसुंगामा रहेका मन्दिरहरूको व्यवस्थापन गरिएको छ भने पोखरीलाई समेत आकर्षक बनाउन आवश्यक संरचनागत सुधार गरिएको छ। सहसचिव पन्थीका अनुसार पूजाआरधनाका लागि त्यहाँ पुग्ने २ सय भक्तजनका लागि निःशुल्क खाना र बस्नको व्यवस्था रेसुंगा संरक्षण समितिले गरेको छ। 

साथै यज्ञशालालगायत यस क्षेत्रमा पुग्ने अन्य श्रद्धालुलाई आवश्यकताअनुसार खानासहित आवासको व्यवस्था गरिने बताइएको छ। रेसुंगामा अहिले चण्डी पाठ, व्रत साङ्यता, ग्रह जाप, श्राद्ध पार्वण, तीर्थ, एकातिष्ट, गीता पाठ, हनुमान चालिसा, शनि मृत्युजन्य पाठलगायत पूजा हुँदै आएको पन्थीले जानकारी दिए। रेसुंगा प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र हो। यहाँको चिसो हावापानी, जैविक विविधता, घना वन, वनस्पति, जीवजन्तु तथा विविध जातका पक्षीहरूले पर्यटकलाई लोभ्याउने गर्छन्। 

रेसुंगाको भ्यु टावरबाट अन्नपूर्ण, धौलागिरि र माछापुच्छ्रे हिमशृंखलासहित तम्घास बजारको मनोरम दृश्य हेर्न सकिन्छ। धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संगमस्थल रेसुंगा क्षेत्र साउन महिनाभर श्रद्धालु र आन्तरिक पर्यटकले भरिने अपेक्षा गरिएको छ। रेसुंगामा पुगेर मन्दिरमा पूजा र पोखरीमा स्नान गरेपछि हालसम्म गरेका पाप पखालिन्छ भन्ने धार्मिक विश्वास छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.